काशीराम शर्मा 

बाँके- बर्दियाकी तुलारानी थारुको बच्चा नौ महिनाको भयो। स्वास्थ्य संस्थामा जाँच गराउँदा उमेरअनुसार तौल कम भएको स्वास्थ्यकर्मीले बताएपछि उनलाई निकै तनाव भयो। गाउँकै एकजना छिमेकीले भेरी अञ्चल अस्पतालमा रहेको पोषण पुनःस्थापना गृह वा जिल्ला जनस्वास्थ्यले सञ्चालन गरेको उपचार केन्द्रमा लग्न सुझाए। उनले त्यसै गरिन्।

तुलारानी बच्चा लिएर भेरी अञ्चल अस्पतालको पुनःस्थापना गृहमा पुगिन्। त्यहाँ बच्चालाई उपचारात्मक खाना दिन शुरु गरियो। त्यस्तो खानाले बच्चाको तौल बढ्न थालेसँगै तुलारानीले बच्चालाई पर्याप्त खाना नपुगेको थाहा पाइन्।
तुलारानीले भनिन् – ‘धेरैजसो घरकै काममा ध्यान जाने। पोषणका बारेमा खासै जानकारी छैन। बच्चालाई समस्या भएको रहेछ, बल्ल थाहा पाएँ।’ 

बाँके बैजनाथ गाउँपालिकाकी दुर्गा कार्कीको बच्चा ११ महिनाको भयो। बच्चा निकै दुब्लो र ख्याउटे भएपछि दुर्गालाई चिन्ता भयो। बच्चालाई जाँचका लागि कोहलपुर ल्याएकी उनलाई स्वास्थ्यकर्मीले कुपोषण भएको जानकारी दिए। उनी पनि शिशुलाई लिएर पोषण पुनःस्थापना केन्द्रमा पुगिन्। 

उनले भनिन्, ‘बच्चालाई प्रशस्त खानेकुरा खुवाइरहेकी थिएँ तर, त्यसरी खुवाएर हुँदो रहेनछ। बच्चा ख्याउटे र दुब्लो भएपछि मात्रै चाल पाएँ।’
घरैमा भएको अन्नलाई मिलाएर सातु बनाई खुवाएमा त्यसले स्वास्थ्य सुध्रिने ज्ञान उनले पाइन्।

‘कसैले खाना पर्याप्त पाउँदैनन्, कसैले खाना पाए पनि सफा र स्वच्छ हुँदैन,’ उनले भनिन्, ‘शक्ति दिने, सुरक्षा गर्ने, वृद्धि विकास गर्ने खानाहरू एकै पटकमा खाने चलन नभएकाले कुपोषण हट्न सकेको छैन।’ समय–समयमा नखुवाउने, बच्चाले खान मानेन भनेर नखुवाउने गरेमा वा बारम्बार निमोनिया, झाडापखालाजस्ता रोग लाग्ने गरेमा पनि कुपोषण हुन्छ। 

भेरी अञ्चल अस्पतालको पुनःस्थापना गृहमा एउटा र जनस्वास्थ्यले १२ स्थानबाट उपचारात्मक खानाको सेवा दिइरहेका छन्। बच्चालाई कुपोषण भएपछि बाँके र आसपासका महिला भेरी अस्पतालमा रहेको पोषण पुनःस्थापना गृह र जिल्ला जनस्वास्थ्यले सञ्चालन गरेको उपचार केन्द्रमा पुग्छन्। कुपोषण यहाँको मात्रै नभएर मुलुककै प्रमुख समस्या रहेको स्वास्थ्यकर्मीहरु बताउँछन्। 

आर्थिक वर्ष २०७४÷७५ को ६ महिनाको अवधिमा बाँकेका आठ वटै स्थानीय तहमा २७९ जना शीघ्र कुपोषित बालबालिका फेला परे। उनीहरुले स्थानीय तहमै उपचार गराइरहेका छन्। गत आर्थिक वर्षमा नेपालगञ्जको भेरी अञ्चल अस्पतालले सञ्चालन गरेको पोषण पुनःस्थापन गृहबाट बाँकेमा मात्र १०० जना कुपोषित बालबालिकाले उपचार पाएका थिए। 

यो वर्षभरि जिल्लाका अस्पताल, बर्थिङ्ग सेन्टर र घरमा गरी १८ हजार ४४५ जना महिला सुत्केरी भए। हरेक महिलाले औसत एकजना मात्र बच्चा जन्माएको तथ्यलाई आधार मान्दा र कुपोषणको उपचार गराइरहेका बालबालिकाको तथ्याङ्क विश्लेषण गर्दा दुई प्रतिशत बालबालिका कुपोषणको शिकार भइरहेका पाइन्छ। 

भेरी अञ्चल अस्पतालमा ७५ र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्ज र कोहलपुरमा १७३ जना गरी २३० जना २८ दिनमुनिका बालबालिकाको मृत्यु भएको छ। मृत्युको कारणमध्ये एक कुपोषण पनि रहेको अस्पतालले जनाएको छ। उमेर अनुसारको तौल र तौल अनुसारको उमेर नहुनुलाई पनि कुपोषणको एउटा कारण मानिन्छ। 

जिल्ला जनस्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरीवेक्षक वसन्त गैरेका अनुसार गत वर्ष तौल लिइएका १२ हजार ४७२ बालबालिकामध्ये १ हजार ११ जना कम तौलका थिए। तिनलाई सामान्य, मध्यम र कम तौल तीन वर्गमा विभाजन गर्दा ४२३ जनाको निकै कम तौल र ५८८ जनाको मध्यम तौल पाइएको थियो । कम तौल हुने सबै बालबालिका कुपोषणको शिकार भएका हुन्। 

जन्मेका कुल बालबालिकामा तौल नपुगेका ७ प्रतिशतमध्ये अधिकाँश कुपोषणको शिकार भएको आकलन गर्न सकिन्छ। यी तथ्यका आधारमा बाँकेमा ठूलो सङ्ख्यामा बालबालिका कुपोषणको शिकार भएको निष्कर्ष निकाल्न सकिन्छ। खासगरी मधेशी, मुस्लिम र थारु समुदायमा यो समस्या केही बढी देखिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्क अनुसार कुपोषणकै कारण मृत्यु भने एक जनाको मात्रै भएको छ।

वैशाख १३ गते डुडुवा गाउँपालिकाको नयाँ चौफेरीका राम छविले बर्माकी १८ महिने छोरी रीता बर्माको कुपोषणका कारण मृत्यु भएको जनस्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन जागेश्वर बस्नेतले बताए। सुआहारा कार्यक्रममार्फत बेतहनी स्वास्थ्य चौकीमा सञ्चालन गरिएको कुपोषण बहिरङ्ग उपचार केन्द्र ९ओटिसी०मा मात्र ४४ जना कडा शीघ्र कुपोषित बालबालिकाले उपचार गराइरहेका छन्। 

जिल्लामै सबैभन्दा बढी कुपोषित बालबालिका हुने यो दोस्रो स्थान हो। जिल्लाको जानकी गाउँपालिका–३ को एउटै वडामा १४ महिनाको अवधिमा सातजना नवजात शिशुको मृत्यु भयो। मृतक अधिकाँश २८ दिनदेखि ६ महिनासम्मका बालबालिका रहेको इन्द्रपुर स्वास्थ्य चौकीका इञ्चार्ज गगनसिंह साउदले बताए। उनले भने, ‘मृतकमध्ये तीनजना २८ दिनभित्रकै थिए । अधिकाँश कम तौलका र समय नपुग्दै जन्मिएका थिए।’ 

स्वास्थ्य चौकीले उनीहरुको मृत्युको अरु नै कारण भने पनि अधिकाँश शिशु कुपोषणको शिकार थिए। तर, यी मृतक बालबालिका भने कुपोषणबाट मृत्यु भएको तथ्याँकमा देखिँदैन। जनस्वास्थ्यको तथ्याङ्कअनुसार जिल्लामा सबैभन्दा बढी कुपोषित बालबालिका भएको स्थानीय तह नै जानकी गाउँपालिका हो। यो गाउँपालिकामा जिल्लाकै सबैभन्दा बढी ९२ जना कुपोषित बालबालिका भेटिएका छन्। उनीहरुको बेलभार र बेलहरी ओटिसीमा उपचार भइरहेको छ। 

मधेशी बाहुल्यता रहेका वडाका बासिन्दामा पोषणबारे चेतनाको अभाव रहेको बताउँछन् जानकी गाउँपालिकाका स्वास्थ्य संयोजक गिरबहादुर गुरुङ्ग । उनी भन्छन्, ‘मधेशी समुदायमा स्वास्थ्यसम्बन्धी चेतनाको निकै अभाव छ। स्थानीय बारीको साग र दूध दही बेच्छन् । बच्चाहरुलाई चाउचाउ, बिस्कुट जस्ता तयारी खाद्यवस्तु दिन्छन् । यसले गर्दा पनि बालबालिका कुपोषणको शिकार भएका छन्।’ 

उपचारात्मक खाना खुवाएमा ४२ देखि ९० दिनसम्ममा कुपोषण ठीक हुने उहाँको भनाइ छ। यससँगै शिशु तथा बाल्यकालीन पोषण कार्यक्रम चलिरहेको छ । यस कार्यक्रममा बच्चालाई खोप लगाउन तथा तौल लिन आएका आमालाई स्वास्थ्यकर्मीले पोषणबारे परामर्श दिन्छन्। कुपोषण हटाउनकै लागि नियमित भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन भइरहेको छ। 

विभिन्न दातृ निकायको सहयोगमा कार्यालयले अन्य कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। कुपोषण हटाउन यी विविध कार्यक्रम भइरहे पनि कुपोषित बच्चाको सङ्ख्यामा कमी आएको छैन। जनचेतनाको कमी, एकदमै धेरै खुवाउने, थोरै खुवाउने चलन, खुवाउने तरीका नजान्ने, मात्रा नमिलाई खाना खुवाउने जस्ता कारण बच्चालाई कुपोषण हुने पोषण पुनःस्थापना गृहकी अनमी देविका देवकोटा बताउँछन्।  

व्यस्त जीवनशैली, अल्छिपना, अनि बजारमा सहजै पाइने बनिबनाउ खाद्यवस्तु खाने प्रवृत्तिले बच्चाहरू कुपोषित भइरहेका छन्। सामान्यतया ६ महिनादेखि १२ वर्षसम्मका बच्चालाई कुपोषण हुने सम्भावना हुन्छ । ६ महिनादेखि दुई वर्षसम्मका बच्चा कुपोषणको अति जोखिममा हुने अनमी देवकोटाको भनाइ छ। सङ्क्रमण, उमेर नपुगी बच्चा जन्मनु, सरसफाइको कमी, गरीबी, अशिक्षा, जनचेतना नहुनुलगायत कारण कुपोषण दर घट्न नसकेको देवकोटाले बताए। 

नेपालगञ्जको भेरी अञ्चल अस्पतालले सञ्चालन गरेको पोषण पुनःस्थापना गृहले पनि एक दशकको अवधिमा १ हजार ३५८ जना कुपोषित बालबालिकालाई भर्ना गरेर उपचार गरिसकेको छ। साविकको मध्य र सुदूरपश्चिमका विभिन्न जिल्लाका बालबालिकालाई उपचार गरिने भए पनि सेवा लिने अधिकाँश बाँकेकै रहेका छन्। मध्य र सुदूरपश्चिम क्षेत्रबाट सम्भवतः कुपोषणको शिकार हुने जिल्लामा बाँके अगाडि आउँछ। 

कुपोषण न्यूनीकरणका लागि बाँके जिल्लामा सरकारले सामाजिक सङ्घ÷संस्थासँगैको साझेदारीमा एकीकृत पोषण कार्यक्रम सुआहारा सञ्चालन गरिरहेको छ। यहाँ कुपोषित बालबालिकाको निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ तर, स्थानीय बासिन्दा भने आफ्ना बालबालिकाको नियमित उपचार गर्न मान्दैनन्। फलतः सुआहारा कार्यक्रम प्रभावहीन जस्तै बनेको छ। 

जनस्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन बस्नेत भन्छन् – ‘गत वर्ष मात्र ६२ जनाले उपचार छोडेका थिए। यस्ता बालबालिका थप जोखिममा पर्छन्।’ जिल्लामा लुकेको अवस्थामा रहेका कुपोषित बालबालिकाको अवस्था डरलाग्दो रहेको हेलेन केलर इन्टरनेशनलका सुआहारा कार्यक्रम संयोजक इन्द्र आउजीले बताए। उनले भने, ‘आफ्नो सन्तान कुपोषणको शिकार हुँदा पनि अभिभावकमा कुनै चिन्ता हुँदैन।’

उनका अनुसार बाँकेमा कुपोषण भयावह अवस्थामा छ। आउजीले भने, ‘मधेशी र मुस्लिम समुदायमा निकै समस्या छ। पाँच वर्षमुनिका धेरै बालबालिकाको मृत्युका कारण कुपोषण नै हो तर सबैको रिपोर्ट सार्वजनीक हुन सकेको छैन । छोरी कुपोषण हुँदा झनै बेवास्ता हुन्छ।’ गरीबी र अज्ञानता कुपोषण न्यूनीकरणका लागि प्रमुख चुनौतीका रुपमा रहेको उनी औँल्याउँछन्।

जिल्ला जनस्वास्थ्य कार्यालय र भेरी अञ्चल अस्पतालको पोषण पुनःस्थापना गृह नेपालगञ्जको तथ्याङ्कअनुसार हाल १ हजार ४०४ जना बालबालिकाको उपचार भइरहेको छ। कुपोषण बहिरङ्ग उपचार केन्द्र (ओटिसी) रहेको भेरी अञ्चल अस्पतालको पोषण पुनःस्थापना गृहमा सबैभन्दा धेरै १३८ बालबालिकाको उपचार भइरहेको छ। त्यसैगरी, बेलहरी स्वास्थ्य चौकीमा ७८ जना र बेतहनी स्वास्थ्य चौकीमा ४४ जना बालबालिकाको उपचार भइरहेको छ। 

त्यस्तै, कारकाँदो स्वास्थ्य चौकीमा २४, गङ्गापुर स्वास्थ्य चौकीमा २३, जयसपुर स्वास्थ्य चौकीमा २३, सोनपुर स्वास्थ्य चौकीमा २०, कालाफाँटा स्वास्थ्य चौकीमा १७, बेलभार स्वास्थ्य चौकीमा १४, कोहलपुर स्वास्थ्य चौकीमा ७, बनकटवा स्वास्थ्य चौकीमा ३ र महादेवपुरी स्वास्थ्य चौकीमा २ जना कुपोषित बालबालिकाको उपचार भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाउँछ। 

त्यस्तै, कम तौलका कारण कुपोषित बालबालिकमध्ये जन्मेदेखि ११ महिनाका मध्यम र कडा कुपोषण भएका ५७४ जना १२ देखि १३ महिनाका मध्यम र कडा कुपोषण भएका ४३७ जना बालबालिका रहेका छन्। आव २०७४÷७५ को तथ्याङ्क अनुसार बाँकेमा ७०० बालबालिकाको मृत्यु भएको देखिन्छ । यो तथ्याङ्कले पनि बाँकेमा कुपोषित बालबालिकाको अवस्था निकै डरलाग्दो रहेको देखाउँछ। 

कुपोषण हटाउन जनचेतना फैलाउन आवश्यक रहेको अस्पतालका चिकित्सक डा कुलदीप गोइतले बताए। उनले भने, ‘जसरी खोपबारे जानकारी गराइयो, सबैले लगाउँछन्, त्यसरी नै पोसिलो आहारको बारेमा जनचेतना फैलाउनुपर्छ।’ बजारमा पाइने तयारी खाना नखुवाउने, मकै, भटमास, गहुँ, चनाजस्ता गेडागुडीको सर्वोत्तम लिटो, दूध र फलफूललाई मात्रा मिलाएर खुवाउने गरे कुपोषण हटाउन सकिन्छ। रासस