काठमाडौं । कलाकार तथा मोडेल विशाल खरेलसँगको इन्गेजमेन्टका कारण विवादमा घेरिएकी चर्चित कलाकार साम्राज्ञी शाहले आफ्नो सम्बन्धको बचाउ गरेकी छन्। दुई वर्षको बच्चाको बुवासँग इन्गेजमेन्ट गरेको भन्दै आलोचना खेपिरहेकी उनले सामाजिक सञ्जालमा एउटा पोष्ट गर्दै खरेलसँग इन्गेजमेन्ट गरेकोमा कुनै पछुतो नरहेको स्पष्ट पारेकी हुन्। ‘इन्गेजमेन्ट’ पछि आफूहरू कानुनी रूपमा बलियो बनेको जनाउँदै उनले इन्गेजमेन्ट गरेकोमा कुनै पछुतो नभएको बताइन्। विशालको विवाह नभएको दाबी गर्दै उनले प्रेमिकासँगको सम्बन्धबाट बच्चा जन्मिएको बताएकी छन्। उनले भनिन्, ‘अर्को कुरा, उनले मलाई स्पष्टै भनेका थिए कि उनको एक्स–गर्लफ्रेन्डसँगको एउटा छोरा छ। उनीहरूको कहिल्यै विवाह भएको थिएन।’ प्रेमिकासँगको सम्बन्धबाट बच्चा जन्मिएकाले उनीहरूको सम्बन्ध विच्छेद हुन आवश्यक नरहेको साम्राज्ञीको तर्क छ। उनले भनेकी छन्, ‘तपाईंहरू सधैं प्रमाणबिना नै सबैभन्दा नराम्रो कुरा मात्रै विश्वास गर्नुहुन्छ। भावनात्मक रूपमा कुरालाई अन्तै मोड्नु हुन्छ, जुन म बुझ्छु। तर तपाईंहरूले सार्वजनिक रूपमा पुर्याएको क्षति के? झुटमाथि झुट?’ आफू र आफ्नो ‘इन्गेजमेन्ट’ माथिको प्रहार बन्द गर्न आग्रह गर्दै साम्राज्ञीले अहिले पनि विशालले पूर्वप्रेमिकाबाट मानसिक रूपमा तनाव खेपिरहेको दाबी गरिन्।