फिफा वरियतामा नेपाल एक स्थान सुधार्न सफल भएको छ। विश्व वरियतामा गत महिना १ सय ६१ औं स्थानमा रहेको नेपाल १ सय ६० औं स्थानमा पुगेको हो।

साफ च्याम्पियनसिपमा राम्रो प्रदर्शन गरेकाले नेपाल एक स्थान सुधार गर्न सफल भएको हो। नेपाल दक्षिण एसियामा भने चौथौं स्थानमा छ।

फिफा वरियतामा ९७ औं स्थानको भारत दक्षिण एसियामा शीर्ष स्थानमा छ। १ सय ४६ औं स्थानको अफगानिस्तान दोस्रो स्थानमा छ भने १ सय ५१ औं स्थानको माल्दिभ्स तेस्रो स्थानमा छ।

यस्तै नेपालपछि क्रमशः १ सय ८८ औं वरियताको भुटान, १ सय ९३ औं वरियताको बंगलादेश, १ सय ९९ औं स्थानको श्रीलंका र समान वरियताको पाकिस्तान रहेको छ।

यसपटक फिफा वरियता क्रममा बेल्जियम र फ्रान्स संयुक्त रुपमा शीर्ष स्थानमा छन्। दुवैको १ हजार ७ सय २१ पोइन्ट छ। त्यसपछि दोस्रो स्थानमा ब्राजिल, तेस्रो स्थानमा क्रोएशिया तथा चौथौ स्थानमा उरुग्वे परेका छन्।