फाइल तस्बिर

फाइल तस्बिर
अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा सल्यानमा एकै घरका तीन बालबालिका बेपत्ता भएका छन्।

बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलाका बालाराम डाँगीको घर आइतबार बेलुकी पहिरोले पुर्दा उनका दुई छोरी एक छोरा पुरिएर बेपत्ता भएका हुन्।

डाँगीकी १० वर्षीया छोरी ललिता डाँगी, सात वर्षीय छोरा ललित डाँगी र चार वर्षीया छोरी मेनका डाँगी पहिरोमा पुरिएर बेपत्ता भएका प्रहरीले जनाएको छ।

बाबुआमा भैँसी दुहुन गएको र बालबालिका भान्साकोठामा खाना खाँदै गर्दा पहिरोले घर पुरेको वडाध्यक्ष दीपक वलीले जानकारी दिए।

घटनास्थल सदरमुकामदेखि ५० किमी टाढा पर्छ। अविरल वर्षाका कारण पहिरो खस्नेक्रम जारी रहेकाले उद्धार गर्न कठिनाइ भएको वडाध्यक्ष वलीले बताए। ‘पहिरो खस्नेक्रम अहिले पनि रोकिएको छैन’, वलीले भने।

पहिरोमा परी घाइते भएर बेहोस भएका बाबुआमा दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको छ।

घटनास्थलमा सञ्चार सुविधा नभएकाले थप विवरण बुझन नसकिएको बागचौर नगरपालिकाका प्रमुख लोकमान बुढाथोकीले जानकारी दिए।

घटनालगत्तै उद्धारका लागि सिमखोली प्रहरी चौकी र इलाका प्रहरी कार्यालय थारमारेबाट टोली हिँडेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

वर्षा नरोकिएको र पाँच घण्टा पैदल हिँड्नुपर्ने भएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए।