/महिलाका समस्याको मुख्य कारक मदिरा

महिलाका समस्याको मुख्य कारक मदिरा

Share on Social Media

उपप्रमुख, साँफेबगर नगरपालिका अछाम

महिलाको सवालमा सबैभन्दा बढी हुने भनेको हिंसा नै हो । साँफेबगर नगरपालिकामा सबैभन्दा बढी हिंसा हुने कारण मदिरा हो । पुरुषले मदिरा सेवन गरेर दिनभरी हल्लिने साँझ घरमा आएर श्रीमतीलाई पिट्ने गर्छन् । यसले महिला मात्रै होइनन्, बालबालिका पनि उत्तिकै जोखिममा छन् ।

मदिरा नियन्त्रण गर्नको लागि जिल्ला समन्वय समितिदेखि लिएर नगरपालिकाका विभिन्न वडामा छलफल गरिरहेका छाैँ। हुन त पहिलेको जस्तो चरम हिंसामा यहाँका महिला छैनन् । विस्तारै महिला स्वयं पनि बुझ्दै छन् भने पुरुषमा पनि यो चेतना आइसकेको छ ।

हामी नगरपालिकाका विभिन्न वडामा गर्ने छलफलमा पनि महिलासँग छलफल गर्ने गर्छौं । तपाईहरुका समस्या के छन् भनेर सोध्ने गरेका छौँ ।

हिजो अस्तिको जस्तो अब छैन । यदि तपाई कसैलाई केही समस्या छ भने हामीलाई भन्नुहोस् हामी तपाईलाई न्याय दिलाउँछौ भन्दै हामी छलफल गर्ने गरेका छौं ।

विद्यालय उमेरका किशोर, युवाहरुले पनि मदिरा सेवन गर्ने गरेको पाइन्छ । भने, कतिपय कर्मचारी मदिरा सेवन नै गरेर कार्यलयमा जाँदा कार्यलयको कामकाज नै प्रभावित हुने गरेको छ । त्यसैले अफिस, विद्यालय जाने समयमा मदिरा बिक्री वितरणमा रोक लगाएका छौँ ।

मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका ६ बजेपछि मात्र मदिरा बेचविखन गर्न पाईने नियम बनाएका छौँ । त्यो समय भन्दा तलमाथि मदिरा बेचविखन गरेको पाइएमा जरिबाना तिर्नुपर्ने हुन्छ ।

नगरपालिकाले महिला नेतृत्व विकासका लागि सीपमुलक आय आर्जन लगायतका विभिन्न क्षमता विकासका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

‘कपालदेखि कम्प्युटर’ शिर्षकमा आवश्यक बजेट छुट्याएर काम गरिहेका छौँ । महिलाले आयआर्जन सीप मात्रै सिकेर हुँदैन विभिन्न प्रविधिमा पनि जोडिनुपर्छ भन्दै महिलाहरुका लागि कम्प्युटर तालिम दिएका छौं ।

नगरपालिकाका महिलाहरु सबैलाई एकै पटक सम्भव नभएकाले वडा वडाबाट महिला छनौट गरेर कम्प्युटर सिकाईरहेका छौँ । तीन महिनाको बेसिक कोर्स सिकाएर राम्रो नम्बर ल्याउनेलाई पुरस्कार पनि दिएका छौँ ।

महिला दिदीबहिनीहरुका लागि साँफेबगर नगरपालिकाले अब मोबाइल एप निर्माण गर्दैछ । आफु माथि भएको हिंसाबारे घरमै बसेर पनि जानकारी गराउनका लागि एपले सहयोग गर्ने छ भन्ने हामिले विश्वास लिएका छौँ ।

नगरपालिका भित्र रहेका दलित, महिला, युवा, बालबालिकाहरुलाई मध्यनजर गर्दै नगरपालिकाले आवश्यक बजेट विनियोजन गरि उनीहरुको क्षमता अभिबृद्धिका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

महिलाको जबसम्म आर्थिक अधिकार हुँदैन तबसम्म अवस्था कमजोर हुन्छ । आर्थिक अवस्था बलियो बनाउन सबैभन्दा पहिले हातमा सीप हुनुपर्छ । त्यही सीप सिकाउन हामीले महिलालाई, सिलाई कटाइ, लगायतका विभिन्न सीपमुलक तालिम दिरहेका छाँै जसबाट उनीहरुले आयआर्जन गर्न सकुन् ।

