प्रेम एक अनुभूति । मनबाट स्वतस्फूर्त प्रकट हुने भाव । यही भावले वैशालु जोडीलाई एकाकार गराउँछ । सेक्स, एक शारीरिक क्रिया । यद्यपी यसका आफ्नै सर्त र सीमा छन् । सृष्टिलाई चलयमान बनाउन आवश्यक एक जैविक प्रक्रिया ।

कमिटमेन्ट, एक विश्वास र भरोसा । कमिटमेन्ट बिना न प्रेम टिक्छ, न यौन जीवन ।

तर, समयसँगै बद्लिदो परिवेशले यी तमाम शब्दको परिकल्पना र यर्थाथ बदलिदिएको छ । आजको समयमा प्रेमको अर्थ आकर्षण । आजको समयमा सेक्सको अर्थ शारीरिक भोक मेटाउने मेलो । आजको समयमा कमिटमेन्टको अर्थ केवल एक भ्रम वा मुर्खता ।

बद्लिदो समाजको बद्लिदो तस्वीर

प्रेमको अर्थ र महत्व अहिले खिइदै गएको छ । विगतमा प्रेमले आस अर्थ र महत्व राख्थ्यो । प्रेमलाई पवित्र अर्थमा बुझिन्थ्यो । जोसँग प्रेम गरिन्छ, उसैसँग विवाह गर्ने, शारीरिक सुखभोग गर्ने सोंच हुन्थ्यो । विवाहलाई जीवनभरको सम्बन्ध मानिन्थ्यो । सम्बन्धमा पनि मर्यादा र अनुशासन थियो ।

त्यही कारण त विवाहमा एक किसिमको कमटिमेन्ट अर्थात प्रतिवद्धता गराइन्थ्यो, दुलहा र दुलहीलाई । जीवनभर एकसाथ रहने, दुःख सुख बाढ्ने, दाम्पत्य जीवनको मूल्य बुझ्ने, श्रीमान्(श्रीमतीको मर्यादा र जिम्मेवारी पालना गर्ने इत्यादि ।

त्यही अनुसार कुनैपनि दम्पतीले आफ्नो पारिवारिक मर्यादा, सीमा र अनुशासन पूर्णत पालना गर्थे । दाम्पत्य सुखभोग गर्थे ।

तर, आज त्यस्तो अवस्था छैन । प्रेमलाई केवल आकर्षणको रुपमा लिइन्छ । जबसम्म आकर्षक देखिन्छ वा लाग्छ, त्यसबेलासम्म मात्र उनीहरुको प्रेम टिक्छ । सेक्सका लागि अब कुनै सीमा र मर्यादा रहेन । यो शारीरिक भोग मेट्ने क्षणिक क्रिया मात्र रह्यो ।

यसलाई मान्छेले शारीरिक आवश्यक्ता मात्र ठाने । जब आवश्यक्ता हुन्छ, तब शारीरिक भोग गर्ने । आफ्नो सीमा र मर्यादालाई भुलेर जसरी पनि, जसको साथ पनि सेक्स गर्ने प्रवृत्ति मौलायो ।

यसको साइड इफेक्ट, दम्पतीबीच अविश्वास बढ्यो । उनीहरुले एकअर्कालाई भरोसा गर्ने ठाउँ रहेन । दुबै आपसमा सशंकित भए । यसले दम्पतीको सम्बन्धलाई क्रमस धरापमा पार्दै लग्यो ।

अहिले अक्सर दम्पती कुनै न कुनै तनाव, मनमुटावको अवस्थाबाट गुज्रिरहेका छन् । उनीहरुमा भावनात्मक सम्बन्ध छैन । केवल देखावटी सम्बन्ध मात्र निर्वाह गरिरहेका छन् ।

दाम्पत्य जीवन के हो रु कसरी दम्पतीले एउटा सुन्दर परिवारको रचना गर्नसक्छ रु दाम्पत्य सुखका स्रोत के हुन् रु अहिलेका दम्पतीले यसतर्फ खास ख्याल गरेको पाइदैन । किनभने उनीहरु क्षणिक र देखावटी खुसीमा बढी रमाउन थाले । उनीहरुलाई दाम्पत्य सम्बन्ध केवल सामाजिक बन्धन मात्र हो भन्ने लाग्यो ।

एक श्रीमान र श्रीमतीले एकअर्काको भरोसा, विश्वास, प्रेम, सहकार्यमा दाम्पत्य सुख खोज्ने हो । तर, अहिले उनीहरु वाहिरी सम्बन्धमा विश्वास गर्न थाले । परिवारलाई भन्दा आफ्नो मोजमस्तीलाई प्राथमिकतामा राख्न थाले । यही कारण उनीहरुले विवाह गर्दाको प्रतिवद्धतालाई पनि लत्याइदिए । विवाह केवल नाटकिय घटना जस्तो मात्र हुन पुग्यो ।

अहिले श्रीमान र श्रीमतीको प्रेममा सोशल मिडिया पनि भाँजो हाल्न आइपुगेको छ । त्यस्तै काम, करियरको चक्करमा पनि उनीहरुले आपसी सम्बन्ध गुमाउँदैछन् । दम्पतीको सयनकक्षा चिसिदैछ । उनीहरुको मनमा प्रेम होइन प्रतिशोधको भावना पलाउन थालेको छ । किनभने श्रीमान्/ श्रीमतीले आफ्नो दाम्पत्य महत्व र मूल्यलाई बुझेनन् । उनीहरुले पारिवारिक जिम्मेवारी र मर्यादालाई बुझेनन् ।

-विगतमा दम्पतीले एकअर्काको खुसीका खातिर आफुलाई समर्पित गर्थे । उनीहरु आफ्नो स्वार्थ भन्दा पार्टनरको खुसीलाई प्राथमिकतामा राख्थे । अहिले भने आफुलाई केन्द्रमा राखेर सोच्ने प्रवृत्ति छ । केवल आफ्नो खुसीको लागि पार्टनरलाई बाध्य बनाउने प्रवृत्ति छ ।

-अहिले दम्पतीबीच भरोसाको सम्बन्ध छैन । उनीहरु एकअर्काप्रति शसंकित छन् । एउटाको मोवाइल, एउटाको इमेल अर्कोले प्रयोग गर्न सक्दैनन् ।

-अहिलेका दम्पतीबीच गोपनियताको नाममा अविश्वासको खाडल बढेको छ । उनीहरु मन र तन साटासाट गर्न राजी हुन्छन्, तर सोशल मिडयाको पासवर्ड साट्न तयार हुँदैनन् ।

-अहिले दम्पतीबीचको शारीरिक सम्बन्ध केवल एकअर्काको मन राख्ने मेलो मात्र भएको छ । उनीहरु वाहिरी सम्बन्धमा बढी रमाउन थालेका छन् ।