नेकपामा ३०० केन्द्रीय सदस्य बेरोजगार,रोजगार दिने नेता बेरोजगार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र रहेका तीन सय बढी केन्द्रीय सदस्यहरू पार्टी कामबाट बिमुख हुँदा बेराेजगार बन्न पुगेका छन् ।

सचिवालय बैठकले केन्द्रीय कमिटी सदस्यलाई काम दिने र प्रदेश कमिटीमा सदस्यहरूको चयन गर्ने भने पनि स्थायी समितिको बैठकसमेत लामाे समय स्थगित भएको छ । प्रधामन्त्री, मन्त्री, प्रदेश इन्चार्ज र केही थान समिति सभापति राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्ष र सभामुख उपसभामुखबाहेकका अन्य सबै केन्द्रीय सदस्यहरू बेरोजगार भएको लामो समय भएको छ ।

४४१ सदस्य केन्द्रीय समिति रहेको नेकपाभित्र जिम्मेवारी बाँडफाँटमा ढिलाइ हुँदा तीव्र असन्तुष्टिसमेत बढेको छ । केही दिनदेखि जारी रहेको सचिवालय बैठकसमेत नियमित रूपले बस्न सकेको छैन । यही कात्तिक १२ र १३ गते बस्ने भनिएको स्थायी समिति बैठकसमेत पछि धकेलिएको छ । स्थायी समिति बैठकको आवश्यक तयारी पूरा नभएको भन्दै पछि धकेलिएको नेकपा स्रोतले जनाएको छ ।

पार्टी अध्यक्ष केपी ओली विरामी परेको तथा केही प्रभावशाली स्थायी समिति सदस्यहरू बैठकमा उपस्थित नहुने अवस्था आएका कारण सो बैठक स्थगित गरिएको नेकपा निकट स्रोतको दाबी छ । नेकपाको सचिवालय बैठकले महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापालाई प्रदेश कमिटीका सदस्य चयन र केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने जिम्मेवारी दिएको थियो ।

नेकपा एमाले र नेकपा माओवादी (केन्द्र)बीच एकता घोषणा भएको ६ महिना बित्दासमेत पार्टीका सांगठनिक संरचनाहरूमा एकता हुन सकेको छैन । पार्टीको नाम एउटै राखेर काम गरिए पनि पार्टी एकीकरण भइसकेको छैन । पार्टीको आन्तरिक संगठनहरू पनि आ–आफ्नै तरिकाले काम गर्दैछन् भने संसदीय दल पनि दुवै पार्टीको फरक फरक स्थानमा रहेको छ । सांगठनिक एकताका लागि बारम्बार छलफल गरिए पनि दुबै पक्षको अडानका कारण एकता हुनसकेको छैन । त्यसभित्र पनि तत्कालीन एमालेको माधवकुमार नेपाल गुट सशक्त भएर आएको छ । जसले गर्दा सांगठनिक एकतामा तीनवटा समूह प्रस्ट रूपमा देखिएको छ ।

यसअघि बसेको नेकपाको सचिवालय बैठकले निर्णय लिन नसकेपछि पार्टीका महत्वपूर्ण र विवादित विषयमा निर्णय लिने अधिकार दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियो । अध्यक्षद्वयको निर्णय पनि विवादित बन्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×