नेपाल बिस्कुट उत्पादक संघका अध्यक्ष वसन्तकुमार चौधरीको नेतृत्वमा गएको टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई भेटेर वैदेशिक लगानी बन्द गर्न आग्रह गरेको हो । बिस्कुट उद्योगमा परेका समस्याबारे जानकारी दिँदै संघले बैदेसिक लगानी नभित्राउन सुझाव दिएको हो ।

उद्योग बाणिज्य तथा आपूति सचिव,मन्त्रालयका उच्च अधिकारी लगायत उद्योग विभागका महानिर्देशकलाई समेत संघले स्वदेशमै मागअनुसारको पूर्ति गर्न सक्ने क्षमता भएकाले अबदेखि बिस्कुट उद्योग बैदेसिक लगानी निषेध गर्न आग्रह गरेको छ ।
केही वर्ष अघिसम्म ३५ वटा स्वदेशी बिस्कुट उद्योगमा कुल ७ अर्बको लगानी रहेकोमा आयातित बिस्कुटसँग प्रतिस्पर्धा गर्न नसकेकै कारण उद्योगहरू धमाधम बन्द भई हाल लगभग १६ वटाले मात्र आंशिकरूपमा बिस्कुट उत्पादन गर्दै आएको जानकारी गराउँदै टोलीले ती उद्योगको मात्र पनि ५ अर्बको लगानी रहेको जानकारी गराएको छ ।

हाल नेपालमा कुल उत्पादन जडित क्षमता ४ लाख टन भएकोमा बन्द भएका उद्योगलाई घटाउँदा आंशिक सञ्चालनमा रहेका उद्योगको जडित क्षमता वार्षिक १ लाख ९३ हजार टन रहेको छ ।