काठमाडौँ — अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (पाँचौं) को केन्द्रीय भेला २०८२ साल पुस ५ गते काठमाडौँको रातोपुलस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। भेलाले विद्यार्थी दिवसको अवसर पारेर २०८३ साल जेठ १ र २ गते युनियनको २३ औँ राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ।
भेलामा प्रमुख अतिथिका रूपमा नेकपा (माले) का संगठन तथा अनुशासन विभाग प्रमुख कमरेड कुमार बेलबासेले समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक अवस्था र युवा–विद्यार्थीहरूको भूमिकाबारे धारणा राख्नुभयो। उहाँले भन्नुभयो,
“देशको वर्तमान परिस्थितिमा सचेत, संगठित र वैचारिक रूपमा स्पष्ट विद्यार्थी आन्दोलन अपरिहार्य छ। राष्ट्र परिवर्तनको अग्रपंक्तिमा विद्यार्थीहरू उभिनु आवश्यक छ।”
त्यसैगरी नेकपा (माले) का पोलिटब्युरो सदस्य एवम् अनेरास्ववियु (पाँचौं) का इञ्चार्ज कामरेड महेन्द्र शाहले विद्यार्थी संगठनको ऐतिहासिक योगदान र भावी दायित्वबारे सम्बोधन गर्नुभयो। उहाँले भन्नुभयो,
“अनेरास्ववियु (पाँचौं) ले विगतदेखि नै जनपक्षीय आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको छ। अब संगठनलाई समयअनुकूल सुदृढ बनाउँदै विद्यार्थीका सवालमा निर्णायक हस्तक्षेप गर्नुपर्छ।”
केन्द्रीय भेलाले २३ औँ राष्ट्रिय सम्मेलनको तयारीका लागि २५ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। समितिको संयोजकको जिम्मेवारी नभराज पाण्डेलाई प्रदान गरिएको छ। जिम्मेवारी प्राप्तपछि संयोजक पाण्डेले भन्नुभयो,
“पार्टी नेतृत्व र विद्यार्थी साथीहरूले दिएको विश्वासलाई आत्मसात गर्दै राष्ट्रिय सम्मेलनलाई ऐतिहासिक, एकताबद्ध र सफल बनाउने प्रतिबद्धता व्यक्त गर्दछु।”
अनेरास्ववियु (पाँचौं) ले आगामी राष्ट्रिय सम्मेलनमार्फत संगठनात्मक सुदृढीकरण, वैचारिक स्पष्टता र राष्ट्रिय शैक्षिक तथा सामाजिक मुद्दामा सशक्त भूमिका निर्वाह गर्ने लक्ष्य लिएको जनाएको छ।