/निर्मला हत्या प्रकरण: सुशासन समितिलाई गृहमन्त्रीले दिए यस्ताे जवाफ

निर्मला हत्या प्रकरण: सुशासन समितिलाई गृहमन्त्रीले दिए यस्ताे जवाफ

१० असोज – गृहमन्त्री रामबहादुर थापा बादलले पुँजीवादका कारण बलात्कारका घटना बढेको बताएका छन् ।बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै गृहमन्त्री थापाले पुँजीवादले महिलालाई नाफा कमाउने मालका रूपमा प्रयोग गर्ने गरेकाले बलात्कार बढ्नुमा पुँजीवादको हात रहेको तर्क गरे । पछिल्लो समय देशभरि बढिरहेका बालिका बलात्कार र हत्याका घटनाबारे छलफल गर्न समितिले गृहमन्त्रीलाई डाकेको थियो ।

‘बलात्कारको सामाजिक र आर्थिक कारण पनि हेर्नुपर्छ । सबैभन्दा धेरै बलात्कार अमेरिकामा हुन्छ । त्यो पुँजीवादले जन्माएको हो । पुँजीवादले नाफा कमाउने मालका रूपमा महिला प्रयोग गर्छ,’ गृहमन्त्री थापाले भने ।

थापाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा छिट्टै पक्राउ पर्ने दाबी पनि गरे । निर्मलाको हत्या भएको दुई महिनासम्म पनि घटनामा संलग्न पक्राउ परेका छैनन् ।

अर्को प्रसंगमा गृहमन्त्री थापाले इन्टरनेटमा अश्लील सामग्री रोक्नु जायज भएको बताए । गृह मन्त्रालयले केही दिनअघिमात्र पोर्न साइट बन्द गर्न निर्देशन दिएको थियो ।