राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको मिति तोकिएपछि राष्ट्रिय खेलकुदको पुनः नजिर बसेको प्रतिक्रिया दिएका छन् । राखेपको १११औँ बोर्ड बैठकले प्रदेश ५ को नेपालगञ्जमा वैशाख ५ देखि ११ गतेसम्म आठौँको आयोजना हुने निर्णय गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । प्रत्येक दुई वर्षमा आयोजना गरिने राष्ट्रिय प्रतियोगिताका पहिलेका तीन संस्करण प्रत्येक दुई वर्ष अर्थात् निश्चित समयमा भएको थियो । तर, त्यसपछि मुलुक भएको राजनीतिक परिवर्तन र अस्थिरताले चौथो, पाँचौँ, छैटौँ र सातौँ प्रतियोगिता तोकिएको समयमा हुन सकेका थिएनन् । अहिले सातौँको आयोजना भएको दुई वर्षमा आठौँको आयोजना हुने भएको छ । आठौँको आयोजना दुई वर्षकै अन्तरालमा आयोजना हुने भए पछि अहिले पुुनः नजिर पनि बनेको छ । यसैको सेरोफेरोमा रही राष्ट्रिय प्रतियोगिताको मिति तोकिएपछि राखेपका सदस्यसचिव विष्टसँग गरिएको घटना र विचारले गरेको कुराकानीको सारसङ्क्षेप ।

० आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति यति ढिलो तोकिनुको कारण के होला ?
यसको पछाडि थुप्रै कारण भए पनि प्रमुख कारण भने भौतिक पूर्वाधार थियो । बजेटका कारण पूर्वाधारको निर्माणमा भएको ढिलासुस्तीले गर्दा यस्तो स्थितिको सिर्जना भएको हो । तैपनि अन्य पूर्वाधार समयमै निर्माण भएका थिए । तर, आठौँको उद्घाटन र समापन समारोहको लागि तयार हुनुपर्ने नेपालगञ्ज रंगशाला तोकिएको समयमा तयार नहुँदा आठौँको मिति तोक्न ढिला भएको हो । अहिले नेपालगञ्ज रंगशालामा भीआईपी प्यारापिट जडान गर्ने कार्य भइरहेको छ, जुन अबको ११ दिनमा पूर्ण रूपमा तयार हुनेछ ।

० तपाईंको चारवर्षे कार्यकालमै दुईवटा राष्ट्रिय प्रतियोगिता हुने भए कस्तो महसुस गरिराख्नुभएको छ ।
म यसमा आफूलाई भाग्यमानी ठान्छु, किनकि लामो समयपछि दुई वर्षको अन्तराल अर्थात् तोकिएकै समयमा राष्ट्रिय प्रतियोगिताको आयोजना हुँदै छ । अझ मेरै कार्यकालमा यस्तो हुनु मेरो लागि निकै खुसीको कुरा हो, साँचो रूपमा भन्नुपर्दा मैले यसलाई नेपाली खेलकुदको स्वर्णकालको रूपमा हेरेको छु । मैले खेलकुदको कार्यभार सम्हाल्दा खेलकुदलाई ‘स्वर्णकाल’ बनाउने जुन उद्घोष गरेको थिएँ, आठौँ त्यसको उदाहरण हो । जुन अहिले नेपाली खेलकुद क्षेत्रमा पुनः नजिर बनेको छ । यसका लागि म नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी र कर्मचारीलाई धन्यवाद दिन चाहन्छु ।
० आठौँ राष्ट्रिय प्रतियोगिता अहिलेसम्मकै उत्कृष्ट राष्ट्रिय प्रतियोगिता हुने दाबी गर्नुभएको छ, यो दाबीमा कत्तिको सत्यता छ ?
हो, यो कुरा मैले बोलेकै हो र यसमा अहिले पनि गर्वका साथ दाबी गर्छु । आठौँ राष्ट्रिय प्रतियोगिता अहिलेसम्मकै उत्कृष्ट राष्ट्रिय प्रतियोगिता हुनेछ । हामीले जुन तयारी गरेका छौँ त्यसलाई मध्यनजर गर्दा आठौँ आफैँमा उत्कृष्ट हुनेछ । म ठोकुवाका साथ भन्न सक्छु, हाम्रो तयारीबारे तपाईंहरूले सकारात्मक समाचार मात्र प्रेषित गर्न बाध्य हुनुपर्नेछ । यसपटक पूर्वाधार मात्र नभई खेलाडीको प्रदर्शनमा समेत स्तरीयता देख्नुहुनेछ । यो प्रतियोगितापश्चात् थुप्रै राष्ट्रिय ‘हिरो’ जन्मिने कुरामा म ढुक्क छु ।

० नेपालगञ्जको प्रचण्ड गर्मीमा आठौँ राष्ट्रियको आयोजना हुँदै छ, कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ? गर्मीका कारण खेलाडीको प्रदर्शनमा असर पर्ने देखिन्छ नि ?
प्रतियोगिताको आयोजनाको बेला तराईका सम्पूर्ण जिल्लामा गर्मी हुन्छ, नेपालगञ्जमा पनि हुनेछ, यही कुरालाई मध्यनजर गर्दै हामीले दुरदर्शी रूपमा प्रतियोगिताको सञ्चालन गर्ने चाँजोपाँजो मिलाएका छौँ । हामी प्रायजसो खेलका खेलहरू बिहान र बेलुका सञ्चालन गर्नेछौँ, त्यो पनि इन्डोर हलमा । नेपालगञ्ज हो, अलिकति गर्मी त अवश्य होला तर खेलाडीहरूको प्रदर्शनमै असर पर्नेगरी गर्मी होला जस्तो मलाई लाग्दैन । हिमाल, पहाड र तराई जुनसुकै क्षेत्रबाट आएका खेलाडीका लागि कुनै फरक पर्नेछैन ।

० आठौँको आयोजनाको समयमा नेपालगञ्जको तापक्रम ३८ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ, यस्तोमा आउटडोरमा खेलाइने खेलमा प्रत्यक्ष प्रभाव पर्दैन र ?
राम्रो प्रश्न सोध्नुभयो, प्रश्नका लागि धन्यवाद । सर्वप्रथम म सबैलाई के जानकारी गराउन चाहन्छु भने यो पटकप्रायः सबै खेल इन्डोरमा खेलाइने हो, त्यो पनि बिहान र बेलुकी । अर्को कुरा आउटडोरमा खेलाइने खेलहरू फुटबल, क्रिकेट र हक्कीको पनि हामीले गर्मीलाई मध्यनजर राख्दै आयोजना गर्नेछौँ । अहिले हामी त्यसैको समय तालिकालाई लिएर गम्भीर छौँ ।