/राउटे समुदायलाई कम्मल र खानेकुरा वितरण

राउटे समुदायलाई कम्मल र खानेकुरा वितरण

Share on Social Media

सुर्खेत। जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई कर्णाली प्रदेश प्रहरी श्रीमती संघले कम्मल र खानेकुरा वितरण गरेको छ । लेकवेशी नगरपालिका–७ स्थित थोत्रीखोलामा पुगेर संघले राउटे समुदायलाई ७० वटा कम्मल र खानेकुरा वितरण गरेको हो । राउटे समुदाय एकसरो कपडामा जंगलमा पाल टाँगेर बस्छ । ‘जाडो मौसमलाई ध्यानमा राखेर राउटे समुदायका लागि कम्मल वितरण गरेका हौं’ कर्णाली प्रदेश प्रहरी श्रीमती संघका अध्यक्ष महिमा शाहले भनिन्, ‘आगामी दिनहरुमा पनि यो समुदायलाई सहयोग गर्दै जानेछौं ।’ अध्यक्ष शाहले अहिलेको जमानामा पनि जंगलमा कष्टकर जीवन बिताउँदै आएको राउटे समुदायलाई सबैको सहयोगको खाँचो रहेको बताइन् ।

‘राउटे समुदायलाई समाजको मूलधारमा ल्याउन आवश्यक देखिन्छ’ कम्मल वितरण कार्यक्रममा उनले भनिन्, ‘२१ औं शताब्दीमा पनि नाङ्गै, भोकै जंगलमा जीवन बिताउने समुदायका बारेमा राज्यका निकायहरुले ध्यान दिन आवश्यक छ ।’ लेकवेशी नगरपालिकाका प्रमुख गगनसिं सुनारले दाङदेखि अछामसम्म बस्ती सर्दै हिंड्ने राउटे समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन आवश्यक रहेको बताए । उनले राउटे समुदायका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले एकीकृत कार्यक्रम ल्याउन आवश्यक रहेको बताए ।

‘उनीहरुको पेशा, संस्कृति र भाषालाई बचाउँदै सहज जीवनयापनका लागि राज्यका तीन वटै तहले एकीकृत कार्यक्रम ल्याउन आवश्यक छ’ मेयर सुनारले भने, ‘अहिलेकै अवस्था रहेमा केही वर्षभित्र यो समुदाय लोप हुने देखिन्छ ।’ मुखिया सूर्यनारायण शाहीले समुदायमा खाद्यान्न संकट रहेको बताए । उनले गुँसार गाउँपालिकाले चार महिनादेखि भत्ता उपलब्ध नगराउँदा आउने १५ गतेको दोस्रो ठूलो पर्व मनाउन आफूह्रुलाई समस्या भइरहेको बताए । ‘ठूलो पर्व आउँदैछ, त्यसका लागि खाद्यान्न र प्रत्येक घरमा खशी चाहिन्छ’ मुखिया शाहीले भने, ‘अहिलेसम्म भत्ता पाएका छैनौं, जनता पाल्न गाह्रो भइसक्यो ।

Share on Social Media