काठमाडौं । मानसिकता र मान्यता आफ्नो देशमा भित्र्याउन भृकुटीको भूमिका निर्बाह गरेर देशमा सकारात्मक वातावरण सिर्जना गर्नु पर्नेहरु आँफै टाउको लुकाएर उल्टो दिग्भ्रम सिर्जना गर्छन् भने धनी देशको पैसा त भित्रिएला नै, तर न त यस्ले ‘बिदेशमा त पैसाको बोटै हुन्छ’ भन्ने जस्तो सोचाइंले ग्रस्तहरुको आशे बानीलाई सुधारेर आफ्नै हैरानी कमी गर्न सकिन्छ न त देश बिकासको लागि आवश्यक पर्ने एउटा नयाँ संस्कारको विकास गर्न नै ।

रामकुमार श्रेष्ठ * रास्ट्रपति ओबामा क्रिसमसमा बालबालिकालाई खेलौना बाँड्न आँफै २ बोरा खेलौना बोकेर जाँदै रास्ट्रपति ओबामा क्रिसमसमा बालबालिकालाई खेलौना बाँड्न आँफै २ बोरा खेलौना बोकेर जाँदै मेलबर्नको एउटा ठूलो निर्माण कम्पनीको कार्यालयमा अफिस समयपछि सफा गर्ने काम जिम्मा पाएको ब्यक्ति एकदिन अफिस समयपश्चात पनि निर्देशक कोठैमा भएको थाहा पाएर ढोका ढकढक्याएर अनुमति लिएर पस्छ । कोठामा पस्ने बित्तिकै निर्देशकको बोली उस्को कानमा पर्छ, “आज मैले ठूलो गल्ती गरेकोमा क्षमा गर मित्र” । उक्त दिन निर्देशकको टेबल वरिपरि भुइंमा च्यातिएका थुप्रै कागज छरपस्ट भएकोले उनको भनाइ त्यसप्रति नै लक्षित हो भन्ने बुझ्नमा उसलाई कठीन भएन । स्वास्थ्य क्षेत्रमा काम गर्ने बिभिन्न संस्थाहरुमा बिभिन्न स्तरका स्वास्थ्यकर्मीहरु पठाउने अस्ट्रेलियाकै ठूलोमा गनिने एजेन्सीको मेलबर्न शाखामा काम गर्ने दुई युनिटका प्रमुख थिए क्यारी र त्यही संस्थाबाट प्रदान गरिने तालिममा कहिलेकांही तालिम दिने काममा पनि शरिक हुने गर्थे ।

त्यो एजेन्सीमा कामको सिलसिलामा आउनेहरुको लागि नि:शुल्क रुपमा खाना उपलब्ध गराउने राम्रो क्याफे पनि थियो । क्यारी कहिलेकांही सो क्याफेमा पनि काम गर्थे र आफ्ना बिद्यार्थी र कर्मचारीहरुले खाइसकेको प्लेटहरु उठाउन पनि ब्यस्त देखिन्थे । रास्ट्रपति ओबामाकी छोरी साशा ओबामा रेस्टुरेण्टमा काम गर्दै मेलबर्नको एउटा ठूलो नर्सिङ होममा काम पाएको केही दिनमा आफ्नो यूनिट मैनेजरले सामान राखिएको ट्रली ठेल्दै गरेको देखेर अबिकसित देशबाट आएका एकजना नयाँ कर्मचारी सघाउन जाँदा यूनिट मैनेजरले आफूलाई कुनै समस्या नभएकोले आफ्नै काम जारी राख्न भने । केही समयपछि उसले अर्को कुनामा नर्सिङ होमका मैनेजरले एउटा बिरामीलाई खानेकुरा ख्वाइरहेको देखे । हामी जे जस्तो संस्कार र मानसिकताग्रस्त समाजमा छौं यस्का आधारमा माथिका वास्तबिकताहरुलाई विश्वास गर्न र स्वीकार्न हम्मे हम्मे पर्छ जबकि विकसित देशमा बस्नेका लागि यी कुनै अस्वाभाबिक र अनौठा कुरा भने होइनन । यसको अर्थ के होइन भने बिकसित देशका सबै कुरा राम्रा छन र अबिकसित देशका नराम्रा । अबिकसित देशबाट पनि बिकसित देशले सिक्नु पर्ने कुराहरु धेरै छन । कामप्रतिको हाम्रो दृष्टिकोण सामाजिक बिषमता कायम गर्न र विकास कार्य अगाडि बढाउन बाधकको