/विपद् जोखिम व्यवस्थापनमा सरकार गम्भीर : प्रधानमन्त्री

विपद् जोखिम व्यवस्थापनमा सरकार गम्भीर : प्रधानमन्त्री

Share on Social Media
प्रधानमन्त्री केपी शर्मा ओलीले विनाशकारी भूकम्पबाट पाठ सिक्दै नेपालले विपद् जोखिम व्यवस्थापनको पूर्वतयारीमा राष्ट्रिय नीतिका साथ काम गरिरहेको बताएका छन् ।

विपद् व्यवस्थापनसम्बन्धी एसिया प्रशान्त क्षेत्रीय परामर्श समिति (आरसीसी) को १४औँ बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ०७२ को विनाशकारी भूकम्पपछि तत्काल राहत र पुनस्र्थापनाका साथै पुनर्निर्माणका लागि काम अहिले पनि जारी रहेको बताए ।

उनले अन्य मुलुकका अनुभवलाई समेत ध्यान दिएर समुदाय र अन्तर्राष्ट्रिय क्षेत्रको सहयोगमा पुनर्निर्माणमा सरकार गम्भीरताका साथ लागिरहेको उल्लेख गरे ।

उनले भने, ‘नेपाल सरकार विपद् जोखिम व्यवस्थापन नीति कार्यान्वयनमा प्रतिबद्ध रहेको छ । प्राकृतिक विपदबाट बच्न मानवीय तयारी र भौतिक साधनको संकटबाट कसरी बच्ने र र भावी जीवनलाई कसरी अनुकूल बनाउने भन्नेबारेमा हरेक विपदले पाठ दिइरहेको हुन्छ ।’

प्राकृतिक विपद्को कुनै सीमा र पूर्वानुमान नहुने भएकाले पूर्वतयारी, सूचना, विज्ञान र प्रविधिमा आधारित निर्णय गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले नेपालको भूगोलका आधारमा विपदका विविधतालाई ध्यान दिएर सरकारले पूर्वतयारीका क्रममा आपतकालीन व्यवस्थापन र राहतको व्यवस्थापन गरेको जानकारी दिए ।

गृहमन्त्री रामबहादुर थापाले नेपालमा विभिन्न विपदका कारण दैनिक सरदर तीनजनाको अकालमा ज्यान जाने गरेको बताउँदै विपद्का कारण मानवीय, भौतिक र वातावरणीय क्षति भई गरिबी बढ्ने कारण पनि हुने गरेको उल्लेख गरे ।

गृहमन्त्री थापाले हिमाल पग्लने र भारी वर्षाका कारणले पनि विपद् वृद्धि हुने गरेको उल्लेख गरे । गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले विभिन्न प्रकारका विपद्का कारण मुलुकको कुल गार्हस्थ उत्पादनमा करिब दुई प्रतिशतले ह्रास आउने गरेको बताए ।

एसिया प्रशान्त क्षेत्रमा विपद् व्यवस्थापनसम्बन्धी २६ मुलुकका निकायका प्रतिनिधि र साझेदार संस्थाका प्रतिनिधिबीचको सहभागिता रहेको बैठकमा दिगो विकास र विपद् व्यवस्थापन अनुकूलनबारे छलफल हुनेछ । बैठकमा आरसीसी कमिटीका अध्यक्ष मुहम्मद इड्रे (पाकिस्तान) ले नेपाललाई अध्यक्षता हस्तान्तरण गरेका थिए ।

तीन दिनसम्म सञ्चालन हुने यस बैठकमा एसियाली विपद् पूर्वतयारी केन्द्रका सदस्यराष्ट्रहरूसहित विश्वका करिब ३० देशका १५० जनाको सहभागिता रहेको छ ।

विपद् व्यवस्थापनसम्बन्धी एसिया प्रशान्त क्षेत्रीय परामर्श समिति विपद् जोखिम व्यवस्थापन र न्यूनीकरण तथा जलवायु अनुकूलनसम्बन्धी क्षमता अभिवृद्धिका सम्बन्धमा छलफल हुनुको साथै अनुभव आदानप्रदान हुने गर्दछ । एसियाली विपद् पूर्वतयारी केन्द्रका सदस्यराष्ट्रहरूबीच विपद् जोखिम न्यूनीकरणका लागि सेन्डाई संरचना, दिगो विकास लक्ष्य र जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताले निर्दिष्ट गरेका मानवियतासम्बन्धी निर्णयहरूको कार्यान्वयनबारे बैठकमा छलफल हुनेछ ।

यसअघि यस किसिमको बैठक सन् २००० र २००१ मा थाइल्यान्ड, सन् २००२ मा भारत, सन् २००४ मा बंगलादेश, सन् २००५ भियतनाम, सन् २००६ मा चीन, सन् २००७ मा श्रीलंका, सन् २०१० मा फिलिपिन्स, सन् २०१० मा कम्बोडिया, सन् २०१३ मा मंगोलिया, सन् २०१४ मा म्यानमार, सन् २०१५ मा भुटान र सन् २०१६ मा पाकिस्तानमा आयोजना गरिएको थियो ।

Share on Social Media