/जनयुद्धका घाईतेलाई दशैंमा घर जाने खर्चको अभाव

जनयुद्धका घाईतेलाई दशैंमा घर जाने खर्चको अभाव

Share on Social Media

जनयुद्धका घाईतेहरुलाई दशैमा घर जाने खर्चको अभाव भएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीले चलाएको जनयुद्धका क्रममा भएको लडाईमा घाईते भएकाहरुलाई अहिले दशैंमा घर जाने खर्चको अभाव भएको हो । काठमाडौंमा उपचार गर्न आएका जनयुद्धमा घाईते भएकाहरु अहिले दशैंमा घर जाने खर्चको जोहो गर्न सिंहदरबार भौतारि रहेका छन् । उनीहरु जनयुद्धमा आफूलाई लडाईंमा पठाउने र आफ्नो बलिदानले मन्त्री भएकाहरुसंग आर्थिक सहयोगका लागी सिंहदरबारभित्र भौतारि रहेका हुन् । 

“जनयुद्धमा लडाई गर्न प्रेरित गर्ने नेताहरु अहिले मन्त्री छन् । तर आफ्नो ज्यान खुकुरीको धारमा राखेर हामी लडाई लड्नेहरुको अहिले बिजोग भएको छ ।” काठमाडौंमा उपचारका लागी कालीकोटबाट आएकी अस्मीता धामीले बताईन् ।

सिंहदरबारभित्र भेटिएकी उनी २०५८ सालमा महिला छापामारको रुपमा काम गर्दै माओवादीले निर्माण गरेको जनमुक्ति सेनाको बटालियन सह कमाण्डरको रुपमा काम गरेकी थिईन् । उनले भनिन्, “लडाईमा नेताहरु सयौं कोष टाढा बसेर आफुहरु सुरक्षित हुन्थे , हामी जस्तै कयौं साथीहरु लडाईको मोर्चामा भिड्थे । कतिपय साथीहरु मृत्युवरण गर्थे , कयौं घाईते हुन्थे । नेताहरु भने महान शहिद भन्दै हामीलाई उत्साहित पार्थे । अहिले उनीहरु मन्त्री छन् । चिल्ला गाडीमा सयर गर्छन् । हामी घाईतेको बिजोग छ । ”

 काठमाडौंमा उपचारका लागी भन्दै देशका बिभिन्न भागबाट आएका जनयुद्धका घाईतेको संख्या झण्डै २ सयको हाराहारीमा छ । उनीहरु बबरमहल र संखमुलमा सामुहिक रुपमा बसीरहेका छन् । उनीहरुले माओवादीबाट मन्त्री भएका रामबहादुर थापा बादल , बर्षमान पुन अनन्त , मातृका प्रसाद यादव , चक्रपाणी खनाल बलदेव , शक्ति बस्नेत लगायतका नेताहरुलाई भेट्न पटक पटक सिंहदरबार पुगेपनि भेट्न नपाएको गुनासो गरेका छन् । आफुहरुले भेट्न नपाएकोमा आक्रोशित हुँदै जनयुद्धका घाईतेहरुले मातृका प्रसाद यादवका प्रमुख स्वकिय सचिवमाथि आक्रमण समेत गरेका थिए । त्यसपछि मात्रै आफुले भेट्न पाएको घाईते रत्न दर्जी प्रबलले बताए ।

जनयुद्धका घाईतेहरुको माग

मुलुकभरिबाट जनयुद्धमा सहभागी भएर घाईते भएकाहरुले अहिले आफुलाई मासिक जिवन निर्बाह भत्ता उपलब्ध गराउन माग गरिहरका छन् । उनीहरुले घाईतेको अबश्था हेरि मासिक १० हजारभन्दा माथि जिवन निर्बाह भत्ता मिलाई दिन माग गरेका छन् । यसैक्रममा उनीहरुले नेपाल कम्युनिष्ट पार्टी नेकपाका पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली ,अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादललाई भेटी आफ्ना माग हरु पेश गरेका छन् । जवाफमा प्रधानमन्त्री ओली र गृहमन्त्री थापाले नियमावलि बनाएर तीन महिनाभित्र घाईतेहरुको माग संबोधन गर्ने आश्वासन दिएका छन् । त्यो आश्वासन मात्रै हो कि साँच्चै उनीहरुले घाईतेका माग संबोधन गर्ने हुन् भन्ने आफुहरुलाई शंका लागेको जनयुद्धका घाईते संघर्ष समितिका अध्यक्ष युवराजले बताए ।

माग पुरा नभए आन्दोलन गर्ने तयारी

जनयुद्धका घाईते भएकाहरुले आफुहरुका माग पुरा नभए आन्दोलन गर्ने चेतावनी पनि नेताहरुलाई दिएका छन् । उनीहरुले घाईतेको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्नु पर्ने , उपचारका लागी काठमाडौंमा बस्ने र खाने व्यवस्था गर्नुपर्ने , दशैंका लागी घर जान र काठमाडौं आउनका लागी आर्थिक सहयोग गर्नुपर्ने , मासिक जिवन निर्बाहा भत्ताको व्यवस्था गर्नुपर्ने लगायतका माग राखि आन्दोलन गर्ने चेतावनी नेताहरुलाई भेटमा दिएका हुन् । कतिपय घाईतेहरुको अबश्था नाजुक भएकाले उनीहरुको घर परिवारलाई पनि आर्थिक सहयोग गर्नुपर्ने उनीहरुको माग छ ।

लडाईको बेला चार कोष टाढा बस्थे नेताहरु

पूर्व लडाकु तथा घाईते महानले भने , “देशका बिभिन्न ठाउँमा भएका लडाईका बेला नेताहरुलाई जनसेनाहरुले कडा सुरक्षा दिन्थे । त्यतिले पनि उनीहरुलाई पुग्दैन थियो । उनीहरु आफ्नो सुरक्षाका लागी लडाईका बेला ४ कोष टाढा बस्ने गर्थे । अहिले तिनै नेताहरु आफ्नो नाजुक अबश्थाबाट ४ कोष टाढा बस्ने गरेका छन् । यस्तो कार्यको हामी निन्दा गर्दछौं । ” उनले नेताहरुको बद्लीएको व्यवहार र आचारणको कडा निन्दा गर्दै अगाडी भने , “गणतन्त्रका लागी लडाई गरेर आधा ज्यान गुमाउने हामी , अहिले नेताहरु मस्तीमा छन् । हामीलाई त्यतिबेर्ला मुक्ति या मृत्युको पाठ सिकाउने गरेका थिए तर अहिले उनीहरुको मुक्ति भएको छ , हाम्रो बेहाल छ , घरपरिवारको अबश्था नाजुक छ । नेताहरु हाम्रो लागी केही पनि गर्दैनन् । उनीहरुलाई भेट्न नै गाह्रो छ ।

अब आन्दोलन गर्नुको बिकल्प नै छैन 

त्यस्तै अर्का घाईते मिनबहादुर शाही सचेतले कम्मरको घाऊ देखाउँदै भने , “अहिले सिंहदरबारमा नयाँ झोलेहरुको बिगबिगी छ , हामी रगत , पसीना बगाएकाहरुको अबश्थाप्रति नेताहरुको ब्यवास्ता छ । हामी यो कुरा स्वीकार्दैनौं । फेरि लडाई गर्नुपरे पनि अब नेताहरुबिरुद्ध गर्नेछौं । ”

Share on Social Media