राष्ट्रिय एकता र आत्मनिर्भरता बिना देश बलियो हुँदैनः डा. भीम रावल

उदयपुर । देशको राष्ट्रिय एकता कमजोर हुँदा नेपाल विदेशी शक्तिहरूको प्रयोगशाला बनेको दाबी गर्दै नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले अब त्यस्ता प्रयोगहरू रोक्न बामपन्थी एकता भएकाे बताएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी उदयपुरगढी गाउँपालिकाद्वारा आज आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै डा. रावलले २००७ सालदेखि विदेशी शक्ति र देशभित्रका प्रतिक्रियावादी समूहको मिलेमतोमा नेपालमाथि एकपछि अर्को प्रयोग भएको बताए । ‘अब नेपाली कम्युनिस्ट पार्टीले देशलाई प्रयोगशाला बन्न दिने छैन,’ उनले भने ।
नेपालमा जलविद्युत्, जडीबुटी, पर्यटन, उद्योगधन्दा र मेहनती जनशक्ति जस्ता अपार सम्भावना हुँदाहुँदै पनि राष्ट्रिय हितअनुसार ती स्रोतको उपयोग हुन नसकेको उल्लेख गर्दै उनले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण पार्टीको प्रमुख लक्ष्य भएको उनकाे भनाइ छ ।
उत्तरमा चीन र दक्षिणमा भारत रहेको भूराजनीतिक अवस्थालाई सन्तुलनमा राख्दै देशलाई समृद्ध बनाउनु अपरिहार्य रहेको उल्लेख गर्दै उनले प्राकृतिक स्रोत–साधनको राष्ट्रिय स्वामित्व र सदुपयोगमार्फत समृद्धिको आधार तयार गरिने बताए ।
डा. रावलले प्रत्येक नेपाली नागरिकले रोजगारी, उद्यम, शिक्षा, स्वास्थ्य तथा गाँस–बाँसको समान अधिकार पाउने गरी समाजवाद निर्माण गर्ने योजना पार्टीसँग रहेको दाबी गरे ।
उनले भदौ २३ र २४ गते सिंहदरबार, उच्च अदालत र संसद् भवन जलेर खरानी बनेको घटनालाई स्मरण गर्दै राज्यका केन्द्रीय संरचना र अर्बौंको राष्ट्रिय सम्पत्ति नष्ट भएको बताए । ‘अबका दिनमा देश फेरि खरानी हुन नदिने गरी राष्ट्रिय शक्ति मजबुत बनाइनेछ,’ उनले भने ।
उदयपुर जिल्ला कृषि, पशुपालन, पर्यटन र खनिज स्रोतको ठूलो सम्भावना बोकेको जिल्ला भएको उल्लेख गर्दै उनले ती सम्भावनाको उपयोग, सप्तकोशी, त्रियुगा र तावाको कटान नियन्त्रण तथा स्वास्थ्य, शिक्षा र रोजगारी क्षेत्रमा सुधार पार्टीको प्राथमिकतामा रहेको बताए ।
‘हाम्रो देश मातृभूमि हो, साझा घर हो,’ उनले भने, ‘देश बलियो भए मात्र नेपाली बलिया हुन्छन् । देश कमजोर हुँदा मधेसी, तामाङ, मगर, ब्राह्मण, क्षेत्री, राई—कोही पनि सुरक्षित हुँदैन । त्यसैले राष्ट्रिय एकता नै आजको मुख्य आवश्यकता हो ।’

