पुरुषमात्रै भएको मञ्च इन्कार गर्ने अभियान सुरु भएको छ । महिला अधिकारकर्मी, राजनीतिज्ञ, मानवअधिकारकर्मी, सामाजिक अभियन्ता लगायतका व्यक्तिहरुको उपस्थितीमा पुरुषमात्रै भएको मञ्च इन्कार गर्ने अभियान सुरु गरिएको हो ।

सीड कमिटीका उपाध्यक्ष बन्दना राणा मुख्य अभियन्ता रहेको अभियानको सुरुआत उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले गरेका थिए । पोखरेलले अभियानपत्रमा हस्ताक्षर गर्दै ‘पुरुषमात्र हुने मञ्च इन्कार गरौं’ अभियानको सुरुआत गरेका हुन् ।

अभियानको उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले कागजमा मात्रै नभइ मनदेखि अभियानको सुरुआत गरेको बताए ।

उनले संविधानले नै महिलालाई पुरुष सरह सबै ठाउँमा सहभागिता हुने हक दिएको उल्लेख गर्दै हरेक मञ्चमा महिलाको सहभागिता आवश्यक रहेको पनि बताएका थिए ।

कार्यक्रमको उद्घाटनमा आफ्नो भनाइ राख्दै अभियान सुरुआत कार्यक्रमको प्रमुख अतिथि समेत रहेका उपप्रधानमन्त्री पोखरेलले भने, ‘म आफू जाने कार्यक्रममा पनि महिलाको उपस्थितीबारे प्रश्न राख्छु । आफू मातहतका कार्यक्रममा पनि सहभागिता कार्यान्वयन गराउँछु ।’

उक्त कार्यक्रममा सहभागिले ‘पुरुषमात्र हुने मञ्च इन्कार गरौं’ भन्ने अभियानमा ऐक्यवद्धता जनाउँदै हस्ताक्षर समेत गरेका थिए ।