यही जेठ २५ गते ठमेल पर्यटन विकास परिषद्को साधारणसभाका हुने भएको छ। ठमेल क्षेत्रको पर्यटन विकासका लागि पर्यटन व्यवसायी प्रकाशनरसिंह राणालाई अगाडि सारिएको छ ।

ठमेल क्षेत्रको पर्यटन विकासमा पाको, परिपक्व र मिहनेती पर्यटन व्यवसायीका रुपमा परिचित राणालाई आसन्न परिषद्को नेतृत्व दिँदा उपयुक्त हुने भएपछि उनलाई अघि सारिएको युवा व्यवसायी वकील बमले जानकारी दिए ।

ठमेल क्षेत्रका पर्यटन व्यवसायी तथा घरधनीबीच सौहार्द सम्बन्ध, ठमेलको विकासमा सहकार्य, सरसफाई, फोहर व्यवस्थापन, ढल सुधार, आकर्षक तथा कलात्मक होर्डिङबोर्ड, झाङ्गीएका तारजाली व्यवस्थापन र फुटपाथहरुलाई व्यवस्थित बनाउने योजना रहेको अध्यक्षका प्रत्यासी राणाको प्रतिवद्धता छ ।

त्यस्तै, पर्यटकीय नगरी ठमेललाई समेट्ने काठमाडौं महानगरपालिकाको वडा नम्वर–२६, वडा नम्वर–१६ लगायत स्थानीय जनप्रतिनिधिहरुको सुझाव सल्लाह, सहयोगमा सडक, सरसफाई, ढल निकास, सडक विजुली, सिसि क्यामेरा जडानका कामहरु तिब्र पारिने जानकारी राणाले दिएका छन् । काठमाडौँ महानगरका वडा नम्बर १६, १७ र २६ का जनप्रतिनिधिहरुको समेत राणालाई समर्थन छ ।

शान्तिसुरक्षाको दृष्टिकोणले अति सम्वेदनशील ठमेलको सुरक्षाका लागि महानगरीय प्रहरी वृत्त दरवारमार्ग र सोह्रखुट्टे वृत्तसँग समन्वय र सहकार्य गरी चोरी डकैति, पकेटमारी, लागूऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन लगायत विभिन्न समस्या समाधान आफ्नो पहल रहने भोलमा राणाले बताए ।

पर्यटन व्यवसायी राणाले परिषद्का करिब आठसय सदस्यहरुले उठाउँदै आएका जल्दाबल्दा समस्या तथा वर्तमान परिषद्को कार्यसमितिले विगतदेखि अगाडि बढाउँदै आएको पर्यटन व्यवसायको श्रीबृद्धिका लागि विकास र्निाणका योजनालाई निरन्तरत दिने र शान्ति सुरक्षालाई थप सशक्तरुपमा अगाडि बढाउदै लैजाने पनि बताए ।

राणालाई सर्वसहमतिकै आधारमा परिषद्को अध्यक्ष चयन गरिने र यदि त्यसो नभएमा बुहुमतीय प्रक्रियाबाट भएपनि अध्यक्ष बनाउने युवा व्यसायी बमले बताए ।

राणा अहिलेको कार्यक्रसमितिमा वरिष्ठ उपाध्यक्ष छन् । उनलाई ठमेल क्षेत्रका आम सर्वसाधरण, व्यवसायी लगायत सबैले रुचाएको बताइएको छ ।