/बढी भाडा असुल्नेविरुद्ध तुरुन्त उजुरी गर्न आग्रह, कलंकीका सबै काउन्टर हटाउने तयारी

बढी भाडा असुल्नेविरुद्ध तुरुन्त उजुरी गर्न आग्रह, कलंकीका सबै काउन्टर हटाउने तयारी

Share on Social Media
दशैं मान्न काठमाडौं उपत्यकाबाट घर जाने यात्रुको चाप बढ्दै गएको छ। यही मौका छोपेर यात्रुसँग बढी भाडा असुल्ने भएकाले त्यस्ताविरुद्ध तुरुन्त उजुरी गर्न सरकारले आग्रह गरेको छ।

सरकारले गाडीभाडामा १० प्रतिशत वृद्धि गरेपछि यसैको बहाना बनाएर बिचौलियाहरूले यात्रु ठगिरहेको पाइएकाले सरकारले यस्तो आग्रह गरेको हो।

कसैले बढी भाडा असुलेको पाइए तुरुन्त नजिकैका ट्राफिक प्रहरी वा यात्रु सहायता कक्षमा उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए।

उजुरी आएमा यात्रु ठग्नेलाई तुरुन्त कारबाही गरिने उनको दाबी छ। उनले नेपालखबरसँग भने, ‘तर यात्रुबाट यस्ता उजुरी खासै आउने गरेका छैनन्, फाट्टफुट्ट मात्र आएका छन्।’ 

यस्तै कलंकीमा बिचौलियाहरूबाट यात्रु बढी ठगिने गरेकाले कलंकीका सबै टिकट काउन्टर हटाउने तयारी सरकारले गरेको छ। ट्राफिक प्रहरीसँगको सहकार्यमा कलंकीका काउन्टर हटाउने तयारी गरिएको प्रवक्ता उपाध्यायले बताए।

उपत्यकाबाट विभिन्न जिल्लामा जाने गाडीलाई अब नयाँ बसपार्कबाट मात्रै छुट्न दिइने यातायात व्यवस्था विभागले जनाएको छ। यस्तै कोटेश्वरमा रहेको काउन्टरबाट पनि यात्रु ठगिएको गुनासो आएकाले अनुगमन थालिएको विभागले जनाएको छ।

साथै काउन्टरमा बस्ने कर्मचारीलाई अनिवार्य कार्डको व्यवस्था गर्न पनि निर्देशन दिइएको विभागका प्रवक्ता उपाध्यायले  जानकारी दिए।

उनले भने, ‘कार्ड नहुँदा यात्रुलाई टिकट काट्ने आधिकारिक व्यक्ति थाहा नहुने भएकाले बिचौलिया हावी हुन्छन् र बार्गेनिङ गरेर यात्रु ठग्छन्। यसैले कार्ड अनिवार्य गर्न भनिएको छ।’
यस्तै आजबाट साझा यातायतले पनि दशैंका लागि अग्रिम टिकट बुकिङ खुलाएको छ।

Share on Social Media