/जोशीलाई कांग्रेसको साथ थप महँगाे, अनुमोदन नगर्ने पक्षमा नेकपा

जोशीलाई कांग्रेसको साथ थप महँगाे, अनुमोदन नगर्ने पक्षमा नेकपा

Share on Social Media

दीपकराज जोशी

प्रधानन्यायाधीसको संसदीय सुनुवाई जारी रहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यसलाई सडकको एजेण्डा बनाएपछि सत्तारुढ नेकपा आक्रोसित बनेको छ। त्यसैले, प्रस्तावित प्रधानन्यायाधीस दीपकराज जोशीको सम्बन्धमा आजै अन्तिम निर्णयमा पुग्नुपर्ने निष्कर्षकामा संसदीय सुनुवाई समितिमा रहेका नेकपाका सदस्यहरु पुगेका छन्।

जोशीका सम्बन्धमा सोमबार नै अल्पमत बहुमतको प्रक्रियामा गएर भएपनि अन्तिम निर्णय गर्ने पक्षमा नेकपाका सांसदहरु थिए। तर, समितिमा कांग्रेसको नेतृत्व गरिरहेका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सहमतिमा निर्णय गरौँ र यस विषयमा पार्टीका शीर्ष नेताहरुसँग पनि छलफल गरौँ भनिएपछि आजका लागि सुनुवाई समितिको बैठक सारिएको थियो।

‘तर, हिजोदेखि सहमतिको सम्भावना टुङ्गिएजस्तो देखिएको छ’ सुनुवाई समितिमा रहेकी नेकपा सांसद अमृता थापामगरले नेपालखबरसँग भनिन्, ‘हामी सहमति खोज्ने, तर उहाँहरुले चाहिँ यो विषयलाई सडकमा लैजाने काम गर्नुभयो, त्यसैले सुनुवाई समितिमा रहेका हाम्रा साथीहरुमा अब यो विषय तन्काउन नहुने भन्ने मनोभाव पैदा भएको छ।’

नेकपाका सांसदहरुलाई आक्रोसित बनाउने विषय बनेको छ, नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको मंगलबारको अभिव्यक्ति, जसले हिजो कांग्रेसद्वारा आयोजित कोणसभामा प्रधानन्यायधीशबारेको छलफल संसदीय सुनुवाई समितिमा नभएर सत्तारुढ दलको पोलिटब्युरोमा भइरहेको आरोप लगाएका थिए। र, भनेका थिए, ‘प्रधानन्यायधीशमाथि किचलो अधिनायकवादको प्रमाण हो।

‘सुनुवाई समिति नेकपाको पोलिटब्यूरोले बनाएको होइन, त्यहाँ जस्तो संरचना छ, प्रतिनिधि सभाको संरचना अनुसार बनेको हो’ समितिका सदस्य सुमनराज प्याकुरेलले भने, ‘सबै छलफल पारदर्शी तरिकाले समितिमा भएको छ, तर कांग्रेसका जिम्मेवार नेताबाट नेकपाको पोलिटब्यूरोबाट निर्णय हुँदैछ भनियो, यो उहाँहरु सहमति खोज्न चाहनु हुँदो रहेनछ भन्ने कुराको प्रमाण हो।’

जति लम्ब्यायो, यही विषयलाई आधार बनाएर नेपाली कांग्रेसले नेकपालाई उति बदनाम गर्ने विश्लेषण नेकपाका सांसदहरुको देखिन्छ। ‘यो विषयलाई तन्काउने र अदालतको विषयलाई राजनीतिक मुद्दा बनाएर जाने कांग्रेसको योजना देखिन्छ’ नेकपाका एक नेताले भने, ‘त्यसैले, आजै प्रक्रियामा गएर टुङ्ग्याउने मनस्थितिमा पार्टीका सांसदहरु छन्।’

कांग्रेस सांसद कार्कीले ‘यस विषयमा शीर्ष नेताहरुसँग पनि छलफल गरौँ’ भनेका थिए। तर, पौडेलको अभिव्यक्तिपछि नेकपाका सांसदहरुले के निष्कर्षका निकालेका छन् भने, शीर्ष तहमा यस विषयमा कुनै छलफल भएको छैन। ‘भएको भए पौडेलबाट त्यस्तो अभिव्यक्ति आउन्नथ्यो होला’ सांसद थापाले भनिन्, ‘हामीलाई कुनै निर्देशन छैन, जे गर्छौँ,आफ्नो विवेक प्रयोगमार्फत् गर्छौँ।’

अर्का सांसद प्याकुरेलको भनाईबाट पनि के बुझिन्छ भने, नेकपा र नेपाली कांग्रेसका शीर्ष नेतृत्वबीच प्रस्तावित न्यायाधीस जोशीको सुनुवाईका सम्बन्धमा छलफल भएर कुनै निर्णय गरिएको छैन। ‘यति ज्वलन्त विषयमा शीर्ष नेताहरुबीच कुराकानी पक्कै कुरा नभएको छैन’ प्याकुरेलले भने, ‘तर, नेताहरुले हामीलाई यसो गर, उसो गर भनेर कुनै निर्देशन दिनु भएको छैन।’

सम्बन्धित खबर: जोशीलाई कांग्रेसको महँगाे ‘सदासयता’

प्याकुरेलका भनाईमा, पछिल्लो समय शीर्ष नेताहरुले पुरानै भनाई दोहोर्‍याएका छन्। ‘यो गर, उ गर भनेर शीर्ष नेताहरुले सुनुवाई समितिमा रहेका हामी सांसदहरुलाई केही भन्नु भएको छैन’ प्याकुरेलले सुनाए, ‘अराजक भएर प्रस्तुत नहुनुस् भन्नु भएको छ, तथ्य र तथ्याङ्कका आधारमा विवेक प्रयोग गरी निर्णय गर्नुस् भन्नु भएको छ। हामी त्यसै अनुसार निर्णय गर्छाैँ।’

यो सार्वजनिक भइसकेको विषय हो कि, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस जोशीको नाम अनुमोदन गर्ने पक्षमा छ भने सत्तारुढ नेकपा विपक्षमा। जोशीलाई प्रधानन्यायाधीस बन्नबाट रोक्न १५ सदस्यीय संसदीय सुनुवाई समितिको दुई तिहाई अर्थात् १० मत आवस्यक पर्छ, जुन नेकपासँग छैन। यसका लागि उसले अर्काे सत्तारुढ दल संघीय समाजवादी फोरमको सहयोग लिनुपर्छ।

तर, नेकपा जोशीको नाम अनुमोदन नहुने पक्षमा ढुक्क देखिन्छ। ‘यस विषयमा सत्तारुढ गठबन्धनभित्र एक मत बनिसकेको छ, जे निर्णय हुने हो, सुनुवाई समितिमा रहेका सत्तारुढ दलका सदस्यहरुको एक ठाउँमा उभिएर गर्नेछन्’ प्याकुरेलले भने, ‘त्यसैले, सुनुवाई समितिको तर्फबाट हुनुपर्ने निर्णय आजै हुन्छ। किनभने, यो प्रकरणलाई अब लम्ब्याउने पक्षमा हामी छैनौँ।’

जोशीलाई अनुमोदन नगर्ने हो भने संघीय फोरमका सांसद राजेन्द्र श्रेष्ठको मत सत्तारुढ दललाई आवस्यक पर्छ भने अनुमोदन नगर्ने हो भने कांग्रेसलाई जेष्ठ सदस्यको हैसियतमा सभापतित्व ग्रहण गरेका राजपाका लक्ष्मणलाल कर्णको साथ चाहिन्छ। तर, कर्णले मंगलबार आयोजित एउटा अन्तरक्रियामा ‘प्रक्रियाबाट गएर भएपनि बुधबार (आज, १५ साउन) को बैठकबाट यो विषयको टुङ्गो लगाउने’ बताइसकेका छन्।

प्रक्रियाबाट गएर टुङ्गो लगाउने भन्नुको मतलब निर्वाचन प्रक्रिया हो। नेकपाका सांसदहरुले दावी गरेझैँ यदि यस प्रकरणमा दुबै सत्तारुढ दल (नेकपा र संघीय फोरम) एक भए भने, सुनुवाई समितिको आजको बैठकले प्रधानन्यायाधीसमा प्रस्तावित जोशीको नाम अस्वीकृत गर्नेछ, निर्वाचन प्रक्रियामार्फत्।

Share on Social Media

>>थप समाचारका लागि अग्निज्वाला संवादाता >>स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता मार्फत बाहिर ल्याउने यस अनिज्वाला डट कमको उदेश्य हो ।