सरकार बन्नु भन्दा पहिले अहिलेका प्रधानमन्त्री केपि ओलि हावाबाट बिजुली निकाल्ने बारम्बार भनिरहन्थे तर मकवानपुरमा हावाबाट बिजुली निस्किन बन्द भएको छ ।सात महिनादेखि बिग्रिएको उपकरण मर्मत नहुँदा हावा र सौर्य ऊर्जाबाट बिजुली निस्किन बन्द भएको हो ।

विद्युत निकालिएको दुई वर्षपछि उपकरण बिग्रिँदा त्यहाँका जनता अहिले अध्याँरोमा बस्न बाध्य भएका छन् ।

बिग्रिएको उपकरण मर्मतमा वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रले चासो नदिँदा यो परियोजनाबाट बिद्युत उत्पादन हुन नसकेको हो ।

वायु तथा सौर्य उर्जाबाट भोर्लेनीमा १ सय ३३ घरपरिवारले बिजुली प्रयोग गर्दै आएका थिए । बैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र, तत्कालीन जिल्ला विकास समिति मकवानपुर र फापरवारी गा.वि.स.को सहयोगमा १ करोड १९ लाख रुपैयाँको लागतमा हावाबाट १० किलोवाट र सौर्य उर्जाबाट १५ किलोवाट बिजुली उत्पादन हुँदैं आएको थियो । विद्युत स्टोर गर्ने ब्याट्रीमा समस्या देखिएपछि भोर्लेनिका बासिन्दा अहिले अध्याँरोमै बस्न बाध्य भएका छन् ।

बैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रलाई बारम्बार सुझाव दिई रहँदा पनि उहाँहरु आउनु भएन, रेखदेख पनि नगर्नुभएपछि उपकरण जाम भएर बिग्रिएर बत्ति बाल्न नपाएको स्थानिय बलबहादुर घलान बताउनुहुन्छ ।

बेगसँग हावा बहने र पारीलो घाम लाग्ने, नदी किनार छेउका गाउँबस्तीमा हावा र सौर्य उर्जाबाट बिजुली बाल्न सकिने भन्दै निर्माण गरिएको परियोजना सात महिनादेखि बन्द छ । वायु तथा सौर्य उर्जा उपभोक्ता समितिले बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रलाई उपकरण मर्मतका लागि गुहारेको छ ।