गणतन्त्रले सबैलाई सम्मानित र सुअवसर देला भन्थे तर काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिएर मनाइने घोडाजात्रा सर्वसाधारणका लागि हुँदै होइन। घोडाजात्रा त राणाकालमा बल्ल सुरु भएको हो। त्यसअघिदेखि नै उपत्यकावासी यो दिन पाहाँ चह्रे पर्व मनाउँदै आइरहेका छन्। यो पर्वका क्रममा विभिन्न दिन पारेर टुँडिखेल, असनमा रथ यात्रा गरिन्छ। गुरुमापा राक्षसलाई तर्साउन र गाडिएको जमिन माथि आउन नदिन टुँडिखेलमा एउटा घोडा दौडाउने चलन थियो। त्यसैलाई जुद्ध शमशेरले बाहिरको हर्स रेसिङ देखेपछि यता पनि त्यस्तै धेरै घोडा दौडाउने चलन सुरु गरे। अहिले नेपाली सेनाले यो दिन घोडा दौडबाहेक अरु तमाशा देखाउने गर्छ जसका दर्शक भिआइपी र सेनाले निम्तो दिएकाहरु मात्र हुन्छन्। भिआइपीहरु मजाले कुर्सीमा बसिरहँदा सर्वसाधारण भने बिजोग अवस्थामा टुँडिखेल बाहिरबाट यो जात्राको एक झलक हेर्न आतुर हुन्छन्।

महांकाल स्थानबाट जुन गेट नजिकैको रेलिङमा झुन्डिएको हेर्छन्  ,त्यहाँबाट घोडाजात्रामा देखिने केही हैन। तर पनि…सर्वसाधारणले देख्लान् भनेर हो कि के हो पालले छोपिएको छ। तर उनीहरुलाई पालले के छेक्थ्यो, त्यति अग्लो रेलिङमा चढेर पनि उनीहरु हेर्छन्।यी मानिसहरु यति धेरै अग्ला हैनन्, केहीमा चढेर, टेकेर बल्ल हेर्ने अवसर पाएका हुन् ।यो सर्वसाधारणको बिजोग मान्ने कि नमान्ने ?