रुपमा देखा परेकोले विकसित देशमा पाइने यस किसिमको मान्यता भित्र्याउन सकिएको खण्डमा यसले विकास कार्यमा सकारात्मक भूमिका निर्बाह गर्ने कुरामा सन्देह छैन, तर समाज र देश परिवर्तनको लागि महत्वपूर्ण भएका कारण यस्ता कुराहरुको विकसित देशमा रहनेहरुले इमान्दारितापूर्बक वकालत गर्नु पर्छ भने विकसित देश गएर फर्कनेहरुले बिना श्रोत करोडपति र अरबपति बनेर दासप्रथाको प्रतिनिधि बनेर त्यसैलाई निरन्तरता दिने किसिमले विकसित देश विकसित हुने एउटा महत्वपूर्ण सूत्रको बदख्वाइ गर्ने नाममा आँफैले आफ्नै बदख्वाइ गर्नु हुँदैन । यी दुबै पक्षले यस्लाई आफ्नो देशमा भित्र्याउन भृकुटीको भूमिका निर्बाह गर्न सके देशलाई अगाडि बढाउन सहायकसिद्ध हुने कुरामा सन्देह छैन ।

क्रोयसियाकी रास्ट्रपति कोलिण्डा आफ्नै घरमा रंग लगाउँदै म पहिलो पटक अस्ट्रेलिया भएको समय करीब सोर्ह वर्ष अघि भिक्टोरिया सरकारले स्वास्थ्य क्षेत्रसंग सम्बद्ध अस्पताल, नर्सिङ होमहरुमा सरसफाइको गुणस्तर हुन पर्ने जत्तिको गुणस्तरको नभएको कारण त्यसमा सुधार ल्याउने नीति ल्याउँदै थियो र त्यसको लागि ठूलो रकम खर्च गर्ने तयारी गर्दै थियो । यो नीति ल्याउनुको पछाडिको दर्शन थियो, ‘Spending some more thousands of dollars in a particular hospitals and health care facilities they will be able to save millions of dollars, as efficiency of infection control will be increased.’ यस किसिमको देशमा नागरिकको स्वास्थ्यमा पर्ने प्रतिकूल असरका कारण सिर्जित परिणामले गर्दा एकातिर सरकारमाथिको आर्थिक दायित्व थपिने र अर्कोतिर यस परिस्थितिका कारण देशभित्रै भएको मानव शक्तिको सदुपयोग गर्न नसकी आवश्यक मानव शक्ति बाहिरी देशबाट ल्याउन पर्ने अवस्थामा सिर्जना हुन सक्ने भएकोले नागरिकको स्वास्थ्यमा सरकार त्यसरी संबेदनशील हुनु स्वाभाबिकै हो । यिनै बिषयबस्तुहरुलाई आधार बनाएर कामका सम्बन्धमा बिल्कुलै फरक र बिपरित मानसिकता र संस्कारयुक्त देशमा आउने नबागन्तुकहरुलाई बिगतका एकादेशका ठूलो ठूलो कुरा गरेर समय फाल्नुको अलावा बर्तमानको वास्तबिक धरातलमा रहेर शुरुमा जे जस्तो हुन्छ काम गर्दै बिस्तारै तालिमहरु लिएर प्रगति गर्न अभिप्रेरित गर्न त्यस बेला अंग्रेजीमा लेखेर साथीहरु बीच सर्कुलेट गरिएको ‘BE PROUD OF BEING A CLEANER’ आलेखलाई यो एघार वर्षको बीचमा देखिएका थप दृस्टान्तहरुलाई समेत समाबेश गरी केही परिमार्जन गरेर लेख्नु अझै सान्दर्भिक देखिने महसूस गरी सो प्रयास गर्दै छु यो आलेख मार्फत ।

