सेतो रङ्ग ,
यो कुनैबेला
मेरो सबैभन्दा मनपर्ने रङ्ग थियो
किनकी मैले सुनेको थिएँ,
ठ्याक्कै यस्तै हुन्छ रे
डाक्टरले लगाउने एप्रोनको रङ्ग !

त्यतिबेला
जैल्यै निधारमा रातो टिका लगाइदिँदा
ति सेता कपाल भएका हजुरबा
खै के-के के-के फलाक्नुहुन्थ्यो
र अन्त्यमा यहि भन्नुहुन्थ्यो ,
“डाक्टर बनेस् छोरो !”
म ङिच्च सेता दाँत देखाइदिन्थेँ।
लाग्थ्यो,
सेतो भनेको त सौभाग्यको रङ्ग हो !
सेतो रङ्ग सेवाको प्रतिक हो, सद्भावको प्रतिक हो !
सदाचारको प्रतिक हो, शुरक्षाको प्रतिक हो!
त्यसैले सेतो मेरो सपनाको रङ्ग थियो ।

तर म जतिजति बुझ्दै गएँ
उतिउती बाझिदै गए मेरा बुझाइहरु
उतिउति बुझ्नै सकिन मेरा बुझाइहरुलाई ।

सिमिकोटमा महिनौँदेखी ताला झुण्डिरहेको
अस्पतालको भवन हेरेर
चुक्क चुक्चुकाउँदै फर्कँदा
जब नेपाल्गन्जको एक महङ्गो क्लिनिकमा भेटेँ
सरकारी तलब र दुर्गम भत्ता सहित
आक्कलझुक्कल सिमिकोटतिर झुल्कने
यौटा सेतो एप्रोन,
बुझ्नै सकिन,
मैले सेवाको प्रतिक मान्दै आएको
यो एप्रोनको सेतो रङ्ग
कतै स्वार्थको प्रतिक त हैन ?

जुन दिन मैले सुनेँ,
कमिसनको आयतन नापेर
कायम गरिन्छ रे औषधिहरुको गुणस्तर !
बाझिन थाले मेरा बुझाइहरु,
मैले सदाचारको प्रतिक मान्दै आएको
यो एप्रोनको सेतो रङ्ग
कतै
कुनै फर्मास्युटिकल कम्पनिको रात्रीभोजपछिको बिहान
सिद्धान्तहरुको स्वप्नदोष भएर स्खलित
लगौँटिका सेता टाटाहरुको प्रतिक त होइन ?

जब कुनै दिन
काला झण्डा बोकेर सडकमा चिच्याइरहेको देखेँ
सेता एप्रोनहरुलाई
र त्यतिनै बेला देखेँ,
अस्पतालको बन्द ढोका बाहिर
सेतो कपडामा बेरिँदै गरेको शरीर
फेरि थपियो अर्को यौटा प्रश्न,
मैले शुरक्षाको प्रतिक मान्दै आएको
यो एप्रोनको सेतो रङ्ग
कुनै सामन्ती शासकको प्रतिक त हैन ?

साँच्चै ,
जतिजति बुझ्दै जान्छु
उतिउती बुझ्नै सकिरहेको छैन,
यो एप्रोनको सेतो रङ्गले के सङ्केत गरिरहेको होला?
स्वच्छता या सजिलै मैलने क्षामता ?

अचेल हरेक दिन जसो,
बेस्सरी हिर्काउँछन् यि प्रश्नहरुले कन्चट तात्ने गरि।
म रन्थनिन्छु, छटपटिन्छु, अलमलिन्छु,
अनि आँफ्नै एप्रोन हेर्छु,
खोल्छु, पट्याउँछु, फेरि फुकाउँछु,
हेर्छु, हेरिरहन्छु, घोरिइरहन्छु घन्टौँसम्म ,
यो एप्रोनको सेतो रङ्गलाई
कसरी स्थापित गराउने होला आम मानसपटलमा
मेरो बालमष्तिस्कमा जस्तै
सेवा, सदाचार, समानता, सद्भाव र शुरक्षाको प्रतिक भनेर ।

-पूजन गोर्खाली