सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र कार्यविभाजनको बिषयमा विवाद बढेको छ । नेताहरुको कार्यविभाजन टुंगो लगाउन हिजो बसेको पार्टी सचिवालयको बैठकमा कुनै सहमति हुन सकेन । बिदाको दिन पारेर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कार्यविभाजनको भागवण्डा नमिल्दा बैठक निष्कर्षबिहीन भएको हो ।

बैठकमा प्रधानमन्त्री समेत रहनुभएका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू निकटस्थलाई दोहोरो जिम्मेवारी दिन लागेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाउनुभएको बुझिएको छ ।। बैठकका एक सहभागीका अनुसार नेपालले सरकारमा रहेकालाई पार्टीको महत्वपूर्ण जिम्मेवारी दिन नहुने प्रस्ताव राख्नुभएको थियो तर, अध्यक्ष ओली त्यसमा असहमत रहेको बताईएको छ ।

दोहोरो जिम्मेवारीबारे अर्का अध्यक्ष प्रचण्डले भने बैठकमा मौनता साँधेको नेकपा स्रोतले जनाएको छ । ओलीले गृहमन्त्री समेत रहनुभएका सचिवालय सदस्य रामबहादुर थापा बादललाई पार्टीको महत्वपूर्ण जिम्मेवारी दिन चाहेको चर्चा चल्दै आएको छ । यसलाई नेकपाभित्र बन्न लागेको नयाँ आन्तरिक गठबन्धनका रुपमा हेरिएको छ ।

कार्यत्रिभाजनलाई लिएर नेकपाभित्र विवाद हुनु केही नेताहरुको सम्भावित गुट परिवर्तन पनि हो । पछिल्लो समय कुनै पक्षमा नदेखिएका बादल ओलीसँग नजिकिनुभएको छ । प्रचण्डले आफूनिकटलाई तान्न थालेपछि ओलीले बादललाई नजिक ल्याउनुभएको हो । पार्टीका प्रभावशाली नेता वामदेव गौतम पार्टीको महत्वपूर्ण विभागको आकांक्षी रहँदै आउनुभएको छ । उहाँले संगठन विभागको दाबी गर्नुभएको बुझिएको छ । गौतम पछिल्लो समय ओलीसँग असन्तुष्ट हुनुहुन्छ ।