आजबाट नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण शुरु गरेको छ । राष्ट्र बैंकले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै आजदेखि असोज २९ सम्मका लागि नयाँ नोट सटहीको सुविधा प्रदान गर्न लागेको हो ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार नयाँ नोट ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २–२ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म प्रतिव्यक्ति सटही सुविधा दिइएको छ । ‘सर्वसाधारण नेपालीले नयाँ नोट राष्ट्र बैंकको केन्द्रीय, क्षेत्रीय कार्यालय तथा केही वाणिज्य बैंकहरुबाट साट्न सक्नेछन् ।’ उनले भने, ‘नयाँ नोट नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नोट सटही गर्न सक्ने व्यवस्था मिलाएका छौं ।’

यस्तै, राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकका काठमाडौं उपत्काभित्र रहेका शाखाहरुले पनि नोट सटहीको सुविधा मिलाएको छ । राष्ट्र बैंकले उपत्यका बाहिर पनि क्षेत्रीय कार्यालयसहित नोट कोष रहेका वाणिज्य बैंकका शाखाबाट समेत सटही गर्ने व्यवस्था मिलाएको छ । राष्ट्र बैंकले नयाँ नोटमा केरमेट तथा काम नलाग्ने गरी जथाभावी प्रयोग नगर्न अनुरोध गरेको छ ।