जिबन राज देवकोटा / काठमाडौं  – २०७२ साल बैशाख १२ को विनाशकारी भूकम्प र भोटेकोसीको बाढीलाई कहिल्यै पनि भुल्न सक्दैनन् तातोपानीबासी । बेला बेलामा उनिहरु यही त्रासका कारण झस्किरहन्छन् । भूकम्प र बाढीका कारण सर्वस्व गुमाएका उनिहरुलाई तातोपानी र खासाको सम्बन्ध टुट्नु पनि अर्को पिडाको विषय बन्यो । प्राकृतिक विपत्तिबाट फाटेको मन लिएर जीवन रक्षाका लागि धेरैले आफ्नो थातथलो छाडेर सहर पसे । सहर बस्दा पनि उनिहरु आफ्नै थातथलो सम्झिरहे । तर सबै संरचना ध्वस्त बनाएपछि उनिहरु राज्यको साथ खोजिरहेका थिए । राज्यसँग उनिहरुको एउटै माग तातोपानी नाका संचालन गर्नुपर्ने थियो ।


४ बर्षसम्म टुटेको सम्बन्ध जोडिनेमा तातोपानीबासीमा शंका थियो । तर ढिलै भएपनि पुनः नाका संचालनमा आएको छ । भूकम्पमा आफन्त गुमाएको पिडा, टुटेको सम्बन्ध र खण्डहरमा परिणत भई सहर पसेकाहरु नाका संचालनमा आएपछि गाउँ फर्क अभियानमा जुटेका छन् ।

मुहारमा थोरै मुस्कान
सिन्धुपाल्चोकको तातोपानी नाकामा बस्दै आएकी उषा थापाको अनुहारमा थोरै मुस्कान देखिन थालेको छ । भुकम्प र भोटेकोसीमा आएको बाढीलाई पनि जितेर बसेकी उनि बन्द तातोपानी नाका खुलेकोप्रति निकै खुसी छिन् । विगतमा जस्तै तातोपानी नाकामा रोजगारी पाउने र जिविकोपार्जनमा सघाउ पुग्नेमा उषा विश्वस्त छिन् । लामो समयसम्म सुनसान बनेको तातोपानी नाका खुल्ने आशमा बसेका स्थानीयबासीमा पनि उषाको जस्तै खुुसी भित्रिएको छ । भूकम्पपछि बन्द तातोपानी नाका ४९ महिनापछि पुनः सञ्चालनमा आउँदा थातथलो कुरेर बसेकाहरु पुनः व्यापार गर्न पाउनेमा आशावादी छन् । र उनिहरु सरकारलाई सडक पूर्बाधार र स्वतन्त्र रुपमा व्यापार व्यवसाय गर्न पाउनुपर्नेमा जोड दिन्छन् ।

गाउँ फर्किएर भत्किएका संरचनाको टालटुल
भूकम्पको त्रास र तातोपानी नाका बन्द भएका कारण दैनिकी चलाउन मुश्किल भएपछि थातथलो छोडेकाहरु पनि बिस्तारै गाउँ फर्क अभियानमा छन् । बिहिबार नाका संचालनमा आएपछि काठमाडौं लगायतका सहर पसेकाहरु पुनः गाउँ फर्किएर भत्किएका संरचनाको टालटुलमा जुटेका छन् । भूकम्पले क्षतविक्षत अवस्थामा पु¥याएको संरचना उठाउन स्थानीयलाई असजिलो भएपनि उनिहरु त्यसमा सन्तुष्ट छन् । घरभित्रै पसेका ठूला ठूला ढुंगा पन्छाउनेदेखि नयाँ संरचना तयार पार्ने कामको थालनी पनि भएको छ ।

सुनसान तातोपानी बजार बिस्तारै चहलपहल बन्दै
भूकम्पले साविकको तातोपानी र फुल्पिङकट्टी गाविसमा मात्रै ६४ जनाको ज्यान लियो । यति मात्रै होइन्, कोदारी राजमार्गको बाह्रविसे–लिपिङ खण्ड क्षत–विक्षत बनाइदियो । उता, तातोपानी बजारका बस्ती खण्डहरमा परिणत भयो । सवारी साधन सडकमै पुरिए । भूकम्पपछि बस्नै नसक्ने भएपछि स्थानीयले थातथलो छोडेका थिए । जसका कारण तातोपानी बजार मात्रै होइन आसपासका गाउँहरु पनि सुनसान बनेका थिए । भूकम्प र भोटेकोसीको बाढीलाई जितेर बसेकाहरु पनि सुनसान बजारका कारण डर मान्दै बसेको स्थानीय उषा थापाको भनाई छ । ‘अहिले नाका खुलेसँगै सहर पसेकाहरु पनि गाउँ आउन थालेपछि रमाइलो भइरहेको छ ।’ उनि भन्छिन्, ‘तातोपानी बजार खुल्न थालेका छन् । अब पूरानै शैलीमा फर्कने आशमा छौं ।’

वार्षिक २० अर्बको आयात हुने नाका
४ बर्ष अघिको तथ्यांकलाई हेर्दा तातोपानी भन्सार नाकाबाट बार्षिक रुपमा २० अर्ब बराबरका मालवस्तु आयात भएको थियो । यसबाट राज्यले ठूलो मात्रामा राजस्व संकलन समेत गर्दथ्यो । तर भूकम्पका कारण ४ बर्षसम्म राज्यको राजस्व गुम्यो भने अर्कोतिर स्थानीयको उठिबास नै लाग्यो । वार्षिक २० अर्बको आयात र ३ अर्ब बढीको निर्यात हुँदा स्थानीयको रोजीरोटी राम्रैसँग चलेपनि पछिल्ला ४ बर्षयता यस क्षेत्रका बासिन्दाले निकै सास्ती खेप्नुपरेको थियो । ४ बर्षसम्म खण्डहर बनेको तातोपानी र लिपिङ बजारमा नाका संचालनसँगै चहल–पहल बढ्न थालेको छ । अब उनिहरुमा आशामात्रै जगाएको छैन्, नाका संचालन, सुविधासम्पन्न सुख्खा बन्दरगाहको निर्माण, सडक पूर्बाधारको निर्माण र नेपाल चीन सिमानामा निर्माण भएको पुलका कारण स्थानीयबासीमा खुसीयाली भित्रिएको छ ।