/अमलेखगञ्ज-मोतिहारी पेट्रोलियम पाइप लाइन निर्माण कार्य अन्तिम चरणमा

अमलेखगञ्ज-मोतिहारी पेट्रोलियम पाइप लाइन निर्माण कार्य अन्तिम चरणमा

Share on Social Media
वीरगन्ज , नेपाल र भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना कार्यालय सिमराका अनुसार नेपालतर्फको ३९ दशमलब दुई किलोमिटर भू–भागमध्ये २१ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ । तीव्र गतिमा बाँकी काम भइरहेकाले बढीमा तीन महीनाभित्र काम सम्पन्न भई भारत बिहारको राजधानी पटनाबाट पाइप लाइनमार्फत पेट्रोलियम पदार्थ ल्याउन सकिने बताउँछन् परियोजना कार्यालय सिमराका इञ्जिनीयर शरदप्रसाद पौडेल ।

‘ नेपालतर्फ अब १८ दशमलब दुई किलोमिटर पाइप बिछ्याउने काम बाँकी रहेको छ । बाँकी रहेको भू–भागमध्ये पर्सा राष्ट्रिय निकुञ्जमा आठ किलोमिटर, नाला स–साना पुल–पुलेसा, नदी, क्रसिङ सडक, गण्डक क्षेत्रमा पाइप लाइन बिछ्याउन बाँकी रहेको छ । निकुञ्जभित्र रहेको करीब पाँच हजार रुख काट्ने काम निकट भविष्यमै हुने तथा भारतको मोतिहारीदेखि रक्सौलसम्म ३३ दशमलव ७ किलोमिटरमध्ये मोतिहारी रक्सौल क्षेत्रमा टुक्राटुक्री काम बाँकी रहेको परियोजनाको कार्यालय सिमराले जनाएको छ ।

जीतपुर परवानीपुर क्षेत्रमा करिब दुई किलोमिटर क्षेत्रमा बाधा अवरोध आएकाले सो क्षेत्रमा बोरिङ प्रविधिमार्फत पाइप गाड्ने काम भइरहेको पनि परियोजनाका इञ्जिनियर पौडेलले जानकारी दिए ।  ७० किलोमिटर लम्बाइको सो पाइप लाइन निर्माणको लागि भारत सरकारले ३५० करोड भारतीय रुपैयाँ लगानी गरेको छ ।

गत चैतको अन्तिम साता भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्त रुपमा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको शिलान्यास गरेका थिए । 

यो प्रोजेक्ट सञ्चालनमा आएपछि नेपाल भारतको रक्सौल नाकामा देखिने जामको समस्या हट्नुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता हटेर जाने विश्वास जानकारले लिएको छ ।

Share on Social Media