/जाजरकोट : बजेटको अभावमा पहिरो हटाउन समस्या

जाजरकोट : बजेटको अभावमा पहिरो हटाउन समस्या

Share on Social Media
फाइल फोटो 

जाजरकोट, ३२ असार । भिरालो जमीनमा जथाभावी सडक खन्दा जिल्ला सदरमुकाम र ग्रामीण भेगमा पहिरोको जोखिम बढेको छ ।

मापदण्डविपरीत जथाभावी सडक खन्नु, सडकमा नाली र ढल निकासको व्यवस्था नहुनु, भिरालो जमीनमा जथाभावी डोजर चलाउँदा पनि पहिरोको जोखिम बढेको हो । 

केही दिनअघि परेको झरीले जिल्लाका दर्जनभन्दा बढी सडक बन्द भइसकेका छन् । तर ती सडकमा गएको पहिरो सडक डिभिजनले नहटाएपछि भेरी नगरपालिका आफैँले पहिरो हटाउन थालेको छ । यद्यपि नगरसँग पर्याप्त बजेट नहुँदा समस्या देखिएको छ । 

छिन्चु जाजरकोट सडकको शान्तिचौतारास्थित खहरे खोलामा पटकपटक माथिबाट आएको पहिरोले बाटो अवरुद्ध हुन थालेको र सदरमुकामभित्रै दर्जनभन्दा बढी ठाउँमा सडकको तल–माथिबाट पहिरो गएपछि बाटो सञ्चालन गराउन नगरपालिकालाई निकै सकस परेको नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । 

छिन्चु–जाजरकोट सडकको खहरे खोलामा आएको पहिरोले छ घण्टा अवरुद्ध भएको सडक आइतबार बिहान नगरपालिकाले खुलाएको छ । नगरपालिकाले विपद् व्यवस्थापनमा चालू आवमा रु १३ लाख मात्र छुट्याएको थियो तर खर्च नै रु २० लाखभन्दा बढी भइसकेको छ । 

धेरै पहिरो गएर बाटो अवरुद्ध हुन थालेपछि नगरपालिका आफैँले इन्धन हाल्ने गरी मासिक रु दुई लाख ४० हजारमा जेसिभी (डोजर) भाडामा लिएको छ । “बर्खाका बेला ग्रामीण भेगमा नभए पनि सदरमुकाम आसपास र छिन्चु–जाजरकोट सडक सञ्चालन गराउन चाहन्छौँ तर बजेट अभावले समस्या परेको छ”, नगरप्रमुख चन्द्रप्रकाश घर्तीले भने, “ग्रामीण भेगका सहायक सडकमा गएको पहिरो हटाउने जिम्मा नगरको भएको तर ठूला सडकको पहिरो हटाउने जिम्मा सडक डिभिजनको भए पनि सबै काम नगरले नै गर्नुपरेको छ ।” 

छिन्चु जाजरकोट सडकमा पहिरो गए सफा गर्न रुकुमको चौरजहारीमा रहेको सडक डिभिजनलाई बारम्बार आग्रह गर्दा पनि नटेरेको नगरप्रमुख घर्तीको भनाइ छ । नगरभित्रका सडकमा गएको ठूलो पहिरो पन्छाउन, जाली भर्न र मेसिनरी पर्खाल लगाउन प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ । 

शनिबार राति खलङ्गाको शान्तिचौतारास्थित ट्राफिक प्रहरी कार्यालय नजिक माथिबाट आएको पहिरोले एक ट्र्याक्टर पुरेको छ । चालक भागेर ज्यान जोगाएका थिए । उक्त पहिरो पनि नगरपालिकाको भाडामा लिएको जेसिभीले सञ्चालन गराएको छ । 

त्यस्तै, शुक्रबार राति आएको पहिरोले नलगाड–८ मा २८ रोपनी खेतमा लगाएको धानबाली पुरिदिएको छ । पहिरोले छेप्का कैन, कालीमाटी लहाँ, खलंगा पाँचकाटिया, दशेरा सुयाडा, भुर स्याउली, जगतिपुर छिपे्रनालगायत दर्जन बढी सडक अवरुद्ध भएका छन् । तर, ती सकड खुलाउन सम्बन्धित निकायले पहल गरेका छैनन् । 

Share on Social Media

>>थप समाचारका लागि अग्निज्वाला संवादाता >>स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता मार्फत बाहिर ल्याउने यस अनिज्वाला डट कमको उदेश्य हो ।