/मह र किरण केसीका छोराहरु ‘दाल भात तरकारी’ मा

मह र किरण केसीका छोराहरु ‘दाल भात तरकारी’ मा

Share on Social Media

नाम घोषणा भएदेखि नै चर्चामा आएको सिनेमा ‘दाल भात तरकारी’ का कलाकारहरुको नाम बुधबार सार्वजनिक भएको छ।

सार्वजनिक गरिएका नामहरुमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, राजाराम पौडेल, बसुन्धरा भुषाल,निरुता सिँह, प्रियङ्का कार्की, वर्षा राउतदेखि पुष्प खड्का लगायत छन्।

सबै गरी एक दर्जन बढी चर्चित कलाकारहरु यस सिनेमामा अनुबन्धित भएकाछन्। मल्टिस्टारले भरिपुर्ण यस सिनेमालाई दोस्रो पुस्ताले नेतृत्व गर्ने भएको छ।

मह सञ्चारको प्रस्तुति र किरण केसीको निर्माणमा बन्न लागेको यस सिनेमको निर्देशन सुदन केसीले गर्दैछन्। सुदन कलाकार किरण केसीका जेठा छोरा हुन्।

यस अघि लामो समय महसञ्चार र नेपाली सिनेमामा काम गरिसकेका सुदनले पहिलो पटक मल्टिस्टारहरुलाई ‘एक्सन कट’ गराउँदैछन्।

‘मेरो छोरो भएकाले मात्रै सुदनले यो सिनेमा निर्देशनको अवसर पाएको होइन’ किरणले सुदनका बारे भने, ‘उसले लामो समयदेखि नेपाली सिनेमा क्षेत्रमा काम गर्दै आएको छ।’

कलाकार आचार्यले भने, ‘महसञ्चारमा काम गरेको अनुभव, गत वर्षको हिट सिनेमा ‘शत्रु गते’ को मुख्य सहायक निर्देशक भएर काम गरेको अनुभवले गर्दा उनीमाथि विश्वास छ।’

सिनेमाका क्याप्टेनसिप नै किरणका छोरा सुदनले सम्हालेपछि महसञ्चारले आफ्नो प्रोजेक्टहरुमा आफ्ना सन्तानहरुको संलग्नता खोजेको बुझ्न कठिन छैन।

उसो त यस सिनेमामा हरिवंशका छोरा मोहितवंश आचार्य पनि एक महत्वपुर्ण भूमिकामा प्रस्तुत हुने भएका छन्।

अघिल्लो सिनेमा ‘शत्रु गते’ मा ‘डन’ को भूमिकामा प्रस्तुत भएका मोहित आफ्ना पिताको विभिन्न प्रोजेक्टमा निर्माता तथा कलाकारका रुपमा जोडिँदै आएका छन्।

कुपण्डोलमा क्याफे सञ्चालन गरेर बसेका मोहितले ‘महसञ्चार’ का विभिन्न टेलिसिरियल, टिभिसी तथा स्टेज कार्यक्रमहरुमा आफ्नो कला प्रदर्शन गरिसकेका छन्।

यता, मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठपनि यस सिनेमामा कलाकारका रुपमा प्रस्तुत हुँदैछन्। यमन आफैमा कुशल संगीतकार तथा गायक हुन् भने हास्यकलाकार पनि।

‘खासखुस’ हाँस्य सिरियलका लेखक तथा कलाकारसमेत रहेका यमनले पछिल्लो समय ‘छक्कापञ्जा-३’ मा स्क्रिप्ट समेत लेखेका छन्।

क्षमता र प्रतिभाका हिसावले दोस्रो पुस्ता सक्षम र सबल हुँदाहुँदैपनि उनीहरु आमदर्शकमाझ परिचित हुन भने सकेका छैनन्।

यसको कारण हो, आफ्ना पिताहरुको प्रभावशाली व्यक्तित्व र लोकप्रियता। आफ्ता पिताको लोकप्रियताले उनीहरुको क्षमता र प्रतिभा ओझेलमा पर्दै आएको छ।

मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी उमेरका कारण पाखा लाग्दैगर्दा छोराहरु सिनेमा निर्माण तथा निर्देशनमा देखा परेपछि कतै ‘महसञ्चार’ ले आफ्नो उत्तराधिकारी छोराहरुमा हस्तान्तरण गर्ने तयारीमा लागेको हो कि भन्ने अनुमान गर्न सहज भएको छ।

Share on Social Media

>>थप समाचारका लागि अग्निज्वाला संवादाता >>स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता मार्फत बाहिर ल्याउने यस अनिज्वाला डट कमको उदेश्य हो ।