Federal_Socialist_Forum,_Nepal-Tapaikokhabar
जिबनराज देवकोटा । काठमाडौं संघीय समाजवादी फोरमका प्रमुख सचेतक उमाशंकर अगरियाले सरकारको प्रतिपक्षीको रुपमा कांग्रेसले अडानका साथ काम गर्न नसकेपछि आफूहरु नै प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएकाछन् । जनताको चासोको विषयमा रहेको संविधान संशोधन, वाइडवडी खरिद घोटालालगायतका विषयमा सरकार गम्भीर नबने सरकारबाट फिर्ता हुने चेतावनीसमेत दिएकाछन् ।

संविधान संशोधन, वाइडवडीमा भएको भ्रष्टाचार, प्रमुख जिल्ला अधिकारीलाई दिन लागेको अनावश्यक अधिकारजस्ता विषय टुंगो नलागे आफूहरू सरकारबाट फिर्ता हुने चेतावनी अगरियाले दिएकाहुन् । उनले यस विषयमा छलफल गर्न पार्टी संसदीय दलको बैठक बस्न लागेको जानकारी दिए ।

‘भूमिका प्रतिपक्षको जस्तो हुने भएपछि सरकार बसिराख्नुको अर्थ छैन’, उनले भने, ‘यसबारे छलफल गर्न पार्टी संसदीय दलको बैठक बस्दै छौं ।’

पार्टीका सांसद् हरिनारायण रौनियारलाई संविधान र संसद् नियमावलीविपरीत निलम्बन गरिएको भन्दै उनले असन्तुष्टि जनाए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि सांसद् रौनियार निलम्बित छन् ।