/सभामुखले माफी नमागे संसद चल्न नदिने गगन थापाको चेतावनी 

सभामुखले माफी नमागे संसद चल्न नदिने गगन थापाको चेतावनी 

पूर्व स्वाथ्यमन्त्री तथा नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले सभामुख कृष्ण बहादुर महराले संसदमा माफी नमागे सम्म संसद चल्न नदिने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गरेको सम्बोधनपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रश्न सोध्न पाउनु पर्ने माग राख्दा सभामुख महराले समय नदिएपछि कांग्रेसले संसद बैठक चल्न नदिने चेतावनी दिएको हो ।

प्रधानमन्त्री ओलीले सम्बोधन गर्नु अगाडि नै संसद सचिवालयमा कांग्रेसले प्रधानमन्त्रीसँग प्रश्न सोध्नेभन्दै पाँचजना सांसदको नाम टिपाएको थियो । तर, सभामुख महराले कांग्रेसलाई प्रश्न सोध्ने अवसर नै दिएनन ।

सभामुख महराले बलजफती संसद अगाडि बढाएपछि कांग्रेसका सांसदहरू रोष्टमको अगाडि आएर नारावाजी गरेका थिए ।

सभामुख महराले कांग्रेसप्रति देखाएको व्यवहारमा क्षमा माग्नुपर्ने कांग्रेसको अडान छ । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले सभामुख महराले कांग्रेसलाई थिचोमिचोमा राखेर संसद चलाउन खोजेको आरोप लगाए ।