नेपाली सेनाका प्रवक्ता सहायकरथी यम प्रसाद ढकालले लिबियामा शान्ति स्थापनाका लागि कार्यरत राष्ट्रसंघीय मिसनको मुख्यालयको सम्पूर्ण जिम्मा नेपाली सेनाले लिएको नेपाल समयसँग बताए। ढकालका अनुसार त्यहाँ रहेका सम्पूर्ण नेपाली सैनिक सुरक्षित रहेका छन्।  

लिबियामा शान्ति स्थापनाको प्रयास असफल भएपछि त्यहाँ हिंसा भड्किएको छ। त्यहाँको विद्रोही समूह ‘द लिबियन नेसनल आर्मी‘ (एलएनए) ले सरकारी फौजमाथिको आक्रमणलाई बढाउँदै लगेको छ। लिबियामा शान्ति स्थापनाको लागि संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले प्रयास गरिरहेका छन्।
 
गुटरेस र विद्रोही नेता खलिफा हफ्तारबीच गत शुक्रवारमात्रै भएको वार्ता असफल भएपछि विद्रोहीले आक्रमणलाई अझ तीव्र पारेका छन्। उनीहरु त्रिपोली कब्जा गर्न अगाडि बढेका छन्। यस्तो अवस्थामा त्यहाँ कार्यरत नेपाली सैनिक असुरक्षित हुने हुन् की भन्ने चिन्ता बढेको छ। तर, त्यहाँ कार्यरत सम्पूर्ण नेपाली सैनिक सुरक्षित रहेका नेपाली सेनाको मुख्यालयले जनाएको छ।

यसैबीच द्वन्द्व अझै चर्किन थालेपछि अमेरिका र भारतले त्यहाँ कार्यरत आफ्ना सेनालाई स्थान्तरण गरेपछि सुरक्षाको सम्पूर्ण जिम्मेवारी नेपाली सेनाको काँधमा आएको छ। अमेरिकी सेनाको युएस अफ्रिका कमाण्ड त्यहाँबाट सारिएको छ भने भारतले पनि शान्ति सेनामा खटिएका सेन्ट्रल रिजर्भ फोर्सका १५ वटा टुकडीलाई त्रिपोलीबाट हटाएको छ। लिबियाको अवस्था एक्कासी बिग्रिएपछि शान्ति सेनामा खटिएका सुरक्षाकर्मीलाई त्रिपोलीबाट अन्यत्रै सारिएको भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बताइन्।

राजधानी त्रिपोलीमाथि कब्जा जमाउने उद्देश्यले विद्रोहीले आक्रमण थालेपछि निम्तिएको संकटले अमेरिकी र भारतीय शान्ति सैनिक अन्यत्रै सारिए पनि नेपाली सेनालाई भने थप जिम्मेवारी दिइएको छ। अमेरिका र भारतका फौजसमेत हटाइएको अवस्थामा त्रिपोलीमा रहेको राष्ट्रसंघीय शान्ति मिसन मुख्यालय र त्यहाँ कार्यरत कर्मचारीको सुरक्षा जिम्मेवारी नेपाली सेनाको काँधमा आएको छ।

त्रिपोलीमा भएको भिडन्तबाट बच्न २ हजार ८ सय भन्दा बढी परिवार विस्थापित भएका छन्। विद्रोही समूहले त्रिपोलीस्थित अन्तर्राष्ट्रिय विमानस्थललाई ‘नो फ्लाई जोन’ घोषणा गरेको छ। सडकमार्ग भने सुचारु रहेको छ। शान्ति मिसनमा कार्यरत केही कर्मचारीलाई सडक मार्गमार्फत छिमेकी राष्ट्र ट्युनिसिया पठाउने कार्य सुरु गरिएको राष्ट्रसंघले जनाएको छ। राष्ट्रसंघले आवश्यक बाहेकका आफ्ना अधिकारीहरुलाई बाहिर पठाएको छ।