बिश्व चर्चित फुटबलर नेइमारमाथि यौन हिंसाको आरोप लागेको छ । ब्राजिलका फुटबल स्टार नेइमारविरुद्ध ब्राजिलको साओ पाओलोमा एक महिलाले आफूमाथि यौन हिंसा गरेको आरोप दर्ता गरेकी हुन् । ती महिलाले पेरिसको एक होटलमा आफूमाथि नेइमारले यौन हिंसा गरेको आरोप लगाएकी छन् ।
ती महिलाले प्रहरीमा दिएका उजुरीका आधारमा आफूले नेइमारलाई इन्स्टाग्राम मार्फत चिनेको उल्लेख गरिएको छ ।

नेइमारकै आग्रहमा पेरिसमा आफूहरुको भेट भएको ती महिलाले उल्लेख गरेकी छन् । महिलाको नाम खुलाइएको छैन । ब्राजिलकी ती महिलालाई नेइमारले नै फ्रान्सका लागि विमान टिकटको व्यवस्था गरेका थिए र उनका लागि होटल साफिटेल पेरिसमा कोठा बुक गरिदिएको थिए ।

घटना गएको यहि मे १५ को रहेको उल्लेख गरिएको छ । नेइमार होटल आइपुग्दा रक्सीले मातेको अवस्था रहेको ती महिलाले आरोप लगाएकी छन् । केही गफगाफ र असहज वातावरणपछि नेइमार आक्रोशित बनेको र आफ्नो इच्छा विपरित यौन सम्बन्ध कायम गरेको ती महिलाले आरोप लगाएकी छन् । ती महिला दुई दिनपछि ब्राजिल फर्किएकी थिइन् ।

उता नेइमारका पिता नेइमार डोस सान्तोसले भने सम्पूर्ण घटना आफ्नो पुत्रलाई ‘ट्रयाप’ मा पर्नेका लागि रचिएको स्पष्ट रहेको उल्लेख गरेका छन् । ती युवतीसँग नेइमारको ह्वाट्सएपमा भएको कुराकानी सार्वजनिक गर्न पर्ने भए पनि आफूहरु तयार रहेको उनले उल्लेख गरेका छन् ।