काठमाडौं ३० पुस – प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री बिजय यादवले उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव बिद्यानाथ झालाई कुटपिट गरेको विषयमा कर्मचारी ट्रेड युनियनले विरोध गरेको छ ।

आइतबार मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर सचिवलाई मुक्का प्रहार गरेका थिए । मुक्का प्रहारबाट घाइते भएका सचिव झा स्थानीय अस्पतालमा उपचाररत छन् ।

ट्रेड युनियनका अध्यक्ष पुण्य प्रसाद ढकालले एक विज्ञप्ति जारी गर्दै उक्त घटना प्रति खेद प्रकट गरेका छन् । मुलुक भरका कर्मचारीहरुको नेतृत्वकर्ता रहेका अध्यक्ष ढकालले गल्ति गरेको भए कारबाही गर्ने कानुमी बाटो हुँदाहुँदै मन्त्रीले सचिव कुट्न नपाउने प्रतिक्रिया दिए ।

अध्यक्ष ढकालले सचिवले अनियमितता गरेको भए अख्तियारले छानविन गर्ने र मन्त्रीले भनेको नमानेकै भरमा कुटपिट गरे कुनै पनि हालतमा सह्य नहुने चेतावनी दिए ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्र सेवक कर्मचारीलाई हातपात गर्नु अराजकताको परकाष्ट हो । असहमती वा नीतिगत रुपमा बाझिएका बिषय वा फरक बिचारलाई कानुनी बाटोबाट छलफल, बाहस र निष्कर्षमा पुर्याउन सकिने प्रजातान्त्रीक परीपाटीको बरखिलाफ जान कसैलाई क्षम्य र छुट छैन् ।’

आफूले भने अनुकुलको एनजीओमा कार्यक्रम नपर्दा उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्रालयका सचिव झालाई मन्त्री यादवले आफ्नो कार्यकक्षमै बोलाएर प्रदेश २ का सभामुख सरोज यादवकै सामुन्ने कुटपिट गरेका थिए ।