बीबीसी

अल कायदाका नेता ओसामा–बिन–लादेनको मृत्यु भएको सात वर्षपछि उनकी आमाले पहिलो पटक सार्वजनिक रुपमा कुराकानी गरेकी छिन् ।

आलिया गानेमले बेलायती पत्रिका ‘द गार्जियन’ लाई साउदी अरबको जेद्दास्थित आफ्नो पुर्ख्यौली घरमा अन्तर्वार्ता दिएकी छिन् ।

आलियाका अनुसार उनका छोरा बाल्यकालमा लजालु र ‘राम्रो बच्चा’ थिए तर विश्वविद्यालयमा ‘ब्रेनवाश’ गराएर जबर्जस्ती उनको विचार परिवर्तन गराइयो ।

परिवारका अनुसार सन् १९९९ मा अन्तिम पटक उनीहरुले बिन लादेनलाई अफगानिस्तानमा देखेका थिए । यो ९/११ को घटनाभन्दा दुई वर्ष अघिको कुरा हो ।

सुरुमा उनी सोभियत सेनासँग लड्नका लागि अफगानिस्तान पुगेका थिए तर सन् १९९९ सम्म उनको पहिचान संसारभरी संदिग्ध चरमपन्थीको रुपमा स्थापित भइसकेको थियो ।

के भन्छिन् आमा ?

आलियालाई ‘तपाईंको छोरो जिहादी बनेको थाहा पाएपछि कस्तो लाग्यो ?’ भन्ने प्रश्नको सोध्दा जवाफमा उनले भनिन्, ‘हामी निकै तनावमा थियौं । म यस्तो कुनै पनि हालतमा हुन दिन्थिनँ ।’

कलेजका बेला उनका छोरा ‘मुस्लिम ब्रदरहुड संगठन’ को सम्पर्कमा आएका थिए जुन त्यतिबेला एक प्रकारको पन्थ बनिसकेको आलियाले बताइन् ।

बिन लादेनको परिवार साउदी अरबको सबैभन्दा प्रभावशाली परिवारमध्येको एक हो । यो परिवारले निर्माणको कारोबारबाट सम्पत्ति जोडेको छ ।

बिन लादेनका पिता मोहम्मद बिन अवाद बिन लादेनले आलिया गानेमलाई ओसामा जन्मेको तीन वर्षपछि सम्बन्धविच्छेद गरेका थिए । अवाद बिन लादेनका ५० भन्दा बढि सन्तान छन् ।

९/११ पछि के भएको थियो ?

९/११ हमलापछि साउदी सरकारले लादेनको परिवारसँग सोधपुछ गरेर उनीहरुलाई कतै जान प्रतिबन्ध लगाएको आलियाले बताइन् ।

अल कायदाका पूर्व नेता सरकारी एजेन्ट नभई बहिष्कृत थिए भनी पुष्टि गर्नका लागि साउदी अरब प्रशासनले आफूलाई आलिया गानेमसँग कुराकानी गर्न अनुमती दिएको हुनसक्ने पत्रकार मार्टिन चुलोवले बताएका छन् ।

बिन लादेनका दुई भाइ हसन र अहमद पनि यो अन्तर्वार्तामा उपस्थित थिए । जब उनीहरुलाई ९/११ हमलामा ओसामाको भूमिकाबारे थाहा भयो तब उनीहरुलाई छाँगाबाट खसेको जस्तो महसुस भएको बताए ।

अहमदले याद गर्दै भने, ‘घरका हरेक सदस्यलाई लज्जाबोध भइरहेको थियो । हामी सबैलाई थाहा थियो हामीले यसको भयानक नतिजा भोग्नुपर्छ । त्यसकारण परिवारका सबै सदस्य जहाँ थिए, त्यहाँबाट साउदी फर्किएका थिए ।’

उनका अनुसार उनकी आमा ९/११ हमलाको १७ वर्ष पछि पनि ओसामा बिनको साटो उनका साथीहरुलाई जिम्मेवार छन् भन्ने लाग्छ ।