नगरपालिका भित्रका सबै महिलालाई हामीले रोजगार दिन सक्दैनाैं । हामीले गरिब, एकल, पछाडी परेका, एकल महिलालाई लक्षित गर्दै सीपमुलक तालिम दिइरहेका छौं । जसले यो तालिम लिएर पछिसम्म आत्मनिर्भर बन्न सकुन् ।

थोरै लगानीबाट भोलीका दिनमा केही गर्न सकुन् । अरुको अगाडि हात थाप्न नपरोस् । आर्थिक पहुँचमा महिला नहुँदा उनीहरुले विभिन्न किसिमका हिंसा सहनु परेको हामीले देखिरहेका छौँ ।

साँफेबगर नगरपालिकाले सुचना केन्द्र पनि स्थापना गरेको छ । नगरपालिकामा भइरहेका क्रियाकलापबारे नगरका नागरिकले जानकारी पाउन् भन्ने उद्देश्यले सुचना केन्द्रको स्थापना गरिएको हो ।

अछामलाई बदनाम गर्ने छाउपडी

छाउ प्रथा देशभर छ । काठमाडौंमा पनि यो प्रथा छ । तर, सुदुरपश्चिम त्यसमा पनि अछाम जिल्लालाई छाउपडीको नाममा बदनाम पारिएको छ यसमा मेरो आपत्ती छ ।

जति छाउपडीको नाममा अछामको गलत प्रचार भएको छ । यस्तो कदापी छैन । अहिले यहाँका नागरिक पनि सचेत भइसकेका छन् । आफ्ना महिला दिदीबहिनीहरुलाई कसरी सुरक्षित तरिकाले राख्ने भन्नेमा पुरुष दाजुभाइहरुपनि लागिरहेका छन् ।

अझै पनि छाउगोठमा बस्ने चलन कतै छ भने यसको लागि पनि हामीले खोजबिन गरिरहेका छौँ । खोजबिनका लागि साँफेबगर नगरपालिकाका हरेक वडामा निगरानी समिति गठन गरेका छौँ ।

यो समितिले आ–आफ्नो वडा टोलमा भएका समस्याबारे निगरानी गर्ने काम गरिरहेको छ । अझै यो चलन कतै छ भने हामी जनचेतनामुलक लगायतका के कार्यक्रम सञ्चालन गर्नुपर्ने हो त्यसका लागि लागिरहेका छौँ ।

महिलाहरु महिनावारी भएको बेला कहाँ, कसरी बसिरहेका छन् भन्नेबारे नगरपालिकाले सबै वडामा गएर अनुगमन गर्ने काम जारी राखेको छ । अनुगमनका क्रममा साँफेबगर नगरपालिकाको वडा नम्बर १२ खप्तडमा जाँदा त्यहाँका सबै महिला बच्चा जन्माउँदा वा महिनावारी हँुदा घरमै बस्ने गरेको पाइयो । त्यही उदाहरण हामी सबै वडामा दिएर चेतना जगाई रहेका छौँ ।

जसले महिला महिनावारी हुँदा गोठमा राख्छ उसलाई नगरबाट दिने सेवा सुबिधाबाट वञ्चित गरिने निर्णय पनि नगरपालिकाले गरेको छ ।
न्यायिक समितिको संयोजक पनि म आफै छु । अहिले यहाँका महिला आफुमाथि कसैले हिंसा, दुव्र्यवहार गरे नगरपालिकामा आउनुहुन्छ । अनि हामी कस्तो समस्या हो ? कसले के गरेको हो ? भन्ने खोजबिन गर्छौं ।

पीडा दिने व्यक्ति र पीडा पाएको मान्छे दुबैजनालाई बोलाएर छलफल गर्ने गर्दर्छौं । सामान्यतया साँफेबगर नगरपालिकामा श्रीमान् श्रीमती, सासू बुहारीका घटना आउने गर्दछन् । यस्ता घटना हामी दुवैपक्ष बेलाएर मेलमिलाप गर्ने गर्दछौँ । नगरपालिकामा नमिल्ने ठुला मुद्धा भए वकिल बोलाएर पनि हामी छलफल गर्ने गरिरहेका छौँ ।

महिलाखबरबाट

Share on Social Media