काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षार्थीलाई प्राप्ताङक दिँदा गम्भीर त्रुटि गरेको पत्ता लागेको छ । उसले एक विद्यार्थीलाई कुल ४० नम्बर पूर्णाङक भएको ‘जिओलोजी प्राक्टिकल’ विषयको लब्धाङ्क–पत्रमा ४२ नम्बर दिएको छ ।

बीएस्सी चौथो वर्षको विषयमा यस्तो त्रुटि भेट्टिएको हो । यो विषयमा उत्तीर्णाङक १६ छ । तर परीक्षा नियन्त्रण कार्यालयले भने छपाई त्रुटिका कारण यस्तो समस्या भएको बताएको छ ।

त्रिविले उत्तरपुस्तिका जाँच, नतिजा प्रकाशन लगायतमा पटक-पटक त्रुटी गर्ने गरेको गुनासो धेरैले गर्ने गरेका छन् । परीक्षार्थीको नाम, जन्ममिति, रजिस्ट्रेशन नम्बर जस्ता सामान्य कुरामा समेत त्रुटी गर्ने र सच्याउन अझै झन्झटिलो हुने हुँदा धेरैले दुख समेत पाउने गरेका छन् ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले विषयगत कोड छपाई गर्दा बिग्रेर यस्तो समस्या आएको बताए । पूर्णाङक भन्दा बढी उत्तीर्णाङ्क ल्याएका विद्यार्थीलाई नयाँ लब्धांक–पत्र दिइसकिएको जोशीले जानकारी दिए ।