/आज ऐतिहासिक हलोक्रान्ति दिवस : भएन सम्मान पहिलोपटक हलो जोत्नेको

आज ऐतिहासिक हलोक्रान्ति दिवस : भएन सम्मान पहिलोपटक हलो जोत्नेको

छविलाल बगाले
आजभन्दा ६९ बर्षअघि वि.सं. २००६ साल साउन ११ गते लमजुङको दुराडाँडामा ब्राहम्णहरुले आफैले गोरु नारेर हलोको अनोक समाती हलो जोतेर गरेको “हलो क्रान्ति” सामाजिक जागरणको द्योतक बनेको छ । आज हामी जो कसैले सुन्दा कुनै कथा जस्तो लाग्ने घटना अब केवल इतिहासको पानामा मात्रै कैद हुन पुगेको छ । यथार्थमा हलोक्रान्ति जनताले निर्माण गरेको जनताको इतिहास हो ।

देशमा प्रजातन्त्रको उदय हुनुअघि २००६ साल साउन ११ गतेकै दिन लमजुङको सुन्दरबजार नगरपालिका–४ अर्चल्यानीको बाटेगरामा बाहुनहरुले सामुहिक रुपमा हलो जोतेका थिए । ब्राह्मणबाद तथा जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि पंण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारी, विष्णुप्रसाद अधिकारी, टपनिधि अधिकारी लगायत २७ जना बाहुनहरुले नेपालमै पहिलो पटक हलो जोतेर किर्तिमानी राखेका थिए । तर राज्यले न यि योद्धाहरुको सम्मान गर्न सके न उनिहरु यो धर्तिमै रहे ।

तर यिनै राष्ट्रिय ब्यक्तित्वहरुलाई राज्यले बिर्सिएको लमजुङको भनाई छ । ‘बाहुनले पनि हलो जोत्नुपर्छ भनेर राष्ट्रभरी नयाँ कुरा सिकाएको स्थान दुराडाँडा हो । तर राज्यले उनिहरुलाई बेवास्ता गरेको छ ।’ पंण्डित तोयानाथ अधिकारी स्मृति प्रतिष्ठानका सचिव दीपक पौडेल भन्छन्, ‘यो सरकारको दायित्व हो ।’

राज्यले केही नगरेपनि बाहुनहरुले पहिलोपटक हलो जोतेको स्मरणमा लमजुङको दुराडाँडाको अर्चल्यानीमा पंण्डित तोयानाथ अधिकारी स्मृति प्रतिष्ठानले हरेक बर्ष कार्यक्रम गर्दै आएको प्रतिष्ठानका सचिव पौडेल बताउँछन् । ‘हलोक्रान्तिलाई राष्ट्रिय दिवसको रुपमा मान्यता दिन र पहिलो पटक हलो जोत्नेलाई क्रान्तिकारीको सम्मान दिनुपर्दछ ।’ उनले भने, ‘राज्यले उनिहरुप्रति वेवास्ता गरेको छ ।’

दुराडाँडा लगायत आसपासका गाविससँगै सिंगो मुलुकभरी नै बाहुनले हलो जोतेको एक बर्षसम्म हल्ला–खल्ला मच्चियो । तत्कालिन सरकारले राणा शासनको विरोधमा हलो जोतेको अभियोगमा सामुहिक हलो जोत्नेहरुलाई २००७ साल साउन ११ गते पक्राउ गरी जेल हाल्यो । साथै हलो जोत्नेहरुको नजोत्ने बाहुनहरुले नै बिरोध गर्न थाले । उनीहरुलाई जिस्काउन त्यतीखेर “शेषकान्त लेप्टन, हरिभक्त तिघ्रे, तोयानाथ पण्डित हलो जोति बिग्रे, हलो जोत्ने हुन् मुख्य तीन जना अवदेखि खालान् पाथी बाह्र माना ।” भन्ने गीतै बनाएका थिए ।

२००६ सालमा पहिलोपटक दुराडाँडामा हलो जोतेपछि २००८ सालसम्ममा कास्की, तनहुँ, अर्घाखाँची, गोरखा, स्याङ्जा र धादिङमा पनि हलो जोत्ने अभियान नै शुरु गरियो । त्यसबेला हलो जोत्नेहरुलाई भात ठेगियो, माईत आएका छोरी घर जान पाएनन् । घर गएका बुहारी पनि माईत फर्किन पाएनन् भने उमेर पुगेका युवायुवतीहरुको विहेबारी नै रोकिएको स्थानियहरु बताउँछन् ।

अहिले हलोक्रान्तिको उद्गमस्थल लमजुङको दुराडाँडामा हलो जोत्ने र यसको अभियानमा लाग्नेहरु नभएको स्थानियको गुनासो छ । गाउँलेहरुले मुलुकमै बाहुनहरुले पहिलो पटक हलो जोतेर अभियान चलाए पनि राज्यले त्यसलाई केही गर्न नसकेको गुनासो गरेका छन् ।

‘हलोक्रान्तिले ४ मुरी धान उब्जाउने ब्राहम्ण परिवारलाई २ मुरी हलीलाई मुजुरी भर्नुपर्ने स्थितीको मात्र अन्त्य गरेन ।’ सचिव पौडेलले भने, ‘दलितहरुलाई समेत समकक्षमा राख्ने तथा हलीको पालो कुरेर बस्दा खेती लगाउने मौसम बित्ने अर्थात हली नपाउने अवस्थाको अन्त्य भएको थियो ।’

तर बाहुनले हलो जोतेको भनेर गरिएको विभेद ३ वर्ष पनि टिक्न सकेन बरु हलो जोत्न हुन्छ भन्ने भावनाको विकास भएको उनि बताउँछन् । सामाजिक परिवर्तनका लागि अभियान सुरु भएको दुराडाँडामा अहिलेसम्म यो समस्या उस्तै छ ।

राज्यले बिर्सिए पनि पंण्डित तोयानाथ अधिकारी स्मृति प्रतिष्ठानले हरेक बर्ष साउन ११ गते हलोक्रान्ति दिवस मनाउँदै आएको छ ।

>>थप समाचारका लागि अग्निज्वाला संवादाता >>स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता मार्फत बाहिर ल्याउने यस अनिज्वाला डट कमको उदेश्य हो ।