/निर्मलाका बुवाआमा यज्ञराज र दुर्गादेवीबिच झगडा किन ?

निर्मलाका बुवाआमा यज्ञराज र दुर्गादेवीबिच झगडा किन ?

निर्मलाको हत्याको विषयमा अनुसन्धानमा संलग्न टोलीले दुर्गादेवीको रगतको स्याम्पल लिएकोमा यज्ञराजले दुर्गादेवीसँग झगडा सुरु गरेका हुन् । रगतको नमुना आफूलाई नसोधेर दिएको भन्दै यज्ञराज आक्रोसित भए, उनले दुर्गादेवी बस्दै आएको घरमा गएर कुटपिटको प्रयास समेत गरे । दुर्गादेवी भन्छिन्, ‘रगत किन दिएको ? मलाई फसाउन खोज्ने भन्दै ममाथि कुटपिटको प्रयास गरे । रगत दिएको र राहत बुझ्न खोजेको विषयलाई लिएर घरमै आएर विवाद गरेको उनले बताइन् ।

प्रत्यक्षदर्शीका अनुसार यज्ञराजले घरभित्र पसेर भाँडाकुडा बाहिर फाल्दिएका थिए । यज्ञराजले घरमै गएर जेठी श्रीमतीमाथि कुटपिटको प्रयास गरेको खबर पाएपछि कञ्चनपुर प्रहरीले सुरक्षाकर्मी पठाएको थियो । निर्मला पन्तको शरीरबाट संकलन गरिएको ‘भजाइनल स्वाब’को वैद्यता माथि नै प्रश्न उठेपछि केहीदिन अघि अधिकारकर्मीले निर्मलाका बुवाआमाको रगतको नमुना संकलन गरेर देखाउन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल समक्ष आग्रह गरेका थिए ।

यसअनुरुप नै बुधबार दुर्गादेवीले स्वेच्छाले रगत दिएकी थिइन् । तर रगतको स्याम्पल दिँदा र सरकारबाट राहत बुझे न्यायको प्रयास कमजोर बन्दै जाने यज्ञराजको तर्क छ । प्रहरीले अहिलेसम्म भएको अनुसन्धानको बारेमा जानकारी गराएर आफ्नो रगत लिएको भन्ने व्यहोराको पत्र दिएमात्रै त्यसप्रकारको स्याम्पल दिने उनको शर्त छ । अनुसन्धान टोलीले त्यस्तो पत्र नदिएपछि उनले रगत दिन पनि अस्वीकार गरेका थिए ।

विवादको जड ‘बहकाव’ पनि

उसो त निर्मलाको निम्ति न्याय माग्दै अधिकारकर्मी र न्यायप्रेमीले सरकारलाई दबाब दिन छोडेका छैनन् । यहिक्रममा फरक-फरक धारणा आइरहँदा यज्ञराज र दुर्गादेवी ‘बहकाव’मा आए र गतल सञ्चारले विवाद सुरु भयो । कसैले रगतको स्याम्पल दिन सुझाए भने कसैले त्यसो गर्दा न्याय नै कमजोर हुने बताए । यसले नै दम्पतीमा विवाद भयो ।

दुर्गादेवीले हत्याको अनुसन्धानको क्रममा के भइरहेको छ भन्ने खुलाउन पनि मद्यत गर्ने ठानेर अधिकारकर्मीहरुसँगको परामर्शमा नै स्याम्पल दिएकी थिइन् । अर्कातर्फ उनले राहत बुझ्ने आशय पनि व्यक्त गरेका थिइन् तर यज्ञराज भने यी दुवै कुराले आक्रोशित बनेका छन् ।