पूर्व लडाकुकि छोरी भेनेजुएला राष्ट्रपति , उनी पनि अमेरिकी कदमकाे विपक्षमा

एजेन्सी । अमेरिकाले सैन्य हमला गरेर राषट्रपति निकाेलस मदुराेलाइ कब्जा गरेपछि भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेज कार्यवाहक राष्ट्रपति बनेकी छन्। राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकाले सैन्य कारबाहीमा पक्राउ गरेर न्यूयोर्क लगेपछि भेनेजुएलाको कार्यवाहक राष्ट्रपतिको जिम्मा डेल्सीले पाएको ‘वासिङ्टन पोस्ट’ ले जनाएको छ। राजधानी कराकसस्थित मदुरोको निवासबाटै उनीहरूलाई अमेरिकी विशेष सेनाले पक्राउ गरेको थियो। मदुरो पक्राउपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार स्थानीय समयअनुसार बिहान ११ बजे फ्लोरिडास्थित उनको निजी क्लब मार-ए-लागोमा पत्रकार सम्मेलन गरेका थिए। पत्रकार सम्मेलनमा ट्रम्प, विदेशमन्त्री मार्की रूबिओ, रक्षामन्त्री पिट हेगसेथ र अमेरिकी सेना प्रमुख ड्यान केन लगायतले अमेरिकाको उक्त अपरेसनको विवरण सार्वजनिक गरेका थिए। राष्ट्रपति डोनाल्ड ट्रम्पले सेनाको उक्त अपरेसनलाई अभुतपूर्व भनेका छन्। अमेरिकी सेना कराकस पुग्दा आफू मार-ए-लागोमा मन्त्री र सैन्य अधिकारीसहित बसेर त्यहाँको प्रत्यक्ष प्रसारण हेरिरहेको उनले बताएका छन्। रक्षामन्त्री पिट हेगसेथले मदुरोलाई देश छाडेर भाग्नका लागि धेरै अवसरहरू दिइएको तर उनले वास्ता नगर्दा अमेरिकाले पक्राउ गर्नुपरेको बताए। ‘उनका लागि धेरै अवसरहरू थिए। तर मदुरोले त्यसो गरेनन्। त्यसकारण राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार पक्राउ गर्यौं र यहाँ ल्यायौं,’ हेगसेथले पत्रकार सम्मेलनमा भने। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि मदुरो पक्राउ परेपछि उपराष्ट्रपति रोड्रिगेजलाई अन्तरिम नेताका रूपमा सपथ गराइएको दाबी गरेका थिए। रोड्रिगेजले शनिबारै भेनेजुएलाली जनतालाई सम्बोधन गर्दै अमेरिकी कारबाहीलाई ‘लज्जास्पद’ भन्दै आलोचना गरेकी छन्। उनले मदुरो नै भेनेजुएलाका एक मात्र वैधानिक राष्ट्रपति भएको दाबी गर्दै मदुरो र उनकी पत्नी तथा प्रथम महिला सिलिया फ्लोरेसको तत्काल रिहाइको माग गरेकी छन्। उनले अमेरिकी कदमलाई ‘अवैध अपहरण’ को संज्ञा पनि दिइन्। मदुरोकी निकट सहयोगी मानिने रोड्रिगेज पेसाले कानुनविद र कूटनीतिज्ञ हुन्। उनले कराकास, पेरिस र लन्डनमा अध्ययन गरेकी छन्। भेनेजुएलाको आर्थिक नीति पुनर्संरचनामा उनको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ र उनले व्यावसायिक समुदायसँग निकट सम्बन्ध बनाएकी छन्। सन् २०१८ मा उपराष्ट्रपति बन्नुअघि रोड्रिगेज सञ्चार तथा सूचना मन्त्री, परराष्ट्र मन्त्री र पेट्रोलियम मन्त्रीका रूपमा कार्यरत थिइन्। उनी सत्ताभित्रका कट्टर धारका नेताभन्दा अमेरिकासँग वार्ता गर्न इच्छुक र व्यावहारिक मानिँदै आएकी छन् । मानवअधिकार उल्लंघनको आरोपमा अमेरिका, क्यानडा र युरोपेली संघले उनीमाथि प्रतिबन्ध लगाएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार रोड्रिगेजले अमेरिकी विदेशमन्त्री मार्को रूबियोसँग फोनवार्ता गरेको पनि बताएका छन्। ‘उनले तपाईंलाई जे चाहिन्छ, हामी गर्नेछौं भनेकी छन्,’ ट्रम्पले भने, ‘उनी शिष्ट थिइन्, तर वास्तवमा उनको अर्को विकल्प थिएन।’ भेनेजुएलाको संविधान अनुसार, राष्ट्रपति अनुपस्थित भएको अवस्थामा ५६ वर्षीया रोड्रिगेजले ३० दिनभित्र निर्वाचन गराउनुपर्ने व्यवस्था छ। भेनेजुएलाका एक अधिकारीले शनिबारको हमलामा कम्तिमा ४० जनाको मृत्यु भएको प्रारम्भिक आकलन रहेको भनेर बताएको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले लेखेको छ। मारिनेहरू नागरिक र भेनेजुएली सेना रहेको पनि ती अधिकारीले बताएका छन्। अमेरिकी सेना तर्फ भने कुनै मानवीय क्षती नभएकाे ट्रम्पले बताएका छन् ।

