काठमाडौं । तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच पार्टी एकता भएको झन्डै एक वर्ष पुग्न लागेको छ । एकता घोषणा कार्यक्रममा दुवै पार्टी मातहतका कमिटी तथा जनवर्गीय सङ्गठनको एकतालाई तीन महीनाभित्र पूर्णता दिने भनिएपनि अहिलेसम्म एकताले पूर्णाता नपाउनुमा नेकपा भित्रको गुटगत स्वार्थ नै हो । नेकपा गठनसँगै एमाले र माओवादी केन्द्र आपसमा अन्तरघुलित भएकाले पार्टीमा गुटउपगुटको अवस्था आउन नदिने अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड प्रतिबद्धता थियो । तर, पार्टी एकताले पूर्णता नपाउँदै नेकपाभित्र गुटउपगुट देखिन थालेका छन् ।

दुई पार्टीबीच एकीकरणमा ठूलो समस्या नदेखिए पनि पूर्वएमाले समूह भित्र गुट व्यवस्थापन गर्न नसक्दा पार्टी एकता नै अन्योलमा परेको देखिन्छ । अध्यक्षद्वय ओली र प्रचण्डबीच पूर्वएमाले र पूर्वमाओवादीले लिने जिल्ला नेतृत्वका विषयमा सहमति जुटेसँगै वरिष्ठ नेता माधवकुमार नेपालले समानान्तर कमिटी गठनको चेतावनी दिए । सचिवालयमा सहमति नजुटाई दुई अध्यक्षले मात्र जिल्लाका अध्यक्ष र सचिवको जिम्मेवारी तोके आफूलाई मान्य नहुने भन्दै नेता नेपालले समानान्तर कमिटि गठनको चेतावनी दिएका हुन् ।

यसअघि संगठन एकता गर्न बनेको कार्यदलले प्रतिवेदन तयार पार्दा अध्यक्ष ओलीले आफ्ना गुटका मान्छेलाई च्यापेर बरिष्ठ र क्षमतावान नेता-कार्यकर्तालाई पाखा लगाएको नेता नेपालको आरोप छ । नेकपामा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता माधव नेपाल, गृहमन्त्री समेत रहेका सचिवालय सदस्य राम बहादुर थापा बादल, नेता झलनाथ खनाल र सचिवालय सदस्य वामदेव गौतमको आ-आफ्नै गुट छ । पूर्वमाओवादी भित्र जिल्ला नेतृत्वका विषयमा विवाद नदेखिए पनि पूर्वएमाले भित्र भने ठूलो विवाद छ ।

पूर्वएमाले भित्रको तीव्र गुटबन्दीका कारण जिल्ला तथा जनवर्गीय संगठनबीच एकता प्रक्रिया सम्पन्न हुन नसकेको नेताहरू बताउँछन् । पूर्वमाओवादीमा अध्यक्ष प्रचण्ड र नेता बादलको छुट्टाछुट्टै समूह भए पनि विवाद सतहमा देखिएको छैन् । तर, पछिल्लो समय अध्यक्ष प्रचण्ड र बादलबीच पहिला जस्तो राम्रो सम्बन्ध नभएको पूर्वमाओवादी समूहका कतिपय नेताहरुको भनाइ छ । यधपी नेता बादल संयोजक रहेको एकता कार्यदलले अध्यक्षद्वयकै सल्लाहमा प्रतिवेदन बुझाएकाले एकीकरण प्रक्रियामा उनको फरक मत नरहने बुझ्न सकिन्छ ।

नेकपा भित्रको विवाद जिल्ला कमिटि र जनवर्गीय संगठनमा आफू निकटलाई जिम्मेवारी दिएर आगामी नेतृत्व सुरक्षित गर्न ओली र नेपालबीचको रस्साकस्सीका रुपमा बुझ्न सकिन्छ । ओली र नेपालकै कारण लामो समय बितिसक्दा पनि नेकपाको एकता ‘ए ! कता’ भने जस्तो भएको छ । आगामी महाधिवेशनमा हावी हुन् जिल्ला र जनवर्गीय संगठनको नेतृत्वमा आफ्ना गुटका नेता-कार्यकर्तालाई लैजाने ओली र नेपालको यो जोडघटाउ कै कारण नेकपाको एकीकरण अन्योलमा परेको देखिन्छ ।