बीमाको इतिहास हेर्ने हो भने नेपालमा बीमा कम्पनीको स्थापना हुनु अगावै भारतीय बीमा कम्पनीका शाखाहरुले नेपालको औद्योगिक र व्यापारीक क्षेत्रमा आफनो व्यवसाय विस्तार गरेका थिए । नेपालको सिमा क्षेत्रमा विदेशी कम्पनीहरुको प्रभाव बढ्न थालेपछि नेपालमा पनि बीमा कम्पनीहरुको आवश्यकता मशसुस गरियो । फलस्वरुप २००४ सालमा नेपाल बैंकको पूर्ण स्वामित्वमा माल चलानी तथा बीमा कम्पनीको स्थापना भयो । २०१६ सालमा यो कम्पनी नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनीमा परिवर्तन भयो । विं स. २०४८ सालमा नेपाल इन्स्योरेन्स कम्पनीको नाममा परितर्वन भयो ।

२०२४ साल पुस १ गते १ करोडको अधिकत्तम पूँजीमा राष्ट्रिय बीमा संस्थान प्रालिको स्थापना भयो । २०२५ सालमा राष्ट्रिय बीमा संस्थान ऐन जारी गरी यसलाई राष्ट्रिय बीमा संस्थानमा परिवर्तन गरियो । नेपालमा बीमा कम्पनीहरु स्थापना हुन थालेपछि २०२५ सालमा बीमा ऐन जारी गरियो । बीमा नियमावली अनुसार २०२६ साल जेठमा बीमा समितिको स्थापना भयो । त्यसपछि नेपालमा भारतीय बिमा कम्पनीहरुले शाखा विस्तार र नयाँ नेपाली कम्पनीहरुकै स्थापना भए । नेपाल बीमाको बजार बढ्न थालेपछि तत्कालिन समयमा बनाईएको बीमा ऐन धेरै संकुचित भएको महसुश गरियो । पुराना ऐनलाई पूर्ण रुपमा विस्थापित गरी २०४९ सालमा बीमा ऐन २०४९ जारी गरियो ।

बीमा समितिले आफनो स्थापनाको ५० औ बर्ष पुरा गरी आज ५१ औ बर्षमा प्रवेश गरेको छ । समिति स्थापना भएको आधा शताब्दी नाघि सकेको छ भने नेपालमा बीमा व्यवसायको सुरुवात भएको सात दशक नाघि सकेको छ । तर, नेपालमा बीमाको पहुँच भने बढ्न सकेन । बीमा समितिले पछिल्लो समयमा नेपालमा बीमाको पहुँच १७ प्रतिशत पुगेको दाबी गरेको छ । तर, सरोकारवालाहरु भने यसलाई मान्न तयार छैनन् ।

बीमा समितिको तथ्यांक अनुसार चालु आर्थिक २०७५/७६ को पुस महिनासम्ममा नेपालमा बीमाको पहुँच १७ प्रतिशत पुगेको छ । समितिले नेपालको जनसंख्या २ करोड ९४ लाख ७० हजार ९२६ लाई अनुमान गरी गणना गर्दा बीमा पहुँच १७ प्रतिशत पुगेको देखिएको हो । उक्त अवधिमा ५२ लाख ५० हजार १२७ वटा बीमालेख जारी भएका छन् । जसमध्ये १६ लाख ५२ हजार ४५३ वटा बैदेशिक बीमालेख जारी भएका छन् । अन्य बीमालेखको संख्या भने ५२ लाख ५० हजार १२७ रहेको छ । समितिले २ लाख ६२ हजार ५०६ वटा बीमालेख दोहोरिएको अनुमान गरेको छ । जुन कुल जारी बीमालेखको ५ प्रतिशत हो । बैदेशिक रोजगार र दोहोरिएको बीमा योजना बीमा योजनालाई घटाउँने हो भने बास्तविक बीमा योजनाको संख्या ४९ लाख ८७ हजार ६२० मात्रै जारी भएको देखिन्छ ।

समितिको दाबी अनुसार समितिको ५१ बर्षको अवधिमा १७ प्रतिशत पहुँच पुग्न आफैमा प्रसंशनीय छ त ? यस बिषयमा नियमनकारी निकायले ध्यान दिनु जरुरी छ । पक्कै पनि बीमा पहुँच सन्तोषजनक भने होईन ।