नियमित रुपमा जमराकाे जुस सेवनबाट गम्भीर प्रकृतिका अर्बुद (क्यान्सर) जस्ता रोगसँगै कोलेस्टेराेल, उच्च रक्तचाप, मधुमेह र ग्यास्ट्रिकका बिरामीलाई निकै फाइदा पुग्ने विश्वासका साथ यसको सेवन गर्नेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ ।

नेपाल आयुर्वेद चिकित्सक सङ्घका अध्यक्ष डा प्रकाश ज्ञवाली जमरा जु्सको नियमित सेवनबाट रोग प्रतिरोधी क्षमता बढाउन ठूलो योगदान पुग्ने बताउँछन् । उनी भन्छन् – ‘जमरा आफैंमा औषधि नभए पनि जमराको जुस तोकिएको मात्रामा नियमित सेवन गरिए पहिले निको भइसकेको रोग फेरि फर्कने सम्भावना रहन्न । दैनिक सेवन गर्नुपर्ने मात्रा करीब ३० एमएल हो ।’

वर्षको एकपटक दशैंमा फूलप्रसादका लागि पूजाकोठामा धार्मिक विधि पुर्याएर राखिने जमराको अहिले शहरमा मात्र होइन, गाउँमा समेत व्यावसायिक खेती हुन थालेको छ । हेटौँडा उपमहानगरपालिका लामसुरेका नानू अधिकारी, शोभा कोइराला, लक्ष्मी घिमिरे र सावित्रा महतले समूह बनाएरै जमराको जुसको व्यवसाय थालेका छन् ।

उहाँहरुले घर नै भाडामा लिएर व्यवसाय गरिरहेका छन् । आयुर्वेद विज्ञानले गुणकारी अङ्कुरको रुपमा लिएको जमराको जुस पिउन पाँच किलोमिटरसम्म हिँडेर ग्राहक आउने गरेको शोभा बताउँछिन् । लामसुरेमा सञ्चालित उक्त जुस पसलका लागि महिनामा झण्डै एक क्विन्टल जौ र गहुँको बीउबाट जमरा उत्पादन हुँदै आएको बताउँछिन् व्यवसायी लक्ष्मी ।

हिजोआज स्वास्थ्यप्रतिको सचेतनामा वृद्धि भएर होला, बिहान सबेरको हिँडाइपछि जमराको जुस र सादापानी खानु हितकर हुन्छ भन्ने बुझाइ आमनागरिकमा बढ्दै गएको छ ।

विकल्प जमराकाे जुस

पछिल्लो समय चियाको साटो जमरा जुस पिउने नागरिकको सङ्ख्यासमेत बढ्दै गएको जमरा जुस बिक्री गर्दै आएका ऋषि दाहाल बताउँछन् । जमरा जुसको नियमित सेवनबाट आँखाको ज्योति बढ्ने, आन्द्रामा घाउ नहुने, शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने तथा पाचन शक्तिलाई सन्तुलित तुल्याउन योगदान दिने उनको बुझाइ रहेको छ ।

साैभाग्य र स्वास्थ्यका लागि 

जौ आफैंमा पनि विश्वका प्राचीनतम अन्नहरुमध्येको एक हो । औषधिका रुपमा खाने जमरा जुसका लागि जौ र गहुँ मात्रै प्रयोग हुने गरेको पाइएको छ । शिरमा लगाउँदा र कानमा सिउरिँदा सुख, समृद्धि र शान्ति एवं साैभाग्य प्राप्त हुने विश्वास गरिएको जमराको जुस स्वास्थ्यका लागि अत्यन्त लाभकारी हुने कुरामा कसैमा द्विविधा देखिँदैन ।

तर जमराको सरसफाइमा आवश्यक ध्यान पुर्याउन नसकिएको खण्डमा भने पानीबाट सर्न सक्ने रोग संक्रमणको सम्भावना रहन्छ । कतिपय स्थानमा एकाबिहानै ५–७ किलोमिटर टाढादेखि हिँडेर जमराको जुस पिउन आउने गरेको चर्चा पनि सुन्नमा आएका छन् । होटलमा महिनावारी खाना खाएजस्तै मासिक ३० एमएल जुस पिउनेहरुबाट रु एक हजार लिने गरिएको व्यवसायीहरु बताउँछन् ।

जौको तुलनामा गहुँका जमराको जुस बढी रुचाइने भए पनि स्वास्थ्यका हिसाबले जौको जमरा नै गुणकारी मानिन्छ । तथापि गहुँकै जमरा जुस खानेको सङ्ख्या बढी हुने गरेको व्यवसायीहरु दावा गर्छन् । गहुँ होस् वा जौ, दुवै जमराको ३० एमएल जुस रु ५० का दरले बिक्री भइरहेको भेटिन्छ ।

छाेक्रा पनि लाभकारी

जमराको जुस मात्र होइन, जुस निकालेर बाँकी रहेको छोक्रा पनि स्वास्थ्यका हिसाबले लाभकारी मानिन्छ । छोक्रालाई धुलो बनाएर बेच्ने पनि गरिन्छ । जौको जमराबाट बनेको धुलो नियमित सेवन गरेमा पाचन शक्ति बढ्ने विश्वास गरिएको छ । जौको अङ्कुर प्रिय वस्तु भएकाले दुर्गा भवानीलाई चढाएर टीका प्रसादसँगै पहेँलो जमरा लगाउने नेपाली समाजको धार्मिक परम्परा रहिआएको छ ।

जमरा समृद्धिको प्रतीकका रुपमा लिने गरिन्छ । दशैंमा सामाजिक र कुल परम्पराअनुसार समुदाय विशेषका आधारमा कतिपयले जौको मात्रै जमरा राख्छन् भने कतिपयले जमराका लागि गहुँ, धान र मकै पनि मिसाउने गरेको पाइन्छ । दशैंमा विभिन्न देवीका मन्दिर तथा दरबारमा जमरा राख्ने चलन रहिआएको छ । गाउँघरमा देवीका मठमन्दिर, कुमारी घर, कोतघर तथा घरमूलीकहाँ जमरा राख्ने गरिन्छ । खबरसाथी