काठमाडौं । त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान र वनस्पतिशास्त्र केन्द्रीय विभागका उपप्राध्यापकहरू क्रमशः दीपनारायण साह र नारायणप्रसाद घिमिरेले यस्तो दाबी गरेका हुन् ।

डोल्पाको शे-फोक्सुन्डो ताल क्षेत्रको जलाधारसम्बन्धी अनुसन्धानमा गएका उनीहरूले त्यहाँ ६ प्रजातिका जल-किट (म्याक्रो-इन्भर्टिब्रेट) र विभिन्न प्रजातिका लेउ भेट्टिएको बताएका छन् ।

‘शे-फोक्सुन्डोमा कुनै जीव पाइँदैन भनेर मृत ताल भनिन्थ्यो, अब त्यो रहेन,’ साहले भने, ‘यसले ताल जीवित रहेको संकेत गर्छ । थप अध्ययन गर्न जरुरी छ ।’

तालमा टयानियोपिरिडे, पोलिसेन्ट्रोपोडिडे, बैटिडे, काइरोनोमिडे, ओलिगोचइटाका केही प्रजाति फेला परेका हुन् । यी जीवले पानीको अवस्थाबारे जानकारी दिन्छन् । काइरोनोमिडे र ओलिगोचइटाले प्रदूषणको मात्रा संकेत गर्छन् ।

जीव पत्ता लागे पनि पानीको अवस्था बुझ्न थप अनुसन्धान गर्नुपर्ने साहले बताए । उनका अनुसार ‘रिग्मो गाउँ’ का कारण ताल प्रदूषित बन्दै गएको छ । स्थानीयले त्यही पानी पिउने गरेका छन् ।

फोक्सुन्डो-सुलिगाड जलाधार क्षेत्रमा जैविक विविधता र पानीको गुणस्तरबारे हालसम्म कुनै अध्ययन भएको छैन । साहले जलाधारमा बाढी, पहिरो, अव्यवस्थित पदमार्ग, फोहोरमैला व्यवस्थापन गर्नुपर्ने चुनौती देखेका छन् ।

जलाधार क्षेत्रको जंगल तीव्र विनाश भइरहेको प्रति उपप्राध्यापकद्वयले चिन्ता दर्शाएका छन् । ‘वनस्पतिहरूको विकास दर हिमाली क्षेत्रमा उसै पनि कम हुन्छ, त्यहीँ रूख फँडानी ज्यादा छ,’ घिमिरेले भने, ‘एउटा घर बनाउन दुई सय वटासम्म रूख काट्ने गरेको पाइएको छ । घर निर्माण र आगलागीका कारण वनक्षेत्र झन्डै आधा घटेको छ ।’

अति सुक्खा क्षेत्र भएकाले आद्र्रता कम हुने र आगो फैलने सम्भावना बढी छ । रूख फँडानीका कारण पानीको ५० प्रतिशत मुहान सुकेको छ ।

यस्तै अवस्था रहे फोक्सुन्डो-सुलिगाड जलाधार क्षेत्रको बस्ती विस्थापन हुने घिमिरेले बताए । उनीहरूले अध्ययन-अनुसन्धानको खाँचो औँल्याउँदै समस्या तत्काल समाधान गर्न आग्रह गरेका छन् ।

उपप्राध्यापकद्वयले एक साता लगाएर जलाधार क्षेत्रमा पानीको गुणस्तर, उपयोगिता र जीवजन्तुबारे अनुसन्धान गरेका थिए ।