माथिका दृस्टान्तहरुबाट के स्पष्ट देखिन्छ भने विकसित देशमा साना र ठूला बीच पनि मानवीय व्यवहार हुन्छ र ठूलाले सानालाई त्यत्ति सजिलै हेप्ने भन्ने कुरा हुँदैन । शिक्षकले बिद्यार्थीलाई र अभिभाबकले आफ्ना बच्चाहरुलाई समेत गाली गर्न नमिल्ने देशमा काम गर्ने जिम्मेवारी पाएको एउटा परिपक्क मानिसलाई अर्को मानिसले अमानवीय व्यबहार गर्ने कसरी ? यस दृस्टिकोणबाट पूंजीवादी भनिने देशहरुमा गरीब देशका गरीब जनताको विश्वाश प्राप्त गर्न कतिपय समाजवादी सिद्धान्तको आदर्श छाट्ने कम्युनिष्टहरुमा भन्दा बढी व्यवहारिक रुपमा समाजवादी छनक देखिन्छ । करीब पन्ध्र बर्ष अघि अस्ट्रेलियाबाट नेपाल फर्किएको समयमा अमेरिकाबाट नेपाल केही समयको लागि आउनु भएकी एकजना बरिष्ठ अभिनेतृसंग लिइएको अन्तरवार्ता टिभिबाट प्रसारण भैरहेको थियो ।

त्यसमा पत्रकार नेपालमा त्यस्तो बरिष्ठ कलाकार भएको मानिस त्यहाँ सामान्य काम गर्न किन गएको, के काम गर्दै, त्यसले सन्तुष्टी दिन सके नसकेको भित्रै घुमिरहेका थिए भने अभिनेतृ त्यहाँको संस्कार, मान्छेहरुको मानसिकताको कारण कामको प्रकृतिको प्रश्नले कुनै महत्व नराख्ने कुरामा जोड दिंदै थिइन । एउटा पक्ष बुझाउन खोज्दै थियो, अर्को पक्ष बुझ्न सकिरहेको थिएन वा बुझी बुझी बुझ पचाएर अफ्टेरोमा पार्न किन, केका लागि जस्ता प्रश्नकै वरिपरि रिंगिरहेको थियो । जब म इन्जिनियरिङ्ग कोर्स पुरा गरेर नेपाल फर्कें त घरका सबै किसिमका काम गर्नुमा मलाई कुनै हीनताबोध हुँदैनथ्यो, तर मानिसहरु काम गरिरहेको बेलामा आइपुग्दा प्रश्न तेर्साइहाल्थे, “के हो इन्जिनियर सा’ब, एउटा काम गर्ने मान्छे नराखेर…” उनीहरु ठान्थे कि म कन्जुस्याइं गरिराखेको छु । तर काम गर्ने मान्छे हुँदा समेत यस किसिमका काम गर्ने कामलाई पूर्ण रुपले तिलाञ्जली दिने काम भएन मबाट । आफ्नै डिन र रेक्टरलाई भेट्दा देवता नै भेटेको जस्तो महसूस गर्नु पर्ने देशबाट गएर डिन रेक्टरहरु समेत आँफै कोठा कोठामा आएर सूचना सुनाउँदै हिंड्ने र आफ्नो चिया आँफै बनाएर खाने संस्कारलाई समेत बुझ्नेको लागि यो कुनै ठूलो कुरो थिएन । गोङबूको महादेबटारमा स्थानीय तबरबाटै मोटरबाटो ल्याउन खट्नेहरुका लागि पहिला त सबैबाट पैसा उठाउनु नै चुनौति थियो भने उठेको पैसाबाट धेरैभन्दा धेरै काम गर्नु पर्ने चुनौति आफ्नै ठाउँमा थियो । त्यसैले ट्रकहरुले माटो ल्याएर छाडेर गएपछि अर्को ट्रिप ल्याउनु अघि ठूला ठूला माटोका डल्लाहरु बाटोबाट नपन्छइदिने हो भने ट्रकले माटो उतै उतै छाढिदिंदा माटो ओसार्नु पर्ने खर्च बढने भएकोले बाटोमा भएका त्यस्ता डल्लाहरु बाटोबाट हटाउँथे । यसो गर्दा मान्छेहरुले घर घरबाट हेर्ने गरेको संझना ताजै छ ।

अविकसित देशका मानिसमा तुलनात्मक रुपमा बढी अधिकारयुक्त जिम्मेवारी प्राप्त गर्न जे पनि गर्ने तर जिम्मेवारी पुरा गर्नतिर चासो नदिने प्रवृति पाईन्छ भने विकसित देशमा राजनीतिमा बाहेक सामान्यतया जिम्मेवारी लिएपछि पुरा पनि गर्नु पर्ने भएकोले सकभर बढी अधिकार लिएर जिम्मेवारी बढाउन चाहँदैनन । किनकि जिम्मेवारी लिएपछि कर्तब्य पुरा गर्नु पर्छ भन्ने कुरामा उनीहरु संबेदनशील छन । माइ संसारमा करीब एघार बर्ष पहिला प्रकाशित मेरो एउटा आलेखमा एउटा कमेण्ट यस्तो थियो, “यस्तो देशभक्तिको कुरा गर्ने मानिस विदेशमा भाँडा माझ्न किन गएको नि ?” प्रश्नकर्ताको जबाफमा लेखेको थिएँ, “पहिलो कुरो त विदेशमा कामप्रतिको दृष्‍टिकोण नै हाम्रोभन्दा बिल्कुलै फरक छ । दोश्रो कुरो, बिदेशमा जाने सबै नेपाली भाँडै माझ्छन भन्ने मान्यता पनि गलत हो । धेरै मर्यादित पदमा काम गर्ने नेपालीहरु पनि थुप्रै छन । मेरो हकमा भन्नु पर्दा म र मेरी श्रीमतीले नेपालमा चार वर्ष अघि नै मासिक झन्डै दुई लाख कमाउन समस्या नहुने वातावरण भएर पनि विशेष परिस्थितिका कारण विदेश आएका हौं । यहाँ वेलायतमा म स्ट्रक्चरल इन्जिनियरको रुपमा काम गरिराखेको छु भने अस्ट्रेलियामा बरिष्ठ इन्जिनियरको काम पाइसकेको छु ।“ भृकुटी बन्नु पर्नेहरुले नै टाउको लुकाएपछि यसरी के स्पष्ट हुन्छ भने विकसित देशमा कामको प्रकृतिलाई भन्दा काम गरिनुलाई बढी महत्व दिने गरिन्छ र कुनै पनि कामलाई राम्रो र नराम्रो भन्ने मानसिकताबाट एक किसिमले मुक्त जस्तै देखिन्छन ।

पुरुषले महिलालाई, ठूला पदकाले साना पदकालाई, त्यही देशकाले अन्य देशकालाई सिद्धान्तत: भेदभाव र थिचोमिचो गर्न पाउँदैनन । त्यसैले जतिसुकै ठूलो पद ओगटेको भनिनेहरुले पनि आफ्नो परिवारका कुनै पनि सदस्यले सरसफाइ गर्ने काम गरेको होस अथवा होटलमा भाँडा माझ्ने – जे काम गरेको हो सो बिना हिचकिचावट भन्ने गर्छन् । र अर्को महत्वपूर्ण कुरा भनेको यस्तो देशमा सामान्य काम गर्नेको पनि गाडी, टिभी, कम्प्युटर, फ्रिज, घर भन्ने कुरा क्षमतानुसारको स्तरको भै नै हाल्छ । तर गरीब देशबाट जाने कतिपयले आफूलाई त्यहाँको अनुरुप परिवर्तन नगरेर आफ्नै देशको मानसिकतानुरुप आफूलाई प्रस्तुत गरिराखेका हुन्छन र आफूले आफैलाई ठूलो देखाउन खोज्दा अरुले नकारात्मक रुपमा बुझेको पत्तै पाउँदैनन । आफ्नो देशमा प्रसस्त काम गर्नेहरु राखेर बसेको भन्दै बसेको देशलाई गाली गर्ने तर सो देश छाड्न पनि नचाहनेहरुबाट आजित भएर कहिलेकांही त्यस्ताहरुलाई ‘यहाँ किन बसेको तर ?’ भनेर सोधिदिंदा रगतको प्रबाह अनुहारमा राम्रै देख्न सकिन्छ । कोही भने आफू बसिरहेको देशमा बस्नको लागि संभब भए जत्तिका सबै उपाय अपनाउँदा अपनाउँदै पनि बस्न मिल्ने नमिल्ने यकीन नभएकोले बस्न मन नलागेको बताउँछन र बस्न मिल्ने भएपछि अरुले पत्याउने नपत्याउने केही सोंच्दै नसोची कुरा फेर्नेहरु पनि पाईन्छन । यसरी आफ्नै देशको संस्कार र मानसिकताको जन्जालबाट उन्मुक्ति पाउन नसकेर आफूले आँफैलाई अनावश्यक किसिमले नसुहाउने किसिमले देखाउन खोजेको हैसियतका कारण धेरैलाई हसाउने काम गरिराखेका हुन्छन केहीले । वेलायतमा हुँदा एक जनासंग फोनमा कुरा भए अनुरुप सानो काम दिएको थिएँ एकजना नेपालीलाई । काम के भयो भन्ने बुझ्नको लागि भोलिपल्ट उसको मोबाइलमा फोन गर्दा अर्कोले उठाएर ऊ अर्को फोनमा ब्यस्त भएको जानकारी दियो । केही घण्टापछि अर्कोले फोन गरेर मैले चाहेको कुराबारे जानकारी लिन फोन गरेको र चिट लेखेर जानकारीको लागि लेखेर उस्को टेबलमा रखिदिने जानकारी दियो । आफूले आँफैलाई हैसियतभन्दा धेरै ठूलो देखाउन गरेको नाटक देखेर मनमनै हाँसे र सोही काम धेरै नेपालीले चिन्ने एकजना दाजुलाई दिएँ, जुन काम भोलिपल्टै तमाम भएर आयो । विकसित देशमा मानिसहरु काममा खुब खटेका हुन्छन बिदामा घुम्न जानको लागि पैसा जम्मा गर्न । त्यसैले बेला बेलामा नेपालीहरु बीच कुरा हुने गर्छ, “नेपालका नेताहरु र भ्रस्टाचारीहरुलाई बिदेशमा छ महिना जति ल्याएर काममा जोताएर पेटको बोसो घटाएर पठाउन पाए बल्ल देशमा केही हुन्थ्यो कि ?” अबिकसित देशका मानिसमा पाइने यस किसिमको मानसिकता पनि नै अबिकसित देशको राजनीति प्रदूषित र बिकृत हुनुमा धेरै हदसम्म जिम्मेवार भएको देखिन्छ । बिदेशमा केही सामय मन्त्री प्रधानमन्त्री भएपछी अन्य सामान्य पेशामा समय बिताउने प्रचलन छ, तर हामीकहाँ मन्त्री प्रधानमन्त्री भएपछी आजिवन त्यही रबाफमा २–४ जना अगाडि पछाडि लगाएर हिंड्ने र केही कामै गर्न नहुने भन्ने मानसिकताले ग्रस्त छ । यो मानसिकताका कारण कुर्सी नपाउने बित्तिक्कै कुर्सीमा बस्नेको खोइरो खन्ने र कुर्सीबाट तानेर आफू त्यहाँ जाने तिकडम मात्रै गर्ने भएकोले यस्ले देशलाई समस्याको भुमरीमा मात्रै जकड्याइराख्नेभन्दा बढी केही गर्न नसक्ने प्रमाणित गरिसकेको छ । डा बाबुरामन भट्टराई प्रधानमन्त्री भएर पनि पढाउन जान सक्छन, डा उपेन्द्र देवकोटा मन्त्री भएर पनि डाक्टरी पेशामा फर्कन सक्छन, सुवास नेम्बाङ सभामुख भएर पनि कालो कोट लगाउन सक्छन भने अन्य नेताहरु पनि १–२ पटक मन्त्री अथवा प्रधानमन्त्री भएपछी अन्य केही पेशामा फर्कने संस्कारको बिकास गरिनुपर्छ देशलाई अगाडि बढाउन । नायिका बिनिता बराल अहिले सिनेकर्मीभन्दा बढि अर्गानिक किसानका रुपमा बढि चर्चामा छिन् । काठमाडौको टोखामा १० रोपनी जग्गा भाडामा लिएर प्राङ्गारिक खेती सञ्चालन गरिरहेकी छिन् । यस्को लागि बिदेशमा जस्तै हरेक कामलाई आदर गरिने संस्कार र मानसिकताको आवश्यकता पर्छ । गरीब देशबाट धनी देशमा आएर सिकेको र बुझेको धनी देशको कामप्रतिको यो संस्कार, यो मानसिकता र यो मान्यता आफ्नो देशमा भित्र्याउन भृकुटीको भूमिका निर्बाह गरेर देशमा सकारात्मक वातावरण सिर्जना गर्नु पर्नेहरु आँफै टाउको यसरी लुकाएर उल्टो दिग्भ्रम सिर्जना गर्छन् भने धनी देशको पैसा त भित्रिएला नै, तर न त यस्ले ‘बिदेशमा त पैसाको बोटै हुन्छ’ भन्ने जस्तो सोचाइंले ग्रस्तहरुको आशे बानीलाई सुधारेर आफ्नै हैरानी कमी गर्न सकिन्छ न त देश बिकासको लागि आवश्यक पर्ने एउटा नयाँ संस्कारको विकास गर्न नै । लेखक लुम्बिनी-विकसित देशबाट सिक्नै पर्ने केही कुराहरु विस्व अभियानका विस्व संयोजक हुन ।