/पिकेले जोगाए दश खेलाडीको बार्सिलोनालाई, रियललाई उछिन्यो

पिकेले जोगाए दश खेलाडीको बार्सिलोनालाई, रियललाई उछिन्यो

Share on Social Media

गिरार्ड पिकेले दश खेलाडीमा सीमित बार्सिलोनालाई लालिगा अन्तर्गत आइतबार राति भएको क्याटलान डर्बीमा अंक गुमाउनबाट जोगाएका छन्।

नेउ क्याम्पमा भएको खेलमा क्लेमिन्ट लाग्लेंटले ३५ औँ मिनेटमा रातो कार्ड पाएपछि दश खेलाडीमा सीमित रहेको बार्सिलोना गिरोनासँग २-२ को बराबरीमा रोकिएको हो।

१९ औँ मिनेटमा लियोनल मेस्सीले अर्टिुरा भिडालको पासमा बक्सको मध्यभागबाट गरेको प्रहारले जाली चुमेसँगै बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो।

तर, भिडियो एसिस्टेन्ट रेफ्रीको सहायतामा क्लेमिन्टले रातो कार्ड पाएपछि गिरोनाले त्यसको फाइदा उठाउँदै लगातार दुई गोल गर्‍यो।

पहिलो हाफको अन्तिम मिनेट र ५१ औँ मिनेटमा क्रिस्थियन स्टाउनीले दुई गोल गर्दै बार्सिलोनाविरुद्ध २-१ को अग्रता बनाए।

६३औँ मिनेटमा पिकेले हेडरमार्फत् गोल फर्काउँदै खेल बराबरीमा पुर्‍याउँदै अंक जोगाएका थिए।

जितसँगै बार्सिलोनाले रियल म्याड्रिडलाई उछिन्दै पुनः शीर्ष स्थान बनाएको छ।

दुबैको पाँच खेलबाट समान १३ अंक भएपनि गोलअन्तरका आधारमा बार्सिलोना शीर्ष र रियल दोस्रो स्थानमा छ।

शनिबारमात्रै रियलले बार्सिलोनालाई उछिन्दै शीर्ष स्थान बनाएको थियो।

Share on Social Media