/आर्थिक बर्ष २०७४/०७५ मा उछालियो व्यापार घाटा

आर्थिक बर्ष २०७४/०७५ मा उछालियो व्यापार घाटा

Share on Social Media

आयातमा उच्च वृद्धिसँगै नेपालको आर्थिक व्यापारघाटा बढ्दो

आयातमा उच्च बृद्धि तथा निर्यातमा कमीमा कारण नेपालको आर्थिक व्यापारघाटा बढेको छ । उत्पादनमूलक वस्तु प्रवद्र्धन गरी निर्यातमुखी अर्थतन्त्र अबलम्बन गर्न नसक्नु नेपालका लागि व्यापारघाटाको मूल कारण बनेको छ । तीव्र गतिमा बृद्धि भइरहेको आयात झैं निर्यातको व्यापार घाटा वर्षेनी कहाली लाग्दो अवस्थामा रहेको छ ।

आर्थिक बर्ष २०७४/०७५ मा व्यापार घाटा उछालिएर ११ खर्ब ६२ अर्ब १० करोड रुपैयाँ पुगेको छ । जुन आर्थिक बर्ष २०७३/०७४ को तुलनामा २७ दशमलव ५३ प्रतिशले बढि हो । नेपाली अर्थतन्त्रका लागि बढ्दो व्यापार घाटा सबैभन्दा ठूलो चुनौती बनेको छ । भन्सार विभागको तथ्यांकअनुसार पछिल्ला वर्षमा निर्यात भन्दा आयातको औसत बढ्दै गइरहेको देखिन्छ । स्वदेशमै आत्मनिर्भर हुने वस्तुमा समेत परनिर्भरता बढ्दै जानु र महँगो मूल्यपर्ने विलासी वस्तुको प्रयोग ह्वात्तै बढ्नु आयात उकासिनुको प्रमुख कारण रहेको भन्सार विभागले जनाएको छ । आर्थिक वर्ष २०७३/७४ मा व्यापारघाटा ९ खर्ब ११ अर्ब २६ करोड ६७ लाख ४ हजार रुपैयाँ रहेको थियो । यो वर्ष ब्यापार घाटा २ खर्ब ५१ अर्बले वृद्धि भएको विभागका महानिर्देशक तोयम रायाको निष्कर्ष छ ।

गत आर्थिक वर्षमा १२ खर्ब ४३ अर्ब २९ करोड २१ लाख १८ हजार रुपैयाँ वस्तु आयात भएको तथ्यांक भन्सार विभागसँग छ । यस अवधिमा ८१ अर्ब १९ करोड १६ लाख ५२ हजार रुपैयाँको मात्रै निर्यात भएको छ । जुन आर्थिक वर्ष २०७३/७४ को तुलनामा आयात २६ दशमलव ३१ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३/७४ मा ९ खर्ब ८४ अर्ब ३० करोड २९ लाख ४८ हजार रुपैया बराबरको सामाग्रीहरु आयात भएको महानिर्देशक राया बताउँछन् ।

विभागका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा धेरै १ खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँको इन्धन आयात भएको थियो । यस्तै, फलामजन्य सामाग्री १ खर्ब २५ अर्ब ८८ करोड रुपैयाँको, मेसिनरी सामान १ खर्ब २४ अर्ब ४४ करोड रुपैयाँको, सवारी साधन ८६ अर्ब ३० करोड रुपैयाँ बराबरको साथै विद्युतीय सामान ७८ अर्ब २८ करोड रुपैयाँको आयात भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा निर्यातमा पनि केही सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ११ दशमलव १७ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । निर्यातले खर्बको अंक छुन सकेको छैन । नेपाली वस्तुको निर्यात झिनो अंकमा मात्र छ । यसले अगामी वर्ष व्यापार घाटा झन् कहालीलाग्दो हुने निश्चित छ ।

यसरी हेर्दा भारतबाट ८ खर्ब १० अर्ब ९० करोड ४८ लाख ६१ हजार रुपैयाँको सामान आयात भएको छ भने नेपालबाट भारततर्फ ४६ अर्ब ६० करोड ४८ लाख ५६ हजार रुपैयाँको निर्यात हुँदै आएको छ । त्यस्तै चीनबाट १ खर्ब ५९ अर्ब ९८ करोड ३ लाख १६ हजार रुपैयाँको सामान आयात र नेपालबाट चीनतर्फ २ अर्ब ४३ करोड ७७ लाख ४४ हजार रुपैयाँको सामान निर्यात हुँदै आएको छ ।

Share on Social Media

>>थप समाचारका लागि अग्निज्वाला संवादाता >>स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता मार्फत बाहिर ल्याउने यस अनिज्वाला डट कमको उदेश्य हो ।