/गौराको रौनकमा झुम्दै काठमाडौंमा सुदुरपश्चिमेली

गौराको रौनकमा झुम्दै काठमाडौंमा सुदुरपश्चिमेली

Share on Social Media

सुदूर पश्चिमका पृथक र मौलिक चाडपर्वमध्ये ओल्के, पुसेपन्ध, भुवो, गौरापर्व प्रमुख मानिन्छन् । यीमध्ये गौरापर्व सबैभन्दा महत्वपूर्ण धार्मिक र सांस्कृतिक धरोहरका रूपमा लिइन्छ । गौरा पर्वको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बेग्लै प्रकारको छ । गौरा व्रतका सम्बन्धमा श्रीमद् देवीभागवत्को छैटौं स्कन्धको सयौं अध्यायमा भनिएको छ- हैहेयीवंशका राजाले भागर्ववंशी ब्राह्मणहरूलाई दिएको दान फिर्ता माग्दछन् ।

आफूहरूले पाएको दान फिर्ता नगरेपछि राजा कुद्घ भई ब्राह्मणहरूलाई मार्न थाल्छन् । यस्तो अत्याचारबाट प्राण बचाउन भनी ब्राह्मणपत्नीहरू हिमालयको कन्दरामा गई लुक्छन् । त्यहाँ देवी गौरीको आराधना गर्छन् । यसरी लामो समयसम्म उपवास बसी विश्वासका साथ विधि विधानपूर्वक गरिएको पूजाअर्चनाबाट देवी प्रसन्न भई तिनीहरूमध्येबाट एकजनाको जंघाबाट पैदा हुने शक्तिले अत्याचारी राजाको नास गर्नेछ । तिम्रा सन्तान सुखी भइरहने छन् भन्ने वरदान दिन्छन् । व्रतको प्रभावबाट केही समयपछि अत्याचारी र पापी राजाको नास भई ब्राह्मण पत्नीहरू सुख शान्तिपूर्वक बस्दछन् ।

यसै पौराणिक कथाबाट प्रभावित सुदूरपश्चिमेली विवाहित नारीहरू विधिपूर्वक उपवास बसी देवी गौरीको पूजा अर्चना गर्दछन् । यस व्रतको प्रभावले अटल सौभाग्य र सन्तानहरू सुखी, दीर्घायु हुन्छन् भन्ने विश्वास रहिआएको पाइन्छ । पार्वतीले यसै व्रतको प्रभावबाट महादेव पति पाएको उल्लेख गरिएको छ । देवकीका सातवटा सन्तानलाई कंशले मारेपछि यही व्रतको प्रभावबाट भगवान् श्रीकृष्णले देवकीको गर्भबाट जन्म लिनुपरेको कुरा पनि व्रतराजमा उल्लेख गरिएको छ ।

गौरा अर्थात् पार्वती (गौरी) लामो समय कठोर व्रत बसेपछि गौरीले शिवजीलाई पाएको मिथ जोडिएको गौरा पर्व मध्य र सुदूरपश्चिममा प्रचलित छ । तर पछिल्लो समय कामको शिलशिलामा देश तथा विदेशमा रहेका र राजधानीमा बसोबास गर्दै आएका सुदूर तथा मध्यपश्चिमका बासिन्दाका लागि गौरा सामूहिक भेटघाट र रमझम गर्ने उपयुक्त माध्यम बन्दै आएको छ । झन्डै एक दशकदेखि राजधानीको टुँडिखेलमा यो पर्वको रौनक जम्दै आइरहेको छ । धार्मिक हिसाबले पञ्चमीका दिनदेखि गौरापर्व सुरु हुने गर्छ। राजधानीमा भने कृष्णअष्टमीको दिन गौरापर्व मनाउने गरिन्छ ।

गौरामा अविवाहित युवतीले भगवान शिव जस्तै पति पाऊँ भन्ने कामनासहित व्रत बस्ने चलन छ । विवाहित महिलाहरू पतिको दीर्घायुको कामना गर्छन् । राजधानीमा यो पर्व दुई दिन मनाउने गरे पनि सुदूर तथा मध्यपश्चिममा एक सातासम्म मनाउने गरिन्छ। यो पर्वमा केटाकेटी, युवायुवती र बुढाबुढी सबैको सहभागिता रहन्छ । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान प्राप्ति र परिवारमा सुख शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा सुरु भएको छ । पौराणिककालमा भगवान् महेश्वर प्राप्तिका लागि गौरा देवी अर्थात् पार्वतीले निराहार व्रत बसी आराधना गरेकाले मनोकाङ्क्क्षा पूरा भई विवाहसमेत भएको सम्झानास्वरुप यो पर्व मनाउने गरिएको हो ।

भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमको आयोजना गरेर यो पर्व मनाउने गरिन्छ । गौरा विशुद्घ धार्मिक पर्वमात्र नभएर सामाजिक सद्भावसँग पनि जोडिएको छ । पञ्चमीदेखि अष्टमीसम्म गरिने कर्महरू धार्मिक अनुष्ठानसँग सम्बन्धित हुन्छन् । गौरा व्रतको अनुष्ठान पनि अष्टमीसम्म नै मानिन्छ । विभिन्न वीरवीरांगनाका गौरवगाथा, देवीदेवताका प्रार्थनामूलक गीतगाथा, रामायण कृष्णचरित्र र महाभारतमा आधारित आख्यानलाई मौलिकता दिई गौरा पर्वको वाचन गरिन्छन् ।

के हो विरुडा ?
सुदूरपश्चिमेलीको प्रमुख चाड गौरा पर्व भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात पाँच प्रकारको अन्न भिजाएर पर्वको थालनी गरेका हुन्छन् । महिलाले व्रत बसेर गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाएका छन् । यिनै पाँच अन्नको मिश्रणलाई ’बिरुडा’ भन्ने गरिन्छ । महिलाहरुले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ ।

सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पूजा–अर्चना गरि विवाहित महिलाहरुले दुबधागो चढाउने गर्छन । सुदूरपश्चिम र मध्यपश्चिमदेखि भारतको कुमाउंसम्म गौरा सुदूरपश्चिम र मध्यपश्चिमका केही जिल्ला तथा भारतको कुमाउंसम्ममा परापूर्वकालदेखि मनाउँदै आएको गौरा पर्वमा महिलाले निराहार व्रत बसी तामाका भाँडामा बिरुडा (मास, गहत, केराउ, गहुँ गुरुस) भिजाएर पर्व सुरु गरिन्छ । सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा डालोमा स्थापना गर्ने र दुबधागोसमेत चढाएर पूजा गरी घर भित्र्याउने चलन छ ।

गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौराखलो (गौरा मनाउने स्थान)मा फाग गाएर पूजाआजा गर्छन् । बिरुडा भिजाएपछि महिलाले सामूहिक रूपमा धान, साउँ, तिल, अपामार्गलगायतका वस्तुबाट गौराको मूर्ति बनाई गौराघरमा भित्र्याएर पूजा गरिने र विसर्जन नभएसम्म गौराघरमा पुरुष तथा महिला छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर मनोरञ्जन लिने गरिन्छ । गौरा पर्वले आपसी सद्भाव बढाउन मद्दत गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख सुख बाँड्नुका साथै माया प्रेमसमेत साट्ने गरिन्छ ।

मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउनुका साथै, सुखशान्ति हुने, देवी देवता इष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वासका साथ मनाइने यो पर्वले यतिबेला सुदूरपश्चिममा चहलपहल र रौनकसमेत बढाएको छ । नेपालीहरुको महान चाड बडादशैंभन्दा पनि सुदूरपश्चिमेलीले बढी महत्वका साथ मनाउने गौरा पर्वमा विदेशीएकाहरु पनि घर फर्किने र विवाहित चेली पनि माइत आउने गर्दछन् ।

गौरा पर्वको प्रमुख आकर्षण देउडा हो । देउडामा पौराणिक कथा देवीदेवताका गाथालाई गीतका रुपमा गाउनुका साथै सामाजिक विकृतिविरुद्ध पनि तिखो व्यङ्ग्य गरिन्छ । यसैगरी सामाजिक रीतिरिवाज सुख दुःख, महिलाका व्यथा पनि देउडाकै माध्यमबाट अभिव्यक्त गर्ने प्रचलन रहेको बैतडीका समाजसेवी करनराज अवस्थि बताउँछन् ।

Share on Social Media

>>थप समाचारका लागि अग्निज्वाला संवादाता >>स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता मार्फत बाहिर ल्याउने यस अनिज्वाला डट कमको उदेश्य हो ।