अध्यक्ष र उपाध्यक्षको एक अर्कालाई देख्ने बित्तिकै ‘मुन्टो बटार्ने’ अवस्थाले काम कारबाहीमा असर पर्यो । जबकी दुवै जना एउटै पार्टीबाट निर्वाचित भएका थिए । अति नै भएपछि गाउँपालिकाले अर्को गाडी पनि भाडामा ल्यायो । जेठदेखि त्यहाँ दुई वटा गाडी भाडामा चलेका छन् । अध्यक्ष र उपाध्यक्षले एक/एक वटा गाडी चढेका छन् ।
त्यहाँ अझ रमाइलो त के भएको छ भने भर्खरै गाउँपालिकाले एउटा नयाँ गाडी किनेको छ । त्यो नयाँ गाडी चढ्नका लागि न अध्यक्षले मानेका छन्, न त उपाध्यक्षले नै । दुवै जना भाडाकै गाडी चढ्ने अडानमा छन् ।
अध्यक्ष र उपाध्यक्षलाई किन भाडाकै गाडी प्यारो ? स्रोतले भन्यो, ‘गाउँपालिकाले किनेको गाडीमा सरकारी नम्बर प्लेट लाग्छ । त्यो गाडी बिदाको दिन, आफ्नो निजी काम (कार्यक्रमहरु) मा लिएर जान पाइदैन । भाडाको गाडी त जतासुकै लैजान पाइने भएकाले अध्यक्ष र उपाध्यक्ष दुवैले भाडाकै गाडी रोजेका छन् ।’
कहिले गाडी नभएर झगडा त कहिले नयाँ गाडी आएपनि नचढ्ने अडान । यी दुवै घटनाले राप्तीसोनारी गाउँपालिका चर्चामा रहेको छ । अब तीन वटा गाडी त राख्न सकिदैन । भाडाको एउटा त फिर्ता गर्नै पर्छ । स्रोतले भन्यो, अध्यक्ष र उपाध्यक्षले मिलाउनु होला । एउटा गाडी भाडामा लिदा मासिक एक लाख २५ हजार बढी खर्च हुने गरेको छ ।’