चार महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो, विदेशी मुद्रा सञ्चिति साढे ३० खर्ब पुग्यो

facebook sharing button
twitter sharing button

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाहमा उल्लेखनीय वृद्धि भएको छ । समीक्षा अवधिमा ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१.४ प्रतिशतले बढी हो ।

Advertisement

कात्तिक महिनामा मात्रै १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको कात्तिकमा यो रकम १ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ मात्र थियो । अमेरिकी डलरमा हेर्दा समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले बढेर ४ अर्ब ८८ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यो वृद्धि दर ८.२ प्रतिशत मात्र थियो ।

यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि बढेर ७ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ कायम भएको छ । गत वर्ष यो रकम ५ खर्ब ६९ अर्ब २९ करोड रुपैयाँ थियो ।

वैदेशिक रोजगारीमा वृद्धि

राष्ट्र बैंकका अनुसार कात्तिकसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ४५ हजार ९७३ जना पुगेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख २७ हजार ८३७ जना रहेको छ । गत वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिने १ लाख ४७ हजार ४७८ जना र पुनः स्वीकृति लिने ९४ हजार १०५ जना मात्र थिए । यसले वैदेशिक रोजगारीतर्फ नेपालीको आकर्षण बढ्दै गएको संकेत गर्छ ।

Advertisement

विदेशी मुद्रा सञ्चिति बलियो

राष्ट्र बैंकको तथ्यांकले विदेशी मुद्रा सञ्चिति पनि मजबुत बनेको देखाएको छ । कात्तिक मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले बढेर ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा यो रकम २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो ।

अमेरिकी डलरमा सञ्चिति १०.३ प्रतिशतले वृद्धि भई २१ अर्ब ५२ करोड डलर कायम भएको छ । गत असारमा यो १९ अर्ब ५० करोड डलर थियो । कुल सञ्चितिमध्ये राष्ट्र बैंकसँग २७ खर्ब २४ अर्ब ६६ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग ३ खर्ब ३० अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।

कात्तिकसम्मको सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत छ । चौथो महिनासम्मको आयातलाई आधार मान्दा यो सञ्चिति २०.८ महिनाको वस्तु आयात र १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ५०.० प्रतिशत, कुल आयातसँग १४४.९ प्रतिशत र विस्तृत मुद्राप्रदायसँग ३७.८ प्रतिशत पुगेको छ । गत असारमा यी अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत थिए ।