/एसएसपी लोहनी सहित खनाल र केसीको निलम्बन फुकुवा

एसएसपी लोहनी सहित खनाल र केसीको निलम्बन फुकुवा

Share on Social Media

काठमाडौं – गृह मन्त्रालयले साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्यापछि निलम्बनमा परेका नेपाल प्रहरीका दुई अधिकृतको निलम्बन फुकुवा गरेको छ । २०७५ वैशाख १६ गतेदेखि लागू हुनेगरी निलम्बनमा परेका एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको निलम्बन फुकुवा गरिएको गृह सचिव प्रेमकुमार राईले बताए ।उच्च अदालत विराटनगरले गत साता पुर्पक्षका क्रममा कारागारमा रहेका एसएसपी लोहनी, एसपी खनाल र डीएसपी प्रजित केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । गृहन्त्रालयले एसएसपी लोहनी र एसपी खनालको कारवाही फुकुवा गरेपनि डिएसपी केसीबारे केही खुलाएको छैन । गृह सचिव राइले उनीहरुले दिएको निवेदनका आधारमा लोहनी र खनालको कारवाही फुकुवा गरेको हो ।

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणपछि पक्राउ परेका लोहनी तत्कालीन अवस्थामा अपराध अनुसन्धन महाशाखा र खनाल जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत रहेका थिए ।  तीनैजना प्रहरी अधिकारीले साधारण तारेखमा रिहा भएपछि निलम्बन फुकुवा गर्न प्रहरी प्रधान कार्यालयमा निवेदन दिएका थिए।

प्रहरी प्रधान कार्यालयको कानून शाखाले आवश्यक औपचारिक कारवाही पुरा गरेर निलम्बनको निर्णय गर्ने तालुकदार मन्त्रालयलाई पत्राचार गरेको थियो। सरकारले २० चैत २०७४ को मन्त्रिपरिषद्को निर्णयले गृहका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन गरेको अनुसन्धान टोलीले यी तीनै अधिकारीको घटनामा संलग्नता रहेको अभियोग सहित प्रतिवादी बनाएको थियो।

अनुसन्धानमा सनम शाक्य हत्याको अनुसन्धानका लागि अपराध महाशाखाको टोली कार्यक्षेत्र नाघेर मोरङ गएको, प्रमाण नष्ट गरेको र मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ लाई भगाउन सघाएको खुलेको थियो। तत्कालिन महाशाखा प्रमुख रहेका एसएसपी लोहनीले डिएसपी केसीको नेतृत्वमा टोली मोरङ पठाएका थिए।

Share on Social Media