सिमली छायाँमा बसी, छेकेर छेकिन्न, रोकेर रोकिदैन ,चाहिदैन मलाई सिसाको महल जस्ता उत्कृष्ट गितहरु गाएका जनगायक जीवन शर्मा पार्टीबाट निलम्बित भएका छन् ।
उनि मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल पार्टीमा आवद्ध थिए ।

पार्टी निकट स्रोतका अनुसार पार्टी हितविपरित जापानमा गएर गीत गाएको, नेकपा अध्यक्ष केपी ओली र प्रचण्ड सहभागि कार्यक्रममा सहभागि भएर गीत प्रस्तुत गरेकोलगायतका आरोप लगाउँदै उनलाई मसालले पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको हो ।

तर पार्टीले स्पष्टीकरणको समेत मौका नदिई शर्मालाई निलम्बन गर्ने निर्णय गरेको शर्मा निकटहरुको भनाई छ ।
रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष समेत रहेका शर्मामाथि पार्टी अध्यक्ष मोहन विक्रमको लाइन नपक्रिएको आरोप समेत लगाइएको छ ।

शर्माको सिमली छायामा बसी, झरनाको चिसो पानी, सालघारीमा, सामन्तले, लडाईँको मैदानबाट, फोक्ल्याण्डको टापुबाट लगायतका जनवादी गीत चर्चित छन् ।

जनगायक शर्माको जन्म २०१६ चैत २६ गते बाग्लुङमा भएको थियो । जीवन शर्मा दर्शन र राजनीतिशास्त्रमा स्नातक, अङ्ग्रेजी र मानवशास्त्रमा डबल एम.ए गरेर पनि सर्वहारा बनेका गायक हुन